दिवंगत आफन्तको सम्झनामा निकालियो ख्याग
ताप्लेजुङ : नेवार समुदायले ताप्लेजुङमा पनि गाईजात्रा पर्व मनाएका छन्। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा ख्याग निकालेर गाईजात्रा मनाइएको हो। नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा निकालिएको ख्याग र लाखेनाचसहित फुङलिङ बजार परिक्रमा गरिएको थियो। मृत्यु भएको एक वर्ष नपुगेका हिमाल श्रेष्ठ, काजिबहादुर श्रेष्ठ, नरमाया श्रेष्ठ र विरबहादुर श्रेष्ठको ख्याग निकालिएको समाजका अध्यक्ष निरोज श्रेष्ठले बताए।
रामायणको झल्को दिने गरी प्रत्येक मृतकको सम्झानामा पाँच पाण्डव, गाईको स्वरुपमा पञ्चकन्या निस्किएका थिए भने स्मृति गान समेत गाइएको थियो।
यसरी परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको श्रेष्ठले बताए। गाइजात्राको कार्यक्रममा नेवार सहित लिम्बू, राई, क्षेत्री, बाहुन, शेर्पालगायत सबै समुदाय सहभागी थिए। ख्यागलाई फुङलिङ ६ को हिरेवा पहिरोमा लगेर सेलाइएको छ।