नेपालीभाषी भुटानी कविको दुःखेसो

नेपालीभाषी भुटानी कविको दुःखेसो

काठमाडौं : भुटानमा नेपाली भाषा प्रतिबन्धित छ तर नेपाली भाषामा फाट्टफुट्ट पुस्तक निकाल्नेहरु पनि छन्। तुम्बेहाङ लिम्बू तीमध्ये एक हुन्।

दक्षिण भुटानको सान्चीमा सन् १९७० मा जन्मेका लिम्बू साहित्य लेखनमा सक्रिय छन्। कथा, कविता, गजल, हाइकु, मुक्तक तथा नाटक विधामा कलम चलाउने तुम्बेहाङले ‘भग्न पर्खालको सयपत्री’ र ‘किनारामा प्रश्न’ नामक दुईटा कवितासंग्रह प्रकाशित गरिसकेका छन्। कथा र उपन्यास पनि प्रकाशोन्मुख अवस्थामा छन्। सन् १९९० मा भुटानमा नेपालीभाषी जनताले आन्दोलन गरे। त्यो आन्दोलनमा सहभागी भएको आरोपमा धेरै नेपालीभाषी जनतालाई देश निकाला गरियो। जेलमा थुन्ने र कठोर यातना दिइयो।

भुटान आप्रवासीको देश हो। सत्तारूढ डालोङ समुदाय १७ औँ शताब्दीमा भोटबाट आएका हुन्। नेपालीभाषी सन् १६२४ देखि नै भुटानमा थिए। हाल देशको कुल जनसंख्याको ३५ प्रतिशत नेपालीभाषी छन्। सन् १९०७ मा स्थापित राजतन्त्रले नेपालीभाषी भुटानीलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्ने र आफ्नो अधिकारको कुरा गर्दा अपराध गरेको जस्तो व्यवहार गर्ने गरेको तुम्बेहाङ बताउँछन्।

भुटानमा नेपालीभाषी जनताले अनेक समस्या भोग्नु परेको छ। बिनाकारण राज्यबाट जग्गाजमिन खोसिने, नागरिकता नपाउने, व्यापारका लागि लाइसेन्स नपाइनेजस्ता अनेक समस्या छन्।

उनी सानैदेखि साहित्यप्रति रुचि राख्थे। यसका विभिन्न विधामा सक्रिय थिए। भुटानमा चलिरहेको मानवअधिकार र प्रजातान्त्रिक आन्दोलनलाई सघाएको अभियोगमा उनलाई भुटान सरकारले दुई वर्षसम्म जेलमा थुन्यो। तुम्बेहाङहरू मिलेर भुटानमा नेपाली भाषाको विकास र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्थे। उनीहरूको हकहितका लागि विभिन्न कार्यक्रम ल्याउँथे। यस कारण उनीहरूसँग तत्कालीन सरकार रुष्ट थियो।

जेल परेपछि तुम्बेहाङ जिन्दगीमा सोच्दै नसोचेको यातना भोग्न बाध्य भए। पुलिसले बेतको लट्ठीले हान्ने, कम्मरमा डोरीले बाँधेर पिट्नेजस्ता यातना दिन्थे। नेपाली भाषा दक्षिण भुटानमा सरकारी कामकाजी भाषाका रूपमा प्रयोग हुन्छ। नेपालीभाषी बौद्धिक र राजनीतिक रूपमा सचेत भएकाले पनि सरकार उनीहरूको विपक्षमा छ।

जेल परेको अनुभव सुनाउँदै तुम्बेहाङ भन्छन्, ‘दसैंको समय थियो, पुराना कैदीले मादल बजाउँदै, नाच्दै रमाइलो गरेका थिए। एक्कासि पुलिस आएर मादल फुटाइदियो। सबै कैदीलाई पिट्दै, माफी माग्न भुइँमा ढोग्न लगायो। हातले भुइँ टेकेर भित्तामा गोडा ठड्याउन लगाउँथे।’

त्यसको केही दिनपछि थिम्पुको चेमगाङ खोलास्थित चेमगाङ केन्द्रीय कारागार सारे। त्यहाँ पुग्नासाथ बाँसको भाटा र डन्ठाले पिट्न थाले, अहिले सम्झँदा पनि कसरी बाँचियो भन्ने लाग्छ। उनी विगत सम्झन्छन्, ‘त्यो दुई वर्षको भोगाइ मेरा लागि हजारौं जुनीको यातनासरह भो।’

अस्थायी रूपमा कहिले भारत त कहिले नेपाल बस्दै आएका तुम्बेहाङ आफूलाई भुटानी नागरिक भन्न मन पराउँछन्। उनी आफ्नो देश भुटानलाई स्वर्गको टुक्राको उपमा दिन्छन्। भन्छन्, ‘देश अत्यन्त सुन्दर छ तर यहाँको राज्य सञ्चालन व्यवस्था खराब छ जहाँ नेपालीभाषीलाई स्वतन्त्र सास फेर्न पनि मुस्किल छ।

प्रतिकूल अवस्थामा बसेर पनि उनले साहित्य लेख्न भने छाडेका छैनन्। भन्छन्, ‘साहित्यकै माध्यमबाट चेतनाको लहर फैलाउने काममा छु। सरकारले जतिजति अप्ठ्यारो पार्दै जान्छ, स्वतन्त्र अभिव्यक्तिमा बन्धन लगाउँदै जान्छ; त्यति नै नेपालीभाषी कवि, उपन्यासकार, लेखक र राजनीतिक सचेतकहरू एकजुट हुँदै गएका छन्।’

अघिल्लो महिना उनले काठमाडौं आएर ‘किनारामा प्रश्न’ नामक कवितासंग्रह सार्वजनिक गरे। भन्छन्, ‘नेपालीभाषीको मुख्य केन्द्रका रूपमा काठमाडB| रहेकाले पनि यहाँ आएको हुँ। साहित्यकार श्रवण मुकारुङ, सीता शर्मा, निनु चापागाईं र समालोचक गोविन्द्र पौडेल लगायतको हातबाट मेरो कृति विमोचन गराउने रहर भएकाले पनि काठमाडौंमै विमोचन गरेको हुँ।’ उनले थपे, ‘भुटानमा बस्ने नेपालीभाषीबाट करिब ६२ वटा किताब प्रकाशित भएका छन्। भुटानमा नेपाली भाषाको क्रेज बढ्दो छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.