मनमोहनमा मुटुको दुर्लभ शल्यक्रिया
काठमाडौं : चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु बाहिरको नसा च्यापिएकी महिलाको सफल शल्यक्रिया गरिएको छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको चिकित्सक टोलीले रामेछापकी प्रमिला अर्यालको मुटुको नसाको बिहीबार सफल शल्यक्रिया गरेको हो।
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठका अनुसार ३७ साताकी गर्भवती अर्यालको साढे सात घन्टा लगाएर शल्यक्रिया गरिएको हो।
बिहान साढे दश बजेदेखि सुरु गरिएको शल्यक्रिया साँझ पाँच बजे सकिएको थियो। अहिले आमा र शिशु दुवैको स्वास्थ्य सामान्य छ। छाति दुखेर उपचार गराउन आएकी अर्यालको मुटुबाहिरको नसा च्यापिएको थियो।
‘समयमै शल्यक्रिया नगरेको भए ज्यान जाने खतरा थियो’, निर्देशक श्रेष्ठले भने। सेन्टर स्थापनाको नौ वर्षे अवधिमा यस्तो जटिल शल्यक्रिया गरिएको पहिलो हो।