कारीदेवीको कथा : सम्पत्तिका लागि लड्दा बेपत्ता बनाइयो
पुरानो चोहर्वा (सिराहा): सिराहाको गोल बजार नगरपालिका–१० स्थित पुरानो चोहर्वा गाउँका कारीदेवी यादव १५ दिनदेखि बेपत्ता छिन् । जेठाजु रामदेव यादवले पक्की घरमा बस्न नदिएपछि उनी त्यहीँ नजिकै टालीको एउटा सानो झुपडीमा बस्थिन् ।
झुपडीको आधा भागमा गुजाराका लागि पालेका दर्जन बाख्रा पनि बाँध्ने गर्थिन् । साउन २५ गते राति करिब ८ बजे पानी परिरहेको थियो । गाउँमा बिजुली पनि थिएन,त्यही बेला उनी अचानक बेपत्ता भइन् ।
झरीको रातसँगै बेपत्ता भएकी उनको अवस्था १५ दिन बित्दा पनि पत्तो लागेको छैन । उनी कहाँ, कस्तो अस्थामा छिन् भन्ने प्रहरी र आफन्तलाई पनि अत्तोपत्तो छैन । यो घटनाले गाउँले त्रसित छन् । कोही पनि घटनाबारे खुलेर बोलिरहेका छैन, गाउँ पनि सुनसान देखिन्छ ।
बेपत्ता भएको तीन दिनपछि कारीका भतिजा लक्ष्मण यादवले इलाका प्रहरी कार्यालय गोल बजार खोजिबन गरिपाऊँ भनी हुलिया निवेदन दर्ता गराए । प्रहरीले दुई हप्ता बित्दा पनि चासो नदेखाउँदा स्थानीय आन्दोलित भएका थिए ।
उनीहरूले भदौ ५ गते कारीदेवीलाई बेपत्ता बनाउने अपराधी पक्राउ माग गर्दै सडकमा उत्रिए । प्रहरी विरुद्ध नाराबाजी गर्दै पूर्व–पश्चिम लोकमार्गमा टायर बाली प्रदर्शनसहित सडकमा चक्काजाम गरेका थिए । प्रहरीले घटनालाई गम्भीररुपमा नलिएको स्थानीयवासीको आरोप छ ।
त्यही दिन आक्रोशित स्थानीयहरूले कारीदेवीका जेठाजु रामदेव यादव र उनका छोरा लक्ष्मण यादवलाई प्रहरीलाई बुझाए । यी दुवैले कारीदेवीको बेपत्ता बनाएको स्थानीयको आरोप छ । लगत्तै भदौ ६ गते गोल बजार नगरपालिका–१ का यमकुमार यादवले रामदेव र लक्ष्मण विरुद्ध इप्रका गोलबजारमा अपहरण तथा शरीर बन्धक मुद्दामा किटानी जाहेरी दर्ता गराए ।
त्यही जाहेरपछि प्रहरीले पनि उनीहरूमाथि अदालतबाट सात दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । यमकुमार कारीदेवीको दिदीका छोरा हुन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलका अनुसार प्रहरीले बेपत्ता पारिएकी महिला अहिलेसम्म फेला पार्न सकेको छैन । ‘स्थानीयसँग घटनाबारे सोधखोज गरेका छौँ’, उनले भने, ‘अनुसन्धान प्रक्रिया जारी छ ।’ घटनापछि इप्रका गोलबजारका प्रहरी निरीक्षक भगीरथ रेग्मी बिदामा गएका छन् ।
कारीदेवी र रामदेवबिचको विवाद ?
५५ वर्षीया कारीदेवी यादव एकल महिला हुन् । उनका न पति छन् न त छोराछोरी नै । माइतमा पनि कोही पनि छैन । पैतृक सम्पत्तिबाट उनका र जेठाजु रामदेव नाममा दश–दश कट्ठा जग्गा आइसकेको छ ।
अंशबण्डा नहुँदा बाँकी जग्गा उनका ससुरा जुगेश्वर यादवकै नाममा छ । नजिकका कोही आफन्त नभएपछि कारीको पनि सम्पत्ति सबै रामदेव वा उनको छोराहरू पाउँथे तर जब कारीदेवीले ससुराको नाममा रहेको जग्गा बाँडफाँड गर्न माग गर्न थालेपछि कारी र रामदेवबिच विवाद सुरु भएको स्थानीयवासीको भनाइ छ ।
तीन वर्ष अगाडि संयुक्त घडेरी जग्गामा पक्की घर बनाउन लाग्दा कारीदेवीले आफ्नो जग्गा छुट्ट्याएर मात्रै घर बनाउन भनेपछि विवाद भएको थियो । कारीलाई रामदेव र लक्ष्मणले पटक पटक गालीगलौज र कुटपिट गरेपछि उनी बेग्लै बस्न थालेको स्थानीयले बताए । उनीहरूका अनुसार बेग्लै भएपछि कारीदेवीले बाख्रा पालेर गुजार चलाउँदै आएकी थिइन् ।
विभिन्न कित्ता मिलाएर १३ कट्ठा २ धुर जग्गा जुगेश्वरको नाममा छ । उक्त जग्गा अंश बाण्डा गर्न कारीदेवीले २०७४ भदौ ५ गते जिल्ला अदालत सिराहामा रामदेवलाई प्रतिवादी बनाई मुद्दा दर्ता गराएकी थिइन् ।
२०७५ जेठ २४ गते कारीदेवीको पक्षमा अदालतले फैसला सुनायो । मुद्दा फैसला भएको दुई महिना नबित्दै यस्तो घटना भएको छ । कारीदेवीले आफ्नो तर्फबाट मुद्दाका वारेस गोल बजार–९ का पुणित यादवलाई बनाएको थियो । पुणितले घटना भएको तीन दिनपछि आफूले जानकारी पाएको बताए ।
‘पुणितलाई कारीदेवीले नाति भनेर बोलाउँथिन्, जग्गाको मुद्दामा पुणितले नै सबै काम गर्दैथ्यो,’ लक्ष्मणकी पत्नी विभाग यादवले भनिन्,‘आफ्नै घर मान्छे भएर पनि कस्तो नाताले नाति भएको थाहा छैन ।’ आफ्ना ससुरा रामदेव र पति लक्ष्मणलाई फसाउन खोजेको उनको भनाइ छ ।