बल्खु तरकारी बजारमा बिहानै सरकारको छापा, व्यापारी पक्राउ
काठमाडौँः सरकारी टोलीले सोमबार बिहानै बल्खुस्थित तरकारी बजारमा छापा मारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले सोमबार बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको हो । विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अवरोध गरेपछि झडपको अवस्था उत्पन्न भएको थियो ।
व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र हुलहुज्जसमेत गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिएका छन् ।
यसअघि २०७३ असारमा अनुगमनमा पुगेका तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीमाथि त्यही बजारमा व्यापारी साहसहितले बन्दगोभी लगायत तरकारीले हानेका थिए ।
अनुगमन गर्न पुगेको टोलीले प्रमाणित नगरेका ढक र तराजुहरु उठाएपछि तरकारी व्यापारीहरुले आक्रमण गरेका थिए । त्यो बेला पनि व्यापारी साहसहितले अनुगमन टोलीमाथि इट्टा, लौका, मुला र पानीको बोत्तलले आक्रमण गरेका थिए ।
साहलाई पक्राउ गरेपछि व्यापारीहरुले बजार भित्र र बल्खु चोकमा निस्केर बिरोध प्रदर्शन गरेका छन् । सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ ।
त्यहाँका अधिकांश व्यापारीले बाहिरबाट कृषकसँग तरकारी किनेर ल्याउँदा कुनै प्रकारको बिलसमेत नराखेको भेटिएको छ । अनुगमन टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा आजै आएर स्पष्टिकरण दिन निर्देशन दिएको छ ।
बल्खु तरकारी बजार कम्पनी ऐन अन्तरर्गत खोलिए पनि त्यहाँको अधिकांश कारोबार अवैध पाइएको हो । यसअघि सरकारले कालिमाटी तरकारी बजारमाा हस्तक्षेप गरेर त्यहाँ बिचौलियाले चलाएका ९८ वटा स्टल खारेज गर्ने निर्णय गरेको थियो ।