बलात्कारपछि बालिका हत्या : रोशनी र अनिता पक्राउ
कञ्चनपुर : १३ वर्षीय निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले उनकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरेको छ । यसअघि तारेखमा राखेपनि शनिबार उनीहरुलाई पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त गृहकार्य गर्न तथा नोटबुक लिनका लागि साइकल चढेर रोशनीको घर पुगेकी थिइन् । बलात्कारपछि उनको गत साउन १० गते हत्या भएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर एसपी कुबेर कडायतले अनुसन्धानका लागि रोशनीका दिदीबहिनीलाई नियन्त्रणमा लिइएको बताए । भोलि अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धन गरिने उनले जानकारी दिए । पन्तको हत्या भएको एक महिनासम्म पनि प्रहरीले हत्याबारे ठोस अनुसन्धान गर्न सकिरहेको छैन ।
प्रहरीले पन्तको हत्या भएको २५ औं दिनमा समातेर २६ औं दिनमा पत्रकार सम्मेलन गरी मानसिक सन्तुलन गुमेका व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थानीय झन् आक्रोशित हुदैँ आन्दोलनमा उत्रेका हुन् । घटनाको छानबिनका लागि सरकारले गठन गरेको समिति शुक्रबार महेन्द्रनगर पुगिसकेको छ।