भाइबहिनीहरु किताबी ज्ञान मात्रै लिँदैनन्
काठमाडौँ : स्कुले भाइबहिनीहरुलाई किताबको बोझ मात्रै बोकाउने गरेको आरोप पछिल्लो समय लाग्ने गरेको छ । विशेष गरी निजी विद्यालयहरुले कोरा कितावी ज्ञान मात्रै सिकाउने गरेको आरोप लागिरहेका बेला व्यवहारिक ज्ञानको पनि अभ्यास गराउन थालिएको छ ।
भाइबहिनीहरुलाई सानैबाट अनुशासनसँगै व्यवहारिक ज्ञानको अभ्यास पनि निजी विद्यालयहरुले गराउन थालेका छन् । काठमाडौँको नरेफाँटस्थित लालीगुराँस बाटिका स्कुलले आफ्ना विद्याथीहरुलाई पशुपतिनाथ परिसरस्थित वृद्धाश्रममा लगेर व्यवहारिक ज्ञान दिने प्रयास गरेको छ ।
१० कक्षाका आफ्ना २३ जना विद्यार्थीहरुलाई वृद्धाश्रम परिसरमा सफाइसँगै वृद्धवृद्धाहरुसँग घुलमिल गराएर व्यवहारिक ज्ञान सिकाइएको स्कुलका प्रिन्सिपल हरि शिवाकोटीले बताए ।
उनले विद्यार्थीहरुलाई कितावीसँगै व्यवहारिक ज्ञान तथा सामाजिक विषयमा घुलमिल गराउन यस्तो अभ्यास नियमित गराउन थालिएको जानकारी दिए । स्कुलले विद्यार्थीहरुलाई विभन्न दिवस तथा पर्वका अवसरमा नगर सफाइ तथा अन्य सामाजिक काममा पनि सक्रिय गराउँदै आएको छ ।