नदीको कटानले २० परिवारको उठिबास
बाँके : राप्ती सोनारी–२ कचनापुरका भोला बुढाको ७ कठ्ठा जग्गा राप्ती नदीले कटान गरेको छ। धान फुल्ने बेलाको खेत नदीले कटान गरेको हो। राप्ती नदी कटान गाउँतिर पसेको छ। ‘मेरो खेत अहिले नदीको बीच भागमा पर्छ’, अन्नपूर्ण पोस्ट्सँग बुढाले भने, ‘अब मेरो घरबास नै छैन।’ उनका छिमेकी छलबहादुर बुढाको पनि ८ कठ्ठा जग्गा राप्ती नदीले कटान गरेको छ। उनी भन्छन्, ‘तीन वर्षअघि एक लाख रुपैयाँका दरले किनेको थिएँ। अहिले सानो टुक्रा पनि बचेको छैन।’
सोही गाउँकी बिजा बुढाथोकीको डेढ विगाहा जग्गामध्ये मुस्किलले दुई कठ्ठा बचेको होला। ‘बर्षा भयो र नदीमा बाढी आयो भने यो पनि बाँकी रहन्न’, उनले दुःखेसो पोखिन्, ‘आधा जति त पोहोर साल नै कटान भएको थियो। बेचेको यो वर्ष सबै सकिन्छ होला। के खाएर बाँच्ने हो भन्ने चिन्ता बढेको छ।’
भोला, छलबहादुर र बिजा मात्र होइन, राप्ती नदीको कटानबाट राप्ती सोनारी गाउँपालिका–२ कचनापुरका मात्र २० परिवारको उठिबास भएको २ नम्बर वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष मदन वलीका अनुसार हरकुन्ती खोलादेखि बग्देलासम्म करिव डेढ किलो मिटरको दुरीमा मात्र ५० परिवारको ३० विगाहाभन्दा बढी जग्गा राप्ती नदीले कटान गरिसकेको छ। उनी भन्छन्, ‘कम्तीमा ५/६ कठ्ठा मात्र जग्गा हुनेहरुको बिचल्ली नै भएको छ। उनीहरुको त बस्ने बास पनि बचेको छैन।’
नदी कटानको अवस्था हेर्दै फुल्नै लागेको धान काट्दै स्थानीय गाईबस्तुलाई खुवाइरहेका छन्। ‘जस्तै नदी कटान हुन थाल्छ। नदी किनारको धान काटेर चित्त बुझाउनुपर्छ’, छलबहादुरले अवस्था सुनाए। यो क्षेत्रमा सल्यान जिल्लाबाट बसाइँ सराइ गरेका अधिकांश व्यक्तिहरु सबैभन्दा बढी प्रभावित भएका छन्। ‘पहाडको सबै घर, खेत, पाखो बेचेर तराई झरेकाहरु नदी कटानबाट घर न घाटका भएका छन्’, वडा अध्यक्ष वलीले स्पष्ट पारे। उनीहरु लक्ष्मी माध्यामिक विद्यालयको जग्गामा बसिरहेका छन्।
सो क्षेत्रमा जनता तटबन्ध कार्यक्रमबाट ०६९ सालमा गरिएको तटबन्धनले काम गरेको छैन। तटबन्धन गरेको क्षेत्र त अहिले नदीको पल्लो किनार भएको छ। नदीले गहिरो कटान गरेको छ। धान खेतदेखि नदीबीचको गहिराइ नै झन्डै दश मिटर अग्लो भएको छ। घुलनशील माटो भएकाले थोरै बाढी आउँदा र थोरै वर्षामा पनि नदी कटान भइरहेको छ।
नदी कटानको अवस्थाबारे जानकारी लिन शुक्रबार स्थलगत अवलोकनमा गएकी प्रदेश ५ कि प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ले सानो तिनो तटबन्धबाट नदी कटान रोक्न नसकिने बताइन्। उनले भनिन्, ‘जनता तटबन्धले पनि हुँदैन। यसका लागि छुट्टै राप्ती नदी तटबन्ध परियोजना नै ल्याउनुपर्छ।’ उनले प्रदेश सरकारको बजेटबाट मात्र पनि यो परियोजना सम्भव नहुने भएकाले संघीय सरकारले राप्ती नदीमा तटबन्ध बनाउन जोड दिइन्।
यो क्षेत्रमा गत वर्ष पनि नदीले कटान गरेको थियो। हरेक वर्ष नदी झन झन गाउँतिर आउन थालेपछि स्थानीय पनि त्रासमा छन्। उनीहरु समस्याको दीगो समाधान गर्न सरकारसँग माग गरिरहेका छन्। खाद्य अधिकारका क्षेत्रमा क्रियाशील संस्था फियान नेपालका संयोजक सुरेश गौतम लक्ष्मणपुर बाँधदेखि अगैयासम्म १४ किलोमिटर क्षेत्रमा राप्ती नदीका दुबै किनारमा पक्की तटबन्ध नबनाएसम्म हरेक वर्ष स्थानीयले सास्ती भोग्नुपर्ने बताउँछन्।
भारतले बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण बाँकेका राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका सयौं विगाहा जग्गा हरेक वर्ष डुबान र कटानमा पर्छ। नदीका कारण धेरैको उठिबास गराएको छ। गौतमको सुझाव छ, ‘बाढी र कटान पीडितलाई राहात दिने मात्र होइन, सरकारले दीगो समाधानका लागि पक्की तटबन्ध नै उत्तम उपाय हो।’