भड्किएको निर्मलाको आत्मा
काया छुट्टिएर भडकिएको आत्माले
कहिले शान्ति पाउला ?
त्यो उखुबारी,
बाघले झम्टिएको बाच्छोजस्तै अललिएको त्यो कहालीलाग्दो समय
गोडा फाटेर उनेको झीरले
कहाँ हो कहाँ, कति दुखेको
मानौँ दर्दको पराकाष्टा अरु के होला ?
उम्किन खोज्दा खोज्दै
महिषासुरसँग हारेको त्यो समय ।।
सपना त हुन्छन नी
थिए मेरा पनि
समाजमा असुरहरुको बिगबिगी छ
अक्षत योनिमा दृष्टिपात गर्ने
छाडा साँढेहरु कुइनेटो कुरेर
उखुबारीमा ढलाइएका कैयन निर्मलाको कथाले
दुर्गा बन्न चाहन्थे
रणचन्डी बनेर छातीमा त्रिशूल रोप्न चाहन्थे
चण्डमुन्डहरुको
तर हारेँ म
आमा तिमी नहार्नू
तिम्रो बात्सल्यता खोस्नेलाई,
तिम्रो काख रित्याउनेलाई
जबसम्म चिन्ने छैन दुनियाँले ।।
आमा समयले
सवुत माग्ने छ कुनै दिन
त्यसैले
बलात्कृत समयको साक्षी मेरा पुस्तकका पानाहरु खुल्लै रहन दिनू
पापीसँग प्रतिकार गर्दा च्यातिएको
चप्पलका तुनाहरु वेवारिसे नफ्याँक्नु गल्लीमा
जीवनको चक्र रोकिने कठोर समयमा
छेवैमा लडिरहेर साथ दिने मेरो साइकल
कसैलाई दान नदिनु
जबसम्म
पँहुच र पैसाले निर्मलाको कौमार्य लिलामीको
बढाबढ भइरहनेछ । ।
आमा हिम्मत गर्नू, नहार्नू समयसँग
र जतन गरेर राख्नु
अस्तित्व रक्षाको प्रतिरोधमा थाकेपछि
सृष्टिको मूल थलो च्यातिएर लुछुप्पै परेको कुर्ताको फेरो
जबसम्म
कुनै झुण्डको झन्डा ओढेर
अदालत पस्ने न्यायमूर्तिको खरिद बिक्री रोकिने छैन ।
तबसम्म नबगाउनु मेरो अस्तु गंगामा
आमा यदि हार्यौ भने तिमी पनि
फेरि निर्मलाहरु उखुबारीमा राक्षसको शिकार भइरहनेछन्
कोपिलामै निमोठिने छन् फूलहरु
त्यतिबला निर्मलाले क्षमा गर्ने छैन
र आत्मा भडकिरहनेछ त्यही उखुबारी वरिपरी ।।
भिडियोमा कविता