जोखिम झेल्दैन मध्यमवर्ग
समाजमा हुने आर्थिक फेरबदलले वर्गसम्बन्धमा पनि अदलीबदली ल्याउँछ। सामाजिक संरचनामै हेरफेर ल्याउन श्रमिकवर्गको भूमिका जसरी निर्णायक बन्छ, सामान्य अवस्थामा हुने आर्थिक विकासमा मध्यमवर्गको योगदान उल्लेख्य मानिन्छ। मध्यमवर्ग नेपाली जनसंख्याको प्रभावशाली हिस्सा हो। मध्यम रोजगार, मध्यम जीवनशैली, हतासा र उदासी यस वर्गको ‘सिग्नेचर’ बनेको छ। मध्यमवर्गको स्थान, भूमिका र मनोविज्ञान सम्बन्धमा समाजशास्त्री चैतन्य मिश्रसँग दीपक सापकोटा र राजु स्याङ्तानले गरेको कुराकानीको संक्षेप :
- समाज अघि बढाउने मूल–ड्राइभर मध्यमवर्ग होइन।
- मध्यमवर्ग न संगठित हुन्छ, न त अरूलाई गोलबन्द गर्छ।
- दलितहरूको सपना देख्ने ‘ग्लाससिलिङमा’ ढलान गरिएको छ।
- मध्यमवर्ग छोराछोरीसँग राजनीतिको कुरै गर्दैन।
प्रगतिशील साहित्यकार श्यामप्रसादको बहुचर्चित निबन्ध छ, ‘तँ, तिमी, तपाईं, हजुर।’ नेपाली सन्दर्भमा मानिसहरूबीचको वर्गसम्बन्ध र उचनीचलाई बुझाउने यो बलियो रचना हो। श्यामप्रसादले ‘तँ, तिमी, तपाईं, हजुर’मार्फत नेपाली समाजको तहीकरणको बलियो अभिलेख गर्नुभयो। हाम्रो समाजमा बोलीचालीमै यसरी वर्ग व्यक्त हुन्थ्यो, अझ त्यसमा ‘सरकार, मौसुफ, मालिक’ पनि थप्न सकिन्छ।
भाषा र बोलीचालीमा समाजकै वर्गसम्बन्ध झल्किने हो। मालिक, दास, अर्धदास हाम्रो समाजमा थियो। मालिक र नोकर वर्गको अस्तित्व अहिले पनि छ। तर, वर्गलाई परिभाषित गर्नु सजिलो छैन। लामो कालदेखि विभिन्न समाजमा उचनीच र तलमाथिको तह विभाजन छ। समानता भएको समाज नै छैन भन्ने होइन, तर त्यस्तो विरलै देखिन्छ। १० हजार वर्षयता समाजमा कृषिको उद्भव भएपछि समाजमा उचनीचको निर्माण भएको बुझिन्छ।
पाश्चात्य जगत्मा दुई विद्वान्ले वर्गचिन्तन गरे। तीन हुन्— कार्ल मार्क्स र म्याक्स वेबर। मार्क्स र उनका साथी एंगेल्सले सन् १८४८ मा (कम्युनिस्ट घोषणापत्रमार्फत) वर्ग र वर्गसंघर्षबारे चर्चा गरे। त्यसको ७० वर्षपछि १९२२ मा वेबरले ‘इकोनोमी एन्ड सोसाइटी’ पुस्तकमा वर्गचर्चा गर्दै उचनीचलाई तीन पक्षबाट केलाउनुपर्छ भने— वर्ग, सामाजिक हैसियत र राजनीतिक शक्ति। यी तीन बेग्लै हुन्, मिसिन्छन् पनि। नमिसिन पनि सक्छन्।
मार्क्सले समाजमा धेरै वर्ग हुने र कालान्तरमा ती दुईतिर छुट्टिएर पुँजीपति र सर्वहारामा विभाजित हुने बताए। उनले त्यो कालान्तर कहिले हुन्छ भनेका छैनन्। अहिलेका कम्युनिस्टहरूले अहिले नै भइसक्यो भनेर निचोड निकालेको मात्रै हुन्, मार्क्सले यति नै बेला हुन्छ भनेका छैनन्। त्यसपछिका चिन्तक माओले चीनमा जमिनको स्वामित्वका आधारमा वर्गभेद देखाए। माओका पालामा चीनमा बेलायतमा जस्तो औद्योगिकीकरण थिएन। उनले जमिनलाई आधार मानेर सामन्त, ठूला किसान, मध्यम किसान, साना किसानमा वर्ग विभाजन गरे। संसारभरिका एकथरी कम्युनिस्टले र नेपालका कम्युनिस्टले पनि माओको त्यही विश्लेषणलाई सुगाशैलीमा अनुकरण गरे।
त्यसपछि मार्क्सले भनेजस्तो उत्पादनका साधनका आधारमा होइन, उपभोगका आधारमा वर्ग निर्धारण गर्ने चलन बढ्दै गयो। मार्क्स र माओले उच्च वा मध्यम वर्ग कहिल्यै भनेनन्। मार्क्स र माओले जमिन वा औद्योगिक पुँजीको स्वामित्वको आधारमा वर्गको निक्र्योल हुन्छ मात्रै भने। अहिले मार्क्स र माओ धेरैले सम्झिँदैनन्। धेरैले त आजभोलि उच्च, उच्चमध्यम, मध्यम, निम्नमध्यम, निम्न वर्ग भनेर निर्धारण गर्ने चलन व्यापक छ।
उत्पादन वा उपभोगलाई मात्रै वर्गको आधार मान्दा जातलाई कहाँ राख्ने, लिंग कहाँ जाने ? जातीयता कता राख्ने ? दलित समुदायको आर्थिक हैसियत किन निकै कमै छ ? यसरी हेर्दा हाम्रो समाजमा मार्क्सभन्दा वेबरमा फर्किनु मनासिब देखिन्छ। सन् १९६० मा आएका बेलायती समाजशास्त्री र राजनीतिशास्त्री एबर्ड थम्सनले वर्गचिन्तनमा वस्तुगत मात्रै होइन, मनोगत आधार पनि निर्धारक हुन्छ भने। नेपाली समाजमा विशुद्ध आर्थिक आधारमा मात्रै समाजको विश्लेषण गर्न सकिन्नजस्तो लाग्छ।
उपभोगको आधारमा वर्ग
माथिल्लो, बीचको र तल्लो भन्ने चलन पुँजीवादभित्रकै वर्ग–निक्र्योल हो। मार्क्स र माओ उत्पादनमाथिको स्वामित्व कसको भन्थे। अहिले उपभोगमाथिको स्वामित्वका आधारमा वर्ग परिभाषित हुन्छ। खानपिन, पहिरन–फेसन, शिक्षा, घरबास, बोलीचाली आदिले वर्ग निर्धारण गर्ने मानिन्छ। यी कुरा आयस्रोतले निर्धारण गर्छ, तर त्यसबाहेक पनि धेरै कुरा निर्धारक हुन्छन्।
मध्यमवर्गको उदयमा साना किसानहरूको ठूलो भूमिका छ। उनीहरू स्वतन्त्र रूपमा आफ्नो जग्गाको मालिक भए भने र अरूको श्रम सित्तैमा खानुपर्ने अवस्था आएन भने मध्यमवर्गको उदय हुन्छ।
नेपालमा चारपटकसम्म लिभिङ स्टान्डर्ड सर्भे भयो। त्यसले उपभोग बढेकै देखाउँछ। गरिबको उपभोग धेरै बढेको छ। सबैभन्दा गरिबको उपभोग सबैभन्दा धनीको भन्दा बढ्यो। यसका पाँच आधार छन्— रेमिटेन्स, ज्यालादर वृद्धि, बढ्दो सहरीकरण, घट्दो जन्मदर (४० वर्षमा औसत प्रतिपरिवार ६.२ बच्चा जन्मनेमा अहिले २.२ जन्मन्छन्), गैरकृषि पेसामा वृद्धि। सन् १९७० मा नेपालको कुल गार्हस्थ्य उत्पादनको ७० प्रतिशत कृषिबाट आउँथ्यो। अहिले २९ प्रतिशत मात्रै योगदान हुन्छ। यसबाहेक सरकारले दिने वृद्धभत्ता, विधवाभत्ता, निःशुल्क शिक्षा, सुत्केरी भत्तालगायतले पनि उपभोग बढाएको छ।
नेपालमा भने वर्गबारे कुरा गर्दा यहीँ के छ भन्ने होइन, बरु मार्क्स र माओले के भन्थे भन्नेमा सोच्छन्। यहाँका दलले वर्गविभाजन जातमा, जातीयता र लैंगिकतामा देखे। आफूलाई कम्युनिस्ट भन्छन् तर वर्ग देख्दैनन्। माओको नाम लिँदै ‘मध्यमवर्ग ढुलमुले हुन्छ’ भन्छन्। गत २५ वर्षमा जात, जातीयता, लिंग, क्षेत्रीयता आदि हावी भयो। यिनको महत्व नहुने होइन, तर वर्ग त हरायो।
वर्गबारे नेपालका कम्युनिस्टमा अन्योल हुनुमा दुई कारण छन्। पहिलो— मार्क्सले भनेजस्तो पुँजीपति र सर्वहारा वर्ग नदेखिनु। दोस्रो— माओले कल्पना गरेका सामन्त र भूमिहीन नभेटिनु। नेपालमा जमिनको स्वामित्वमा असमानता छ तर चीनमा जस्तो एकदमै थोरै मान्छेले जमिनमा प्रभुत्व राख्ने होइन। थोरै भए पनि नेपालमा ८० प्रतिशतभन्दा बढीको आफ्नै जग्गा छ, ७० प्रतिशत साना किसान छन्। अर्कोतिर गत ५० वर्षमा जग्गाजमिनले नेपालमा राजनीतिक शक्ति दिएन। जग्गाको भूमिकाभन्दा राजनीतिमा ठेकेदारी हावी भयो। जग्गावालाले धेरै सामाजिक प्रतिष्ठा पाएन, जति पहिला पाउँथ्यो। यो परिवर्तनको धारमा वर्गलाई कसरी परिभाषित गर्ने भन्ने अन्योल बढ्यो।
‘खाना नपाएर मर्दिनँ’
सहरी वर्ग चाँडै परिवर्तन भइरहन्छ। ओर्लिने–उक्लिने भइरहन्छ। निकै माथि पुगेको मान्छे स्वाट्टै तल त खस्दैन तर चलायमान भइरहन्छ। मध्यम वर्ग भने कसैमाथि भर पर्दैन। ऊ ज्यालामा मान्छे लगाउँदैन, आफैं गरी खान्छ। अरूलाई आश्रित बनाउने हैसियत पनि राख्दैन। मध्यमवर्ग ठाउँअनुसार फरक हुन्छ। नेपाल र भारतको मध्यमवर्ग मिल्दैन। अमेरिकाको मध्यमवर्ग भारतको सबैभन्दा माथिल्लो वर्ग हुन्छ।
मध्यमवर्ग त्यो हो, जसले सुहाउँदो सुरक्षा भेट्छ। सुरक्षित महसुस गरेपछि उसले भविष्यलाई छुट्टै ढंगले हेर्छ। राम्रो स्कुल–कलेज पढ्दै गरेका छोराछोरीले राम्रो गर्नेमा ऊ आशावादी हुन्छ। मध्यमवर्ग जागिरे हुन्छ। उसले उचित आम्दानी पाएको हुन्छ, छाकैपिच्छे किनेर खाँदैन। केही समय आम्दानी समस्यामा पर्योन भने उसले टार्न सक्छ। यसो भएपछि उसको भविष्य चेत ‘म खाना नपाएर मर्दिनँ’ भन्ने हुन्छ।
सहरी मध्यमवर्ग आम्दानीका आधारमा मोटरसाइकल किन्छ। आम्दानीले नपुगे भविष्यमा कमाएर तिर्छु भन्ने आँटमा बैंकबाट ऋण लिएरै पनि मोटरसाइकल किन्छ। तल्लो वर्गलाई बैंकले पनि पत्याउँदैन, उसको आँट पनि पुग्दैन। छोरीछोरीलाई महँगो बोर्डिङ स्कुलमा पढाऊँ भन्ने महत्वाकांक्षा बढ्दै जान्छ। त्यसकारण इपी थम्सनले आत्मिक चेतलाई पनि वर्गको परिभाषाभित्र राख्नुपर्छ भन्छन्।
मध्यमवर्गले कस्तो जमिन पाउँछ, त्यो महत्वपूर्ण हुन्छ। उसको शक्ति र सीमा परिस्थितिमा भर पर्छ। राजनीति, अर्थतन्त्रले लिने बाटोले मध्यमवर्गको दायरा, सोच, चिन्तन निर्धारण गर्छ। किनभने समाज अघि बढाउन मध्यमवर्ग आफैं इन्जिन वा मूल ड्राइभर होइन। नेपालमा अर्थतन्त्र विस्तार हुँदै गयो भने दक्ष कामदार केही मध्यमवर्ग हुन सक्छ। सरकारी जागिरे, शिक्षक, विश्वविद्यालयका प्राध्यापकको नम्बर बढ्दै जान्छ। शिक्षा खोज्ने मान्छे बढ्दै जाँदा उनीहरूको तलबको स्केल पनि बढ्दै जान्छ। मध्यमवर्गमाथि उक्लन वा विस्तार हुनमा नेपालको अर्थतन्त्र र लोकतन्त्र कति विस्तार हुन्छ भन्नेसँग सम्बन्ध राख्छ। अर्थतन्त्र विस्तार नहुँदा र सीपअनुसार काम नपाउँदा मध्यमवर्गको महत्वाकांक्षा धेरै माथि छैन। नेपालको तुलनामा काठमाडौंमा मध्यमवर्ग धेरै छ तर अरू देशसँग दाँज्ने हो भने कम छ। नेपालभरिको पैसा अहिले काठमाडौंमा थुप्रिएको छ। काठमाडौंका ५० देखि ६० प्रतिशत मान्छेलाई मध्यमवर्ग भन्न सकिन्छ। देशैभरिचाहिँ १५ देखि १० प्रतिशत हुन सक्छ।
तीन/चार सय वर्षअगाडि विश्वमा हरेक व्यक्ति वा परिवारको प्रगतिको सीमा तोक्न सकिन्थ्यो। गरिबको छोरा कहाँसम्म पुग्न सक्छ ? धनीको छोरा कहाँसम्म ? कुन धार्मिक सम्प्रदायको मान्छे कहाँसम्म पुग्न सक्छ ? महिला र पुरुष, सहरिया र गाउँलेका आफ्नै सीमा थिए। त्यो सीमा युरोपमा तीन वर्षअगाडि भत्कियो। यद्यपि त्यो पूरै भत्किएको छैन। महिलाको संघर्ष जारी नै छ। जसरी ‘ग्लास सिलिङ’बाट माथि देख्न सकिन्छ, तर त्यहाँ पुग्न सकिन्न, त्यसरी नै। नेपालमा दलितहरूको सपना देख्ने सिलिङमै ढलानै गरिएको छ। नेपालमा मध्यमवर्ग वृद्धि हुन त्यो ढलान भत्किनुपर्छ। मध्यमवर्गले त्यो देख्ने भएकाले महत्वाकांक्षा राख्छ। दलित, महिला र दूरदराजमा बस्ने मध्यमवर्ग हुन अत्यन्तै गाह्रो छ। हुम्ला वा सिराहामा बस्नेले ‘सिलिङ’माथि देख्नै सक्दैन। जसले देखे, उनीहरू बागी हुन्छन्। ‘हामी ढलानले थिचिएको थिचिएकै रहेछौं’ भन्ने बुझ्छन् र कराउँछन्। त्यो आवाज सफलै हुन्छ भन्ने छैन।
अहिलेसम्मका धेरै राजनीतिक संघर्ष मध्यमवर्गले गरेको छ। थिचिएकाले आँटै गर्न सक्दैनन्। नेपालमा बीपी, मनमोहन, गणेशमान सबै माथिकै छोराहरू हुन्। मध्यमवर्ग आफ्नै खुट्टामा टेक्छु भन्छ, लागेको कुरा बोल्न सक्छ। वाक् स्वतन्त्रता मध्यमवर्गको मुद्दा हो। मध्यमवर्गले आफ्ना विचार प्रेसमा भन्न सक्छ। मालिकलाई पनि भन्न सक्छु, मालिकले निकाले अर्को ठाउँमा काम पाउँछु भन्ने विश्वास उसमा हुन्छ।
मध्यमवर्गको सीमा
मध्यमवर्ग आफ्नो खुट्टामा त उभिन्छ तर अरूलाई काम दिने हुँदैन। यो राजनीतिक संगठनमा अनुशासित बस्न सक्दैन, अरूलाई गोलबन्द पनि गर्न सक्दैन। पेसेवर भएर घर चलाउने, छोराछोरी पढाउने ध्याउन्नमा हुन्छ। राजनीतिक जोखिम झेल्न मान्दैन, छोराछोरीसँग पनि राजनीतिको कुरै गर्दैन। आफू राजनीतिमा लागेको छ भने ‘मेरो बाटो नहिँड’ भन्छ।
काठमाडौंको मध्यमवर्ग सन्तानलाई राजनीतिमा नलाग मात्रै भन्दैन, सरकारी जागिर पनि नखाऊ भन्छ। हाम्रो जमानामा काठमाडौंका परिवारको ठूलो सपना शाखा अधिकृत र सुब्बा बन्ने हुन्थ्यो। कम्तीमा खरदारकै जागिर खाओस् भन्ने चाहना हुन्थ्यो। अहिले काठमाडौंका बाउआमा आफ्ना सन्तान शाखा अधिकृत बनोस् भन्ने ठान्दैनन्। राजधानी बाहिरबाट आउनेहरू पनि शाखा अधिकृत मात्रै बन्नुलाई जीवनबाटै फेल खाएको ठान्छन्।
उत्पादन वा उपभोगलाई मात्रै वर्गको आधार मान्दा जातलाई कहाँ राख्ने, लिंग कहाँ जाने ? जातीयता कता राख्ने ? दलित समुदायको आर्थिक हैसियत किन निकै कम छ ? यसरी हेर्दा हाम्रो समाजमा मार्क्सभन्दा वेबरमा फर्किनु मनासिब देखिन्छ।
संस्कृति, सूचना–पहुँच र ज्ञानले काठमाडौं न्युयोर्कको धेरै नजिक छ। सूचना सञ्चारको विकासले गर्दा यहाँको मान्छेले धेरै परसम्म देखिसकेको छ। त्यसकारण यहाँको मानिस सीमाहीन सपना देख्छ। उसमा भयंकर असन्तोष पैदा हुन्छ, त्यो राजनीतिक रूपमा पनि प्रकट हुन्छ। मध्यमवर्गसँग मिडियाको पनि सम्बन्ध हुन्छ। ठूला मिडियालाई माथिल्लो वर्गले खुवाउँछ। अनि मिडियाले मध्यमवर्गलाई सूचना दिएर सहयोग गर्छ। यसले सिलिङभन्दा माथि हेर्न सिकाउँछ, सपना जगाइदिन सक्छ। मिडियामा तल्लो वर्गको कथा आउँदैन, आइहाले पनि दयाको पात्र देखाइदिन्छ। गरिबको कथा उसैलाई कर्ता बनाएर आउँदैन।
मध्यमवर्गलाई स्थायी वर्ग पनि भनिन्छ। अहिलेको विश्वव्यवस्थाले मान्छेलाई व्यक्तिवादी बनाउँछ। काम र कमाइको प्रकृतिले नै व्यक्तिवादितालाई आडभरोसा दिन्छ। अवसर समात्नु नै नकारात्मक कुरा होइन, अवसर समात्नुपर्छ। अवसर नसमात्ने बरु मूर्ख हुन्छ। मध्यमवर्गमा देखिने अवसरवादिता, स्वार्थीपन र व्यक्तिवादिता समाजकै उत्पादन हो।
मध्यमवर्गको जननी पुँजीवाद
नेपालमा ठूलाठूला जमिनदार थिएनन्। यहाँका जमिनदार भनेका कि ठेकेदार हुन् कि सरकारी कर्मचारी। उसको काम मालपोत उठाउने मात्रै हो। राजा महेन्द्रको २०२२ सालको भूमिसुधारले जमिनदारी प्रथा उन्मूलन गर्योम। त्यसका धेरै आयाम छन्। चर्चै नभएको आयाम हो— पहिलोपटक सबै घरले लालपुर्जा पाउनु। किसानहरूले मेरै जग्गा हो भन्ने ग्यारेन्टी पाए। जग्गा खोसिन्छ कि भन्ने भय रहेन। मध्यमवर्गको स्रोतमाथि स्वतन्त्र पहुँच भयो।
मध्यमवर्गको उदय त्यही स्वतन्त्र स्वामित्वसँग सम्बन्धित छ। मध्यमवर्गको उदयमा साना किसानहरूको ठूलो भूमिका छ। उनीहरू स्वतन्त्र रूपमा आफ्नो जग्गाको मालिक भए भने र अरूको श्रम सित्तैमा खानुपर्ने अवस्था आएन भने मध्यमवर्गको उदय हुन्छ।
त्यसकारण सन् १९६५ अगाडि मध्यमवर्गको चर्चा गर्नु निरर्थक हुन्छ। पहिलो मध्यमवर्ग बन्ने प्रस्थानबिन्दु त्यो हो। संसारैभरि भने पुँजीवादपछि मध्यमवर्गको उदाएको थियो। पुँजीवादले पुँजीपति र सर्वहारा जन्माउँछ भन्ने एकाथरीको भनाइ छ। मेरो विचारमा बीचमा पनि मान्छे धेरै हुनुपर्छ। मार्क्सले पुँजीपति र सर्वहारा मात्रै हुन्छ भनेका होइनन्। यहाँकाले त्यसो भनिदिए। पुँजीवादको देन हो संविधान। संविधानले नै राजनीतिक रूपमा सबै नागरिक बराबर हुन् भन्यो। सबैलाई बोल्ने, लेख्ने, राजनीतिक झन्डा बोकेर हिँड्ने हक दियो। त्यो मध्यमवर्गलाई सघाउने कुरा थियो। पुँजीवाद नआई त्यो सम्भव हुँदैन। अहिले नेपालमा जति मध्यमवर्गको वृद्धि भएको छ, त्यो पुँजीवाद र लोकतन्त्रको देन हो।