पेरुका कप्तान फेरि प्रतिबन्धित
जुरिच : पेरुको राष्ट्रिय टोलीका कप्तान पाउलो गुइरेरो अन्तर्राष्ट्रिय फुटबलबाट फेरि प्रतिबन्धमा परेका छन्। प्रतिबन्धित पदार्थ कोकिन सेवन गरेको पुष्टि भएपछि पछिल्लो समय उनी निकै समस्यामा पर्दै आइरहेका छन्।
पाउलोले गत महिना रुसमा सम्पन्न फिफा विश्वकपअघि प्रतिबन्धित लागुऔषध प्रयोग गर्ने गरेको पुष्टि भएको थियो। यद्यपि उनलाई स्विट्जरल्यान्डको सर्वाेच्च अदालतले पेरुले लामो समयपछि विश्वकपमा सहभागिता जनाउन लागेको र त्यसमा आफ्नो करिअरकै सबैभन्दा ठूलो उपलब्धि हात पार्ने अवसरबाट बञ्चित गर्न नहुने तर्कसहित पाउलोलाई विश्वकप खेल्न प्रतिबन्ध मुक्त गरेको थियो।
तर, विश्वकप सकिएको महिना दिन पनि नबित्दै स्विट्जरल्यान्ड्कै एक संघीय अदालतले पाउलोलाई फेरि प्रतिबन्धित गरेको छ। स्विट्जरल्यान्डको संघीय अदालतले रुस विश्वकप खेल्न पाउने गरी हटाइएको पाउलो माथि लागेको प्रतिबन्ध फेरि निरन्तर रहने निर्णय सुनाएको हो। यससँगै ३४ वर्षीय फुटबलर पाउलोले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउने छैनन्।
पाउलो हालै एक ब्राजिलियन क्लबसँग अनुबन्धित भएका छन्। उनलाई पछिल्लो निर्णयसँगै ब्राजिलमा आफ्नो क्लबबाट फुटबल खेल्नसमेत रोक लागेको छ। ‘पाउलोमाथि लागेको पछिल्लो प्रतिबन्धको निर्णयबारे हामीले जानकारी पाएका छौं’, फिफाले भनेको छ, ‘यद्यपि यस विषयमा अहिले हाम्रो कुनै निर्णय बनिसकेको छैन।’ संघीय अदालतले यो विषयमा आफ्नो अन्तिम निर्णय सुनाउन बाँकी नै रहे पनि पाउलोमाथिको प्रतिबन्ध हट्ने सम्भावना अझै कम देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
पाउलोले विश्वकप छनोटअन्तर्गत गत अक्टोबरमा अर्जेन्टिनाविरुद्ध भएको खेलको क्रममा प्रतिबन्धित लागुऔषध कोकिन प्रयोग गरेको पुष्टि भएको थियो। उनका कानुनी सहयोगीले भने परीक्षणका क्रममा कोकिनको केही परिमाण पाउनु डोपिङ गरेको नहुने भन्दै पाउलोले खेल्न पाउनुपर्ने तर्क गरेका छन्। उनले दुर्घटनावश कोकिन मिसिएको चिया खाँदा पाउलोको शरीरमा त्यसका अंश पाइएको बताएका छन्।
पाउलोलाई फिफाले पहिलो पटक एक वर्षका लागि प्रतिबन्ध लगाएको थियो। त्यसपछि प्रतिबन्धको अवधि ६ महिनामा घटाएको थियो। फिफाको निर्णयविरुद्ध आफूमाथिको प्रतिबन्धको निर्णय पूरै हट्नुपर्ने मागसहित पाउलोले कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर््स (सीएएस) मा उजुरी गरेका थिए। यद्यपि सीएएसले उनको प्रतिबन्धको अवधि बढाएर १४ महिना पु¥याइदियो।
सीएएसको निर्णयको बाबजुद स्विट्जरल्यान्डको सर्वाेच्च अदालतले पेरुले ३६ वर्षपछि पहिलो पटक विश्वकप खेलिरहेको अवस्थामा पाउलोलाई त्यो अवसरबाट बञ्चित गर्न नहुने तर्क गर्दै खेल्न दिने निर्णय गरेको थियो। सोही निर्णय स्थगित गर्दै स्विट्जरल्यान्डकै संघीय अदालतले फेरि उनलाई अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगाउनुपर्ने निर्णय गरेको छ।