भान्साकोठाभित्र ‘दंश’
काठमाडौं : दायाँपट्टि अलि बढी ठाउँ ओगट्ने खाट। खाटमाथि पलङ र एक सिरानी। बायाँतिर भान्सामा राखिने दराज र दराजमाथि चटक्क मिलेको ग्याँस चुलो। बीचको भित्तामा झुन्डिरहेछ बडेमानको मठमन्दिरको पेन्टिङ। कोठाको ठीक बीच अलि बढी उज्यालोमा चार कुर्सी र कुर्सीअगाडि एक सानो टेबल। कोठाभित्र एक कुनामा खाना पकाउने ग्याँस सिलिन्डर, अर्कोतिर खानेपानीको जार, मसलाका सरसामान, तरकारी पकाउने कराही पनि। यी सबै दृश्य देख्दा भान्साकोठा नै प्रतीत हुन्थ्यो।
यो सबै दृश्य मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘सकेको तिरौंला नत्र फिरिमा’को हो। तर, शनिबार यही भान्साकोठाको मध्य भागमा झुन्डिरहेको थियो, पुस्तक ‘दंश’को ब्यानर। कथाकार दिनमान गुर्मछानको कथासंग्रह ‘दंश’ यही भान्साकोठाभित्र विमोचन हुँदै थियो।
विमोचनमा साहित्यकार अभि सुवेदीले गुर्मछानको पुस्तकका लेखाइ र विधि प्रयोगवादी नभएको बताए। ‘यो कथासंग्रहमा प्रयोगवादको आग्रह छैन मात्र इमानदारिता छ’, उनले भने, ‘जो जीवन र भोगाइको घटनासँग सम्बन्धित छ।’ सुवेदीले कथा छोटो हुने तर लेख्न गाह्रो हुने बताउँदै भने, ‘कथा विधा मरेको होइन, उपेक्षित भएको हो।’
कथाकार नवीन विभासले भने गुर्मछानको कथा सरल र सहज भएको बताए। ‘कथा सरल छन् र सरल लेख्नु आफैंमा जटिल कुरा हो’, उनले भने।
समालोचक वन्दना ढकालले हामीमा उपन्यासलाई मानक बनाउने परम्परा छ भन्दै परम्परा चिरेर गुर्मछानको कथा आउनु राम्रो रहेको बताइन्।
कथाकार गुर्मछानले दंश आफ्नो पहिलो पुस्तक भएको बताउँदै यसले पाठकको मस्तिष्कमा दंश गर्ने दाबी गरे। समकालीन नेपाली जीवनका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विषय यस कथामा अटाएका छन्। गुर्मछानको कथासंग्रह ‘दंश’मा अठारवटा कथाले अनेकहरूबाट डसिएको नेपाली जनजीवनलाई समेटेको छ। पुस्तक शाब्दिक बुक्सले प्रकाशन गरेको हो।