पाटन कृष्णमन्दिरको पुनर्निर्माण सम्पन्न
ललितपर : कुनै मठमन्दिर निर्माण गर्नुभन्दा पहिले र निर्माण सम्पन्न भइसकेपछि क्षमापुजा गर्ने चलन हुन्छ। सोही परम्परालाई आत्मसात गर्दै पाटन दरबार स्क्वायर परिसरमा रहेको ‘कृष्ण मन्दिर’ निर्माण सम्पन्न भएपछि क्षमापुजा गरिएको छ। भूकम्पले साढे तीन वर्षअघि क्षति पुर्याएको उक्त मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले शुक्रबार मन्दिरको उद्घाटन गरे।
दरबार हेरचाह तथा सम्पदा संरक्षण विभागका प्रमुख काजी प्याकुरेलले भुकम्पले मन्दिरको दोस्रो तलादेखि नराम्ररी क्षति पुर्याएको बताए। उनले भने, ‘यो मन्दिरको काम प्राविधिक रूपमा कठिन खालको थियो।’ मन्दिर बनाउँदा विधि पुर्याएर काम गर्नुपर्ने र ढुंगाले बनाउनुपर्ने भएकाले निकै गाह्रो भएको भनाइ उनको छ। कृष्णमन्दिर निर्माणको जिम्मा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट र पुरातत्व विभागले लिएको थियो।
ट्रस्टका कन्ट्री डाइरेक्टर रोहित रञ्जितकारले कृष्ण जन्माष्टमीलाई मध्यनजर गर्दै मन्दिरको उद्घाटन गरिएको बताए। उनले भने, ‘भुकम्पीय क्षतिका कारण तीन वर्षदेखि भतmजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो।’ मन्दिर पुननिर्माणका लागि ५७ लाख रुपैयाँ खर्च भएको थियो। मन्त्री अधिकारीले मन्दिरको कार्यसम्पादनले राम्रो सन्देश दिएको बताए। उनले भने, ‘पाटनबाट सम्पदा निर्माणमा राम्रो कामको सुरुआत भएको छ।’ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर सम्पदा निर्माणको काममा अरूभन्दा अगाडि भएको दाबी गरे।