निहारिकालाई मदन पुरस्कार
साहित्यकार नीलम कार्की निहारिका सानो छोरालाई गाडीमा राखेर स्कुल पुर्याउँदै थिइन् । त्यतिकैमा प्रकाशकले निहारिकाको नयाँ कृति योगमायाले मदन पुरस्कार पाएको खबर सुनाएपछि उनी खुसीका साथै निकै भावकु पनि भइन् । गाडी चलाउँदै गरेकी आफ्नी आमाका आँखामा आँशु देखेर छोरा अचम्ममा परेका थिए ।
मदन पुरस्कार पाउँदाको खुसी आँशु बनेर बगेको थियो । त्यतिबेला उनले आफूलाई किताब लेख्दा सहयोग गर्ने सबैलाई सम्झिइन् । साथसाथै आफ्ना दाइ र बाबुलाई सम्झिएकी निहारिकाले भक्कानिँदै अन्नपूर्णसँग भनिन्,‘ मैले मदन पुरस्कार पाएको थाह पाएर मेरा दाई र बुबा कत्ति खुसी हुनुहुन्थ्यो होला । ’
उनले पद्म श्रीबापत पाएको रकमबाट अक्षय कोष स्थापना गरेकी थिइन् । मदन पुरस्कारबाट पाउने रकमले के गर्नुहुन्छ त भन्ने जिज्ञासामा उनले भनिन्,‘ अहिले सोचिसकेको छैन । पक्कै पनि त्यस्तै केही काम गर्छु होला ।’
आफूले पाएको पुरस्कार महिलाले पनि पुरुषसँग बराबरीमा लेख्न सक्छन् भन्ने विषयको उदाहरण मान्छिन् निहारिका । समाज परिवर्तनको केही समयसम्म कोटा प्रणालीमा गए पनि कोटामा नपरेर महिला खुला प्रतिस्पर्दामा पनि आउन सक्छन् भन्ने निहारिकाको भनाई छ ।
पारिजात, झमक कुमारी, राधा पौडेल पछि मदन पुरस्कार पाउने निहारिका चौथो महिला साहित्यकार हुन् ।