पाल्पामा पनि गाईजात्रा मनाइयो (तस्बिरसहित)
पाल्पा : पाल्पामा आज बिहानैदेखि गाईजात्रा निकालिएको छ। दिवंगत भएका घरपरिवारबाट विभिन्न शैलीमा बिहानैदेखि सदरमुकाम तानसेनलगायत आसपासका नेवारी बस्तीमा गाईजात्रा निकालिएको हो।
विशेषगरी नेवारी परम्परा अनुसार वर्ष दिनभित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा घरपरिवारले गाई जात्रा निकाल्ने परम्परा रहँदै आएको छ। गाईजात्रा निकाल्ने घरबाट भगवान राम, सिता, लक्ष्मण, कृष्ण, राधाको रुपमा बालबालिकालाई सिंगारेर भजन, रामायाण गाउँदै दिवंगत आत्माको शान्तीको कामना गर्दै टोल छरछिमेक र बजार घुमाए।
तानसेनमा निकालिने हरेक गाईजात्रा पाल्पा दरवारमा लैजाने परम्परा आजसम्म पनि कायम रहेको छ । सरकारी निकायको प्रमुख थलो मानिएको दरवारमा गाईजात्रा नदेखाएमा सरकारले मृतकहरुको रेकर्ड राख्न सक्दैन भन्ने परम्परागत मुल्य मान्यताका साथ दरबारमा गाईजात्रा लगिने गरिएको हो।
गाईजात्राका दिनको स्वर्गको दोस्रो ढोका खुला हुने भएकोले मृत आत्माको चीरशान्तीको कामना गर्दै भजन किर्तन गाउँदै बजार परिक्रमा गर्ने चलन रहेको संस्कृतिका जानकार राजेन्द्र गोपाल सिंहले बताए।
राजा प्रताप मल्लले शोकमा परेकी रानीलाई अनेक कोशिस गर्दा समेत सम्झाउन नसकेपछि तिमी लाई जस्तो पीडा जनतालाई पनि परेको छ भनी बुझाउन र वर्षभरीमा आफ्नो राज्यमा मृत्यु भएका जनताको बारे सूचना प्राप्त गर्नका लागि मृतकको घरबाट गाईजात्रा निकाल्ने परम्परा रहिआएको हो।
आर्थिक अभाव कम भएका घरपरिवारले भने गाईलाई डोर्याएर बजार परिक्रमा गरी गाईजात्रा मनाउने गरेका छन्। पाल्पाको सदरमुकाम तानसेन, सहित हार्थोक, रिडी, ताहु, ,सिलुवा, विरकोट लगायतका गाउँमा पनि गाईजात्रा निकालिएको छ। पाल्पामा नेवारीसँगै अन्य जात जातिका समुदायमा नेवारी परम्पराको सिको गर्दै गाईजात्रा निकालिएको हो। तानसेनका स्थानीय कलाकारले बजारको चोक चोकमा समाजमा देखिएका विकृती विसंगतिमाथि ब्यंग्य गर्दै रमाइलो गरेका थिए।