पढाउनु हुन्न, भो !

पढाउनु हुन्न, भो !

म उभिइरहेकै कक्षामा मैले गरेको हल्ला र चकचक, शिक्षकहरूलाई दिएको दु : ख अनि उपध्रो आँखैअघि आयो। त्यही बेला मैले थाहा पाएँ, शिक्षक हुने खुबी ममा छैन।


‘मृगकेशर !’

शीतल खोज्दै मार्बलको भुइँमा लम्पसार परेको बिरालोले निद्रालु आवाजमा म्याउँ गर्‍यो। अरू कोही बोलेन।

‘मृगकेशर !’

म अलि ठूलो स्वरमा कराएँ।

फेरि पनि उत्तर नआएपछि मैले कापीको पानामा उसको नामको छेउमा रातो कलमले एक्स चिह्न बनाएँ। त्यसपछि बाँकी विद्यार्थीको नाम फटाफट लिएँ, अनि त्यस दिनको पाठतर्फ लागेँ।

मैले पढाउने विद्यालय थियो, आन्ध्र प्रदेशको हैदराबादमा हामी बस्ने घरको बाहिरको ठूलो कोठा। कालोपाटी त्यही कोठाको चिल्लो काठको ढोका, जुन धेरै साँझहरूमा मैले दिउँसो कक्षामा सिकेकी गणितका सूत्र र संस्कृतका हिज्जेले भरिएको हुन्थ्यो। मेरा जीवित विद्यार्थी दुइटा थिए, एउटा बाघजस्तै टाटेपांग्रे बिरालो किट्टी र अर्को नाकमा कालो थोप्लो भएको उसकै साथी मिल्की। बाहिर सातवटा सूर्य टल्केका बेला ती आफैं कोठाको फ्यानमुनि ढल्किन आइपुग्थे, नत्र तिनलाई कक्षामा ल्याउन मुस्किल पथ्र्यो। मेरा अरू दुई विशेष विद्यार्थी पनि थिए, नाक बंग्याएर हाँसिरहेको लाम्पुच्छ्रे खेलौना बाँदर चिम्पु र बुवाआमाले सहर गईकन जन्मदिनमा उपहार दिनुभएको टेडी बियर।

घर फर्किएपछि पढाउन मन लागेको दिन म यी दुई निर्जीव विद्यार्थीलाई मेरो अगाडि थचार्थें। त्यसपछि पालैसँग मेरा छब्बीसजना विद्यार्थीको हाजिरी लिन्थेँ। ‘ए’देखि ‘जेड’सम्मका अक्षरबाट सुरु हुने नाम थियो, मेरा विद्यार्थीहरूको। अरूको त नाम के के थियो मैले बिर्सें, तीनजना विद्यार्थी भने अहिले पनि घरमा प्रख्यात छन्— एमबाट मृगकेशर, क्युबाट क्वाजियर र जेडबाट जिमजिमान। यिनै काल्पनिक विद्यार्थीको म हाजिरी लिन्थेँ, मनलाग्दी गयल बनाइदिन्थेँ र त्यसपछि कक्षाको मनिटरसँग मागेर ल्याएको चकले ढोकामा कोरी कोरी आधा घन्टाजति सिकेका कुरा भट्याउँथे। विद्यावारिधिका लागि शोध गर्दै गर्नुभएको बुवाआमा बेलाबेला ढड्डु किताबबाट आँखा हटाएर शिक्षक छोरी हेर्दै मुसुमुसु हाँस्नुहुन्थ्यो। उहाँहरूलाई मेरो कक्षा मन परेको ठानेर म लट्ठी उज्याई उज्याई विद्यार्थी तर्साउन थाल्थेँ।

म जुन कक्षामा पढ्थेँ, उति नै कक्षालाई पढाउँथेँ। दिउँसो मानव शरीरका अंग बनाउन सिकेको भए बेलुकी किताब हेर्दै चित्र बनाउँथेँ, अनि कक्षालाई थर्काउँथेँ, ‘देख्यौ त, कसरी बनाउने हो ? ल सबैजना आआफ्नो कापीमा बनाऊ !’ बेलाबेला बिराला उठेर आङ तन्काउनेबाहेक मेरो कक्षामा कुनै अन्तरक्रिया हुँदैनथ्यो। तर पनि म आफ्नै सुरमा बोलिरहन्थेँ, ‘हामीले खाना खाएपछि यो नलीबाट बिस्तारै भुँडीमा जान्छ, अनि हाम्रो पाचन प्रक्रिया सुरु हुन्छ...।’

मलाई शिक्षणबाहेक अर्को पेसाको त्यति ज्ञान थिएन। शिक्षण भने स्वाभाविक लाग्थ्यो, हजुरबुवा आमाबाट सुरु भएर घर र मावलतिर प्राविदेखि विद्यावारिधिसम्मका शिक्षकै शिक्षक। म सातआठ वर्ष हुँदा एकपटक फोनमा कसैले सोध्नुभयो, ‘आमा अफिस जानुभयो ? ’

‘होइन’, मैले सच्याएँ, ‘क्याम्पस जानुभएको छ।’ मैले माग्दा आमाले कहिलेकाहीँ ल्याइदिनुहुने चकले कोर्न खुब मन पथ्र्यो, बुवाको बुट्टे खोलसहितको डस्टर ओल्टाइपल्टाइ गरेर शिक्षक भएको अभिनय गर्न पनि उस्तै रमाइलो लाग्थ्यो। बेलुका बसेर आमाले भोलिको पाठ तयार गर्नु, सेतो कपडामा बेरिएर लाहाछाप लागेर आउने उत्तरपुस्तिकाका पोका कोठाको कुनामा लुकाएर राख्नु, बाटामा हिँड्दा बारम्बार ‘नमस्ते म्याम’ र ‘सर’ सुनिरहनु, मैले आफ्नो भविष्य पनि यस्तै कल्पना गर्थें।

फेरि मेरा अदृश्य विद्यार्थीहरूलाई पढाउन थालेपछि मैले पत्तो पाएकी थिएँ, अरूलाई सिकाउँदा आफूलाई पाठ राम्ररी याद हुँदो रहेछ, चित्र सफा बन्दै जाँदा रहेछन् र कक्षाकोठाको अघिल्तिर उभिँदा घुँडा काम्न अलिक कम हुँदो रहेछ। अनि त झन् कस्सिएर मेरो घरेलु विद्यालय चलाउन लागेँ।

यसैबीच अरू पेसातिर पनि मन बहकियो, गुप्तचर, पत्रकार, लेखक, चित्रकार, वेटर, सरकारी कर्मचारी, विज्ञापनकर्मी र अभिनेता। तर, शिक्षक बन्ने लालसा भने घटेको थिएन। त्यो सपना पूरा गर्न मैले प्लस टु सक्नेबित्तिकै फेरि शिक्षा विषय लिएर ताहाचल क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह पढ्न लागेँ। क्याम्पसमा पहिलो स्थान पाएपछि दंग परेँ, क्या गजबको शिक्षक भइएछ ! अभ्यास शिक्षणमा जानुपर्ने दिन, उस्तै मक्ख पर्दै आमासँग सारी बेरी मागेर विद्यालय पुगेँ। सिद्धान्त घोकेकै थिएँ, पाठ योजना उत्तिकै राम्रो थियो, अनि मनले कल्पिरहेको थियो, अब म सबै केटाकेटीको सबैभन्दा मन पर्ने मिस हुन्छु, चलचित्रमा देखाउनेजस्तै मसँग झुम्मिन आउँछन् होला, मैले छोड्न लाग्दा त सबै रुन्छन् होला है ! क्या दामी मिस म !

तर त्यो एक महिना बिताउन मलाई साह्रै कठिन भयो। अनुभव केही छैन, पाठ सोचेजस्तो अघि बढ्दैन, विद्यार्थी हल्ला गरेरै घन्टी लगाऊँ भन्छन्। खेल खेलाउन खोजे सबै खितिति हाँस्थे, सकेसम्म डेस्कडेस्क उफ्रेर र खाजा खाएरै पैंतालीस मिनेट कटाउँथे। त्यसमाथि आफ्नो नम्बर त्यही कक्षा हेरेर आउने। मैले विद्यार्थीहरूलाई अनुनय विनय नै गर्नु पर्‍यो, ‘लौ न, यो हप्ता मेरो सर आउनुहुन्छ, मलाई फेल नबनाइदेओ !’ अचम्म सँगले केटाकेटीले यो बिलौना सुने, दुईचार दिन ज्ञानी भए, अझ परीक्षक आएको दिन त प्रश्नका उत्तरहरू फ्याटफ्याटी दिए। कक्षामा हामी मात्र बाँकी रहेपछि एउटाले सोध्यो, ‘मिस, अब त पास हुनुभो नि ? ’ मैले हाँसेर मुन्टो हल्लाउनासाथ फेरि सबै उही उपध्रोमा लागेँ।

यस्तो दु:खदायी महिनापछि मेरो शिक्षक हुने चाहना मर्नुपर्ने हो। तर, ब्यूँताउनलाई मेरा साथीहरू वरपर थिए। परीक्षा नजिकनजिक आउनेबित्तिकै भन्थे, ‘हामीलाई तिमी पढाऊ त, तिमीले भनेपछि मात्र कुरा बुझिन्छ !’ म पनि हौसिँदै साथीहरूको भेलामा जान्थेँ, हामी साँधेको चाउचाउको फाँको मार्दै पुराना प्रश्नपत्र हल गथ्र्यौं। म उत्तरहरू भन्थेँ र पाठहरूको वर्णन गर्थें, उनीहरू त्यही टिप्थे र घोक्थे। त्यति बेला मलाई आफू बडो शक्तिशाली लाग्थ्यो। बाहिरी किताबहरूमा पढेका कुराहरूको उदाहरण दिन पाउँदा रमाइलो लाग्थ्यो। परीक्षाको दिन बिहान पनि म साथीहरूलाई रिकुटेको चरित्र चित्रण वा पत्रकारिताका सिद्धान्तहरू बुझाउँदै लान्थे।

‘तिमीले पढाएर मात्र उत्तीर्ण भएको’ भनेर साथीहरूले कसम खाँदा फेरि मेरो शिक्षणमोह जागृत हुन्थ्यो। मलाई लाग्थ्यो, मैले कक्षाकोठामा राम्रो प्रस्तुति गर्न नसकेकी मेरो स्वरले गर्दा हो। यति मसिनो स्वर छ कि एउटा तालिमकी सहजकर्ता मलाई देखाउँदै हाँसेकी थिइन्, ‘तिम्रो स्वर सुन्दा त अहिले नै आँसु झर्ला जस्तो छ, कस्तो सानो !’ म चिन्ताग्रस्त थिएँ, प्रकृतिले सानो स्वर दिएर मलाई शिक्षक हुनबाट वञ्चित गरिन्। साथीलाई पीर सुनाउँदा उसले सम्झाई, ‘सञ्जीव सरको पनि स्वर सानो छ नि !’ हो त नि, मैले आफैंलाई सान्त्वना दिएँ। हामी पनि त सञ्जीव उप्रेती सरले भन्नुभएको कुरा नछुटोस् भनेर घम्साघम्सी गर्दै पहिलो बेन्चमा गएर बस्थ्यौं। आमाले अझ हौसला थप्नुभयो, ‘स्वरले केही हुन्न, तिमीलाई त्यस्तो लाग्छ भने म एउटा पिन माइक किनिदिऊँला।’

त्यतिखेरसम्म मैले स्नातकोत्तर सकिसकेकी थिएँ। धेरैजसो साथीहरू पढाउन जान्थे, आफूलाई चाहिँ डाह लाग्थ्यो। कस्तो आत्मविश्वासी भएर कक्षालाई काबुमा राख्दै पढाउन सकेका होलान् ? अब त मैले पनि सिक्नैपर्छ ! सिक्न पाउने अवसर आइपुग्यो, म पढेकै प्लस टुमा कक्षा लिन संयोजकले बोलाउनुभयो। उडीउडी कक्षामा पुगेँ। लगभग बिर्सिसकेको एउटा निबन्ध पढाउनुपर्ने थियो। सुरु त गरेँ, तर एकछिनमै अकमकिएँ। यी विद्यार्थी कति ठूला, यिनीहरूलाई तह कसरी लगाउने हो ? खोइ, पढ्न मन गरेजस्तो पनि छैनन्। त्यो पछाडिका बेन्चका केटीहरूले के खाँदै छन् ? यो अगाडिको केटा त मोबाइल चलाउँदै छ जस्तो पो देख्छु। कसैले किताब पनि खोलेका छैनन् त ?

मनमा यस्ता कुरा खेलेपछि मुखमा शब्द कसरी मिलेर आऊन् ? डर पो लाग्यो। छिटोछिटो बोल्न थालेँ म। अब विद्यार्थीहरूले फिटिक्कै ध्यान दिन छाडे। आफूआफू गफ गर्न थाले। भुनुनु आवाज साह्रै ठूलो भएपछि म आत्तिएँ, ‘हल्ला नगर न !’ अलिकति बल पर्नेबित्तिकै मेरो सानो स्वर चिरियो।

दोस्रो बेन्चमा बस्ने केटाले कापीमा बनाइरहेको चित्रबाट टाउको उठाउँदै भन्यो, ‘नरुनु न, म्याम !’

धेरैअघि तालिमकी सहजकर्ताले गरेकी टिप्पणी झलझली याद आयो। र, म उभिइरहेकै कक्षामा मैले गरेको हल्ला र चकचक, शिक्षकहरूलाई दिएको दु : ख अनि उपध्रो पनि आँखैअघि आयो। त्यही बेला नै मैले थाहा पाएँ, शिक्षक हुने खुबी ममा छैन। अब यो सपनालाई तन्काएर अघि बढाउनु जरुरी छैन।

जसोतसो कक्षा सिध्याएँ। न संयोजकहरूले बोलाउनुभयो, न मैले खोजी गरेँ। उति दु : ख पनि लागेन। मन बुझाएँ, मेरा क्वाजियर र जिम जिमानजस्ता ज्ञानी विद्यार्थी नपाएसम्म पढाउनु हुन्न, भो !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.