सेरेनामाथि लाग्यो पोसाक प्रतिबन्ध
पेरिस : फ्रान्सेली टेनिस महासंघले अमेरिकन खेलाडी सेरेना विलियम्सलाई आफूले आयोजना गर्ने आगामी प्रतियोगितामा सहभागी हुँदा कालो रङको ‘क्याटसुइट’ पोसाक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। फ्रान्सेली टेनिस महासंघले त्यसको कारण भने खुलाएको छ।
सेरेनाले गत मे र जुनमा भएको यो वर्षको फ्रेन्च ओपन ग्रान्डस्लाम टेनिस प्रतियोगिताको दौरान कालो रङको क्याटसुइट पोसाक प्रयोग गरेकी थिइन्। हालै सुत्केरीबाट फर्किएकी सेरेनाले आफ्नो अवस्थाका कारण सहज हुने जनाउँदै सो पोसाक लगाएकी थिइन्। त्यस बेला फ्रान्सेली टेनिस महासंघले पनि सेरेनाको अनुरोधलाई स्वीकार गरेको थियो।
यद्यपि महासंघले आफूले आयोजना गर्ने आगामी प्रतियोगितामा सेरेनालाई कालो रङको क्याटसुइट प्रयोग गर्न अनुमति नदिइने निर्णय गरेको छ। फ्रान्सेली टेनिस महासंघका अध्यक्ष बर्नाडर्ड जिउडिसेलीले यो निर्णयबारे सेरेना आफैंलाई पनि जानकारी दिइसकिएको जनाएका छन्। अध्यक्ष जिउडिसेलीले फ्रान्सको टेनिससम्बन्धी एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘आगामी प्रतियोगितामा सेरेनाले यो वर्षको फ्रेन्च ओपन टेनिस प्रतियोगितामा सहभागी हुँदा प्रयोग गरेको कालो रङको क्याटसुइट आगामी प्रतियोगितामा प्रयोग गर्न अनुमति दिइनेछैन।’
अध्यक्ष जिउडिसेलीले आगामी प्रतियोगितामा खेलाडी र पोसाक कम्पनीहरूबाट अग्रिम जानकारी लिएर मात्रै खेलमा लगाउन पाउने पोसाक स्वीकृत गरिने जनाएका छन्। हाल विश्व वरीयताको १७औं स्थानमा रहेकी सेरेना यूएस ओपन ग्रान्डस्लाम टेनिसको तयारीमा जुटेकी छन्। यूएस ओपन सोमबारबाट सुरु हुँदै छ। पूर्व शीर्ष विश्व वरीयताकी खेलाडी सेरेनाले हालसम्म सर्वाधिक २३ ग्रान्डस्लाम जितेकी छन्। हालै आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी सेरेना फेरि यसै वर्षबाट कोर्टमा फर्किएकी हुन्।