निर्मला हत्याकाण्डका अनुत्तरित प्रश्न

निर्मला हत्याकाण्डका अनुत्तरित प्रश्न

धनगढी : साथीको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मला पन्त बेलुका घर नफर्किएको खबर प्रहरीले समयमै पाएको छ तर प्रहरी राति परेको भन्दै घटनास्थल गएन, किन ? निर्मलाकी आमा दुर्गादेवी पन्तले छोरी गएको घरमा खानतलासीको आग्रह प्रहरीसमक्ष पटक-पटक गरिन् तर प्रहरीले रोशनी बम र अनिता बम दिदी-बहिनी बसेको घरमा खानतलासी पनि गरिदिएन, किन ?

दोस्रो दिन शव भेटियो, बमको घर नजिकैको खोलापारिको उखुबारीभित्र, पानीको अहालमा घोप्टो परेको अवस्थामा । किनकि घटना भएको रातभरि भारी वर्षा भएको थियो । तर, वारिपट्टि भेटिएको साइकल र त्यसमा राखेका कापी- किताब बिहान नभिजेको अवस्थामा भेटिए । भनेपछि हत्या गरेर शव राति नै उखुबारीमा फालियो, साइकल र कापी-किताब बिहान पानी रोकिएपछि शव फालेको स्थानआसपास फालिए, यसअघिको अनुसन्धान त्यता किन मोडिएन ?

निर्मलाको साइकलवरिपरि पोलिथिनबाट छरपष्ट भएका अम्बा थिए, ती अम्बा साथी रोशनी बमको घरबाट निर्मलाले ल्याएको हुनुपर्छ । अनि शव भेटिएको दोस्रो दिन रोशनी बमको बारीमा रहेको त्यही अम्बाको रूख पूरै काटियो, किन ?

अनुसन्धानको पाटो रोशनी र अनिता बसेको घरबाट सुरु हुनुपर्थ्यो तर तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टले किन त्यताबाट अनुसन्धान सुरु गरेनन् ? बम दिदी-बहिनी पक्राउ त परे तर दोस्रो दिन छाडिए किन ?

निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डका अनुत्तरित प्रश्न हुन् यी । अहिले पनि आन्दोलनमा होमिएका स्थानीय यी प्रश्नको उत्तर चाहिरहेका छन् । आन्दोलन हुन्छ, जनसागर उर्लिन्छ महेन्द्रनगरमा, कोणसभामा गरिने यिनै अनुत्तरित प्रश्नको उत्तरको पर्खाइमा छन्, स्थानीय ।

साउन १० गते बिहान ११ बजेतिर साथी रोशनी बमको घरमा गएकी निर्मलाको अपराह्न २ बजेदेखि ५ बजेभित्रै बलात्कारपछि हत्या भएको प्रहरीको ‘स्टेटमेन्ट’ मा छ । तर, घटनास्थलको परिस्थिति हेर्दा त्यो समयमा उखुबारीमा लगेर बलात्कार गर्न सक्ने सम्भावना नै देखिँदैन ।

निर्मला र रोशनी साथी हुन् । दुवैको घरको दूरी झन्डै दुई किलोमिटर मात्रै छ । एकको घरबाट अर्कोको घरसम्म सानदार पक्की सडक छ । सडक छेउछेउ भएर उर्लिंदो खोलो बगरिहेको छ । निर्मलाको घर नजिकै भएर बग्ने त्यो खोलामा तर्न नसक्ने पानी बगिरहन्छ, अहिले पनि । खोलाको वारिपट्टि पक्की सडक छ, त्यहाँ दिनभरि आवागमन चलिरहन्छ । बर्खामा उर्लेर आउने त्यस खोलामा बलात्कार गर्ने समूहले, सामान्यतया विरोध गर्दागर्दै कसैलाई खोला तराएर पारि रहेको उखुबारीसम्म लैजान सक्ने सम्भावना नै देखिँदैन ।

तर, निर्मलाको शव भेटिएको स्थानदेखि दुई÷तीन सय मिटर दक्षिणमा भने वारिपारि गर्ने काठको साँघुरो साँघु छ । पीडितका आफन्तले त्यही साँघु तराएर उखुबारीसम्म शव पुर्‍याएको अनुमान गरेका छन् ।

‘मेरो छोरीको हत्या कुनै घरमा भएको छ, अनि राति शव बोकेर त्यही साँघु तराएर, नदेखुन् भन्नका लागि उखुबारीमा लगेर फालिएको छ, तपाईं-हामी त यत्तिको अनुमानगरिरहेका छौं भने प्रहरी, जो अपराध अनुसन्धानको विशेषज्ञ हुन्, उनले किन त्यता अनुसन्धान गरिदिएनन् ? ’ निर्मलाकी आमा दुर्गादेवीको प्रश्न छ ।

‘मेरो अर्को दुखेसो छ, म आफैं प्रहरी चौकीमा पुगेकी छु, अनि मैले आफैंले प्रहरीलाई पटक-पटक भनेकी छु, बमको घरमा खानतलासी होस्, मैले शव भेटिनुभन्दा अगाडि पनि भनेकी छु, शव भेटिएपछि पनि भनेकी छु तर प्रहरीले हुन्छ-हुन्छ मात्र भने’, दुर्गादेवीले भनिन्, ‘प्रहरीले निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्ने भए त घटनास्थल, दिउँसो छोरीले गएको ठाउँलाई सिल लगाएर अनुसन्धान गर्नुपथ्र्यो तर खै ? हामीलाई त सुरुदेखि नै गुमराहमा राखियो ।’

रोशनी र अनिताका बुवाआमा दार्चुलामा जागिरे छन् । बुवा दीपेन्द्र बम शिक्षक हुन् भने आमा इन्द्रा बम वडासचिव हुन् । घटना भएको दिन बमदम्पती दार्चुलामै थिए । उनको दुईतले घरमा रोशनी र अनिता मात्रै बस्थे । निर्मलाको हत्यापछि उनको आँगनमा रहेको अम्बाको रूख काटिएको छ ।

निर्मलाको साइकलवरिपरि अम्बा भेटिएकाले बम परिवारले अम्बाको रूख काटेको आरोप लागिरहेका बेला रोशनीका बुवा दीपेन्द्र बम भन्छन्, ‘त्यो संयोग मात्रै पर्‍यो ।’ पर्खालको नजिकै रहेको अम्बाको रूखले पर्खाल भत्किन थालेपछि रूख काटेको उनले बताए । ‘मैले पर्खाल भत्किन थालेपछि अम्बाको रूख काटेको हुँ, त्यसमा अरू कुनै कारण छैन’, दीपेन्द्र बमले भने।

बम दम्पती पनि निर्मलाको हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने बताउँछन् । ‘हामी पनि निर्मलाको हत्यारालाई कडा कारबाही होस् भन्ने चाहन्छौं’, रोशनीकी आमा इन्द्रा बमले भनिन् ।

गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेर कञ्चनपुर पठाएको छ । शुक्रबारदेखि छानबिन समितिले शून्यबाट अनुसन्धान पनि सुरु गरिसकेको जनाएको छ । तर, आन्दोलनमा उत्रिएका पीडित, आफन्त र स्थानीय भने छिटो यी अनुत्तरित प्रश्नको उत्तर चाहिरहेका छन् ।

‘अनिता र रोशनीलाई सोधपुछ गरिएको हो भने उनीहरूले के भने ? प्रहरीले मानवअधिकारकर्मी वा पीडितको प्रतिनिधिको रोहवरमा बयान गरेर जानकारी दिनुपथ्र्यो, त्यसो केही गरिएन, एक जना मानसिक सन्तुलन गुमाएका दिलीपसिंह विष्टलाई घटनाको दोषी बनाएर प्रहरी प्रशासनले उम्कन खोज्यो’, निर्मलाकी आमा दुर्गादेवीले गुनासो गरिन् ।

उनले अहिले सरकारले गठन गरेको छानबिन समितिले निष्पक्ष छानबिन गर्नेमा आशा जागेको बताइन् । ‘अहिलेको छानबिन समितिले पनि अनुसन्धानका यी अनुत्तरित पाटा खोलाइदिनुपर्छ, अनि मात्रै हामीलाई विश्वास लाग्छ’, उनले भनिन् ।

सरकारी छानबिन समितिका संयोजक मैनालीले पनि निष्पक्ष छानबिन गर्ने बताए । ‘अहिलेसम्म गरिएको लापरवाहीको पनि छानबिन हुन्छ अनि अनुत्तरित यी प्रश्नको पनि’, उनले भने, ‘त्यसका लागि स्थानीय सबैले छानबिन समितिलाई सहयोग गर्नुपर्छ र सहज वातावरण बनाइदिनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.