पाथीभरा गोल्डकप : ताप्लेजुङको जित
फुङ्लिङ : ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ विजयी भएको छ ।
‘ए’ डिभिजनका तथा विदेशी खेलाडीले भरिएको ताप्लेजुङले फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई ३–० गोलले पराजित गरेको हो ।
ताप्लेजुङको जितमा राजकुमार घिसिङले एक तथा विदेशी खेलाडी फोरे फोरमेनाले दुई गोल गरे । घिसिङले पहिलो हाफको दोस्रो मिनेटमै फ्रिकिकमार्फत गोल गरेका थिए ।
पपुवा न्युगिनीका फोरमेनाले पहिलो हाफको ४१औं र दोस्रो हाफको ६६औं मिनेटमा गोल गरे । उनी खेलको म्यान अफ दी म्याच पनि बन्न सफल भए । फोरमेनाले नगद पाँच हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत आइतबार रेडहर्स क्लब इलाम र रेडस्टार क्लब झापाबीच खेल हुने आयोजक लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष मोती पतङ्वाले जानकारी दिए । प्रतियोगिताको विजेताले तीन लाख नगद पुरस्कार पाउनेछन् ।
लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।