समावेशी गाईजात्रा

समावेशी गाईजात्रा

ताप्लेजुङ/धनकुटा : गाईजात्रा र लाखे नाचलाई नेवार समुदायले मनाउने पर्वका रूपमा लिइन्छ। ताप्लेजुङमा भने ठूलो संख्यामा नेवारसहित अन्य समुदायको पनि संलग्नतामा गाईजात्रा मनाइएको छ।

कार्यक्रम नेपाल भाषा तथा सांस्कृतिक समाजले आयोजना गरे पनि सबै समुदाय लाखे नाच र गाईजात्रामा सहभागी हुन्छन्। जिल्ला सदरमुकाम फुङलिङमा सोमबार आयोजित गाईजात्रा पनि यस्तै समावेशी प्रकृतिको देखियो। नेवारसहित लिम्बू, राई, शेर्पा, क्षेत्री, बाहुन र दलितसमेत कार्यक्रममा समावेश थिए।

‘अरू जिल्लाभन्दा यहाँ गाईजात्रा मनाउने तरिका फरक छ’, समाजका अध्यक्ष निरोज श्रेष्ठले भने, ‘पछिल्ला वर्ष नेवार मात्र नभई गैरनेवार पनि हाम्रो कार्यक्रममा सहभागी भएर सहयोग गरिरहनुभएको छ।’

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा ‘ख्याग’ निकालेर ताप्लेजुङमा गाईजात्रा मनाइएको हो। समाजको आयोजनामा निकालिएको ख्याग र लाखेनाचसहित फुङलिङ बजार परिक्रमा गरिएको थियो। गत वर्षको गाईजात्रायता मृत्यु भएका हिमाल श्रेष्ठ, काजीबहादुर श्रेष्ठ, नरमाया श्रेष्ठ र वीरबहादुर श्रेष्ठको ख्याग निकालिएको अध्यक्ष श्रेष्ठले सुनाए। यस वर्षको गाईजात्रालाई ‘ श्रद्धाञ्जली गीति यात्रा’ नाम दिइएको छ।

ताप्लेजुङ सदरमुकाममा सोमबार गाईजात्रा मनाइँदै। सीताराम गुरागाईं

समाजसहित किरात याक्थुङ चुम्लुङका कलाकार, गायक सुरज मादेन, माधव प्रधान र सावला मादेनले श्रद्धाञ्जली गीत प्रस्तुत गरेका थिए। गीतमा मृतकको जीवनी समेटिएको कलाकार प्रधानले सुनाए।

रामायणको झल्को दिने गरी प्रत्येक मृतकको स्मरणमा पाँच पाण्डव, गाईको स्वरूपमा पञ्चकन्या निस्किएका थिए। ‘पुरुषलाई महिलाको स्वरूप दिइएर पञ्चकन्या बनाउने गरिन्छ’, प्रधानले भने, ‘यसरी परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास छ।’

लिम्बू बाहुल्य जिल्लामा लाखे नाचसँगै धाननाचसमेत प्रदर्शन गर्दै आपसमा प्रेम साटासाट गरिएको थियो। ‘यसरी सबै मिलेर लाखे नाच, गाईजात्रा, धान नाच प्रस्तुत गर्दा यी पर्व कुनै जातिविशेषको नभई सबैको हो भन्ने लागेको छ’, लामो समयदेखि रोपाइँ जात्रामा सहभागी बन्ने गरेका तारानाथ सिग्देलले भने, ‘यसले जातीय सद्भाव अझ बलियो बनाएको छ।’

ख्यागलाई बजारनजिकै हाङ्देवा खोलामा लगेर सेलाइएको छ। जात्रा सुरु भएको मिति यकिन नभए पनि पुस्तौंदेखि चल्दै आएको समाजका सदस्य शंकर श्रेष्ठले बताए।

धनकुटामा २२ परिवारले निकाले गाईजात्रा

दिवंगत आफन्तको सम्झना गर्दै नेवार समुदायले सोमबार धनकुटा सदरमुकाम बजारमा गाईजात्रा निकालेका छन्। एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा मान्छेलाई गाईका रूपमा सिँगारी धनकुटा बजार परिक्रमा गराइएको हो।

धनकुटा नगरपालिका–७ श्रीवानीमा भेला भई सुरु भएको र्‍याली मदन चोक, बीच बजार, सिरान बजार, भीमनारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा पुगेर टुंगिएको थियो। धनकुटा नगर क्षेत्रका नेवार समुदायका २२ परिवारले गाईजात्रा निकालेको जनाइएको छ। राजा प्रताप मल्लले शोकमा रहेकी रानीलाई चित्त बुझाउन गाईजात्रा निकाल्ने चलन सुरु भएको इतिहास रहेको स्थानीय मनोजनारायण श्रेष्ठले बताए। यस दिन स्वर्गको द्वार खुल्ने भएकाले गाईमार्फत स्वर्गमा पुग्ने विश्वास रहेको उनको भनाइ छ।

एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी बजार परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ। यसरी नगर परिक्रमा गर्नाले दिवंगत व्यक्ति गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.