कुम्भेश्वर मेला चलाउन हम्मे
ललितपुर : एघार महिना मन्दिरमा राखिए पनि साउन शुक्लपक्षमा कुम्भेश्वर महादेवलाई बाहिर निकाल्ने परम्परा छ। साउनको प्रत्येक सोमबार भगवान्लाई स्नान गराइन्छ। शुक्लपक्ष जनैपूर्णिमाको अघिल्लो रात मन्दिर छेवैको कुण्डभित्र विधिपूर्वक खटमा हालेर राखिन्छ। सो कुण्डमा राखेपछिमात्र कुम्भेश्वर मेला सुरु हुन्छ। मेला दुई दिनसम्म चल्ने
र समापनपछि पुन विधिपूर्वक भगवान्लाई भित्र्याइन्छ। तर मेलाको सम्पूर्ण तयारीका लागि आर्थिक रूपमा हम्मेहम्मे परेको जिम्मेवारी लिएका गुठियारले बताएका छन्।
मन्दिरको रेखदेखको जिम्मा पाएका ‘भण्डारे’ तथा गुठीयार बालकृष्ण श्रेष्ठका अनुसार सम्पूर्ण तयारी भए पनि आर्थिक रूपले मेला सञ्चालन गर्न भने सजिलो छैन। श्रेष्ठले ०११ सालदेखि यो कामको जिम्मा लिँदै आएका छन्। यस वर्ष गुठी संस्थानसँग एक लाख रुपैयाँ माग गरे पनि मुस्किलले ६५ हजार रुपैयाँमात्र पाएको बताए। उनले भने, ‘यो पैसा ज्यादै थोरै हो। बजारभाउ बढेकाले सामान महंगो छ। यति पैसाले मेला चलाउन सकिँदैन।’ मेला चलाउन नसकेपछि संस्थान आफैंलाई जिम्मेवारी सम्हाल्न आग्रह गरे पनि नलिएको गुनासो उनको छ। श्रेष्ठलगायत उनका अन्य तीन दाजुभाइले मेला सञ्चालनको जिम्मा पाएका छन्।
किंवदन्ती अनुसार जनैपूर्णिमाको बेला एक वृद्धा गोसाइकुण्ड मेला भर्न गइन्। उनले बुहारीलाई गोसाइकुण्डबाट जल ल्याइदिने वचन दिँदै एउटा अम्खोरा लगेकी थिइन्। तर ती वृद्धाले गोसाइकुण्डमा स्नान गरिसकेपछिमात्र अम्खोरा कतै छोडेको चाल पाइन्। जल कसरी लैजाने भन्दै दुःखी भइन्। सोही बेला बुहारी कुम्भेश्वर मन्दिरमा पुगेको र त्यहाँ सोही अम्खोरा भेटेको किंवदन्ती छ। श्रेष्ठका अनुसार जनैपूर्णिमामा गोसाइकुण्ड जान नसक्नेहरू कुम्भेश्वरमा आएर स्नान गर्ने चलन छ। ‘मेरो बुबा भन्नुहुन्थ्यो यहाँ स्नान गर्दा महारोगी पनि बिसेक हुन्छन्’, श्रेष्ठले भने।
मेला सञ्चालन गर्न एकादशीका दिनदेखि काममा जुट्नुपर्ने उनको भनाइ छ। एकादशीका दिनदेखि कुण्डको सरसफाइ गरेर पानी जमाउन सुरु गरिन्छ। दैनिक चार, पाँचजना कामदारलाई काममा लगाउनुपर्छ। प्रत्येकले दैनिक १५ सय रुपैयाँ लिने गरेको उनको भनाइ छ। विगतमा धर्म हुन्छ भन्दै काम सघाए पनि अहिले सबैले पैसा लिन थालेको उनको भनाइ छ। खट बनाउनेलगायत तयारी गर्न निकै समस्या रहेको उनले बताए।
गुठी संस्थानका पदाधिकारीलाई जति गुनासो गरे पनि चासो नदेखाएको उनको भनाइ छ। १४ औं शताब्दीमा बनेको यस मन्दिर पशुपतिनाथभन्दा पुरानो भएको मन्दिरको मेला लगाउने परम्परा आर्थिक अभावले बन्द नहोस् भन्ने उनको राय छ। उनले भने, ‘बिल्कुलै यो कामको जिम्मेवारी लिने रहर छैन। राजीनामा दिइसकें तर स्वीकृत भएको छैन।’
गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले श्रेष्ठको भनाइप्रति असन्तुष्टि जनाए। उनले श्रेष्ठबाहेकका अन्य गुठीयारले अहिलेसम्म कुनै विरोध नगरेको दाबीसमेत गरे। ‘आर्थिक कुरालाई लिएर अहिलेसम्म लिखित रूपमा कुनै माग पनि आएको छैन’, पौडेलले भने। उनले निश्चित दरबन्दीअनुसार के कति आर्थिक सहयोग दिने भनेर तय भएकाले सोही अनुरूप सहयोग गर्दै आएको बताए।