बाँकेमा रोकिएन बालविवाह
होलिया, बाँके : डुडुवा गाउँपालिका–१ होलियाकी साढे १४ वर्षकी पूजा यादवको भर्खरै बिहे भयो। उनले बिहे गर्दासम्म नेपालको कानुनमा बिहे गर्न महिलाको उमेर १८ र पुरुषको उमेर २० वर्ष थियो।
भारतको श्रावस्ती जिल्लाको जमुनाहाका आफूभन्दा एक वर्ष जेठा केटासँग उनको बिहे भयो। जबकि उनका जेठा दाजु मयंकर, माइला रामकरण र कान्छा कैलाश सबैले २० वर्षपछि मात्र बिहे गरेका थिए। सुरुमा साढे १४ वर्ष भनेकी उनले उमेर बढाएर १८ भएको दाबी गरिन्। संवाददाताले ‘बिहे गर्ने उमेर कति हो ? ’ भनेर सोध्दा उनले १८ भएको बताइन्।’ त्योभन्दा कम उमेरमा गर्दा के हुन्छ ? ’ उनको जवाफ थियो, ‘पुलिसले पक्रेर लग्छ।’
पूजाका छिमेकी राजेन्द्र यादव पनि १८ वर्षको उमेरमा बिहे गरेर २४ वर्षमै तीन छोराका बाबु बनिसकेका छन्। जबकि १८ वर्षमा उनले बिहे गर्नु पनि कानुनविपरीत हो। राजेन्द्रको जेठो छोरा ५ वर्षको भइसकेका छन्। भन्छन्, ‘हाम्रो जातमा सानैमा बिहे गर्ने चलन छ। अहिले १८ वर्षमा बिहे गर्छन्। केटीको उमेर अझै कम हुन्छ।’ डुडुवा–२ कन्धैपूर्वाका ६३ वर्षका सुन्दर धोबी भन्छन्, ‘पहिले–पहिले त ७÷८ वर्षमै केटीको बिहे हुन्थ्यो। अहिले १८ वर्ष कम उमेरमा बिहे गरे जेल हाल्छन् भन्ने सुनेको छु।’
जिल्लाका मधेसी समुदाय त्यसमा पनि अशिक्षित र पछाडि पारिएको समुदायमा अझै पनि बालविवाह कायमै छ। किन त ? ‘२० वर्षसम्म कसले घरमा छोरी रोकेर राख्न सक्छ ? ’ कन्धैपूर्वाका बयान चमारले भने, ‘जो रोक्न सक्छ, रोकोस्। नत्र भने जान्छन्।’
बढेकी छोरीको समयमै बिहे नगर्ने हो भने जात नमिल्ने केटासँग प्रेम विवाह गर्छन् र समाजमा इज्जत जाने अभिभावकमा डर छ। बयान चमारको चिन्ता पनि त्यही हो। उनले त्यसो भनिरहँदा सडक किनारमा भेला भएका अरू स्थानीय उनलाई कानुनको कुरा सिकाइरहेका थिए, ‘१८ वर्षभन्दा कम उमेरमा बिहे गर्न मिल्दैन भन्ने तिमीलाई थाहा छैन।’
बढेकी छोरीको समयमै बिहे नगर्ने हो भने जात नमिल्ने केटासँग प्रेम विवाह गर्छन् र समाजमा इज्जत जाने अभिभावकमा डर छ।
संवाददाताले बिहे गर्ने उमेर सोध्दा उनीहरूले महिला र पुरुष दुवैको १८ वर्ष मात्र रहेको बताए। सबैलाई विगतको कानुनमा पनि पुरुषको बिहे गर्ने उमेर २० भन्ने थाहै थिएन। १८ भन्दा कम उमेरमा बिहे गर्दा प्रहरीले पक्राउ गर्ने र जेल जानुपर्ने डर सबैमा थियो। सँगै बसेका राम जवान धोबीले कम उमेरमा बिहे गर्न खोज्दा एउटाको बिहे रोकिएको अनुभव सुनाए।
डुडुवा गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्रप्रसाद कैराती गाउँघरमा बालविवाह हुने गरेको बताउँछन्। बेतहनीस्थित वडा कार्यालयबाहिर भेटिएका कैरातीले भने, ‘सानो उमेरमा बिहे गर्नुहुन्न भन्ने धेरैलाई थाहा छ, तैपनि अझै १० प्रतिशत लुकी चोरी बालविवाह भइरहेको छ।’
उनका अनुसार तराई मधेसी समुदायका लोनिया, गोडियाका साथै दलितको सूचीमा रहेका धोबी, चमार, कटिक, पासी, कोरी समुदायमा बालविवाह कायमै छ। बालविवाह कायमै रहनुको कारण उनी अशिक्षा र जनचेतना अभाव ठान्छन्। जिल्ला समन्वय समिति बाँकेका अनुसार जिल्लामा ६५ प्रतिशत मात्र साक्षरता छ। महिलाको साक्षरता भने ५९ प्रतिशत छ। भन्छन्, ‘छोरीलाई २० वर्षसम्म रोकेर राख्नै गाह्रो हुन्छ। अहिलेको कानुन कार्यान्वयन हुने हो भने प्रेम विवाहको दर बढ्ने देखिन्छ।’
जिल्ला बाल क्लब सञ्जाल बाँकेले प्रहरीको सहयोगमा बालविवाह हुँदै गर्दा र १८ वर्षमुनिको बालविवाह रोकेको छ। जिल्लाका विभिन्न स्थानीय तहमा करिब ३ सय बाल क्लब बालविवाहविरुद्धको अभियानमा सक्रिय छन्। क्लबकी जिल्ला अध्यक्ष मेनका रावत साउनमा मात्र आधा दर्जन बालविवाह रोकेको बताउँछिन्। जसमा नेपालगन्जका मात्र ५ वटा थिए।
उनले भनिन्, ‘क्लबले प्रहरीको सहयोगमा बालविवाह रोक्नुका साथै जनचेतना जगाउने सडक नाटक, पर्चा पम्प्लेट वितरण पनि गरिरहेको छ।’ जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बाल सेवा केन्द्रकी प्रसनी श्यामकुमारी मगरका अनुसार जिल्लाभरि गत वर्ष २० वटा बालविवाह रोकिएका थिए।
क्लबको पूर्वअध्यक्ष श्वेता गुरुङका अनुसार गत वर्ष मात्र १७ वटा बालविवाह विभिन्न बाल क्लबले प्रहरी सहयोगमा रोकेका थिए। ‘जिल्लामा बालविवाहको अवस्था भयाभह छ। फागुन र माघमा बढी बालविवाह हुन्छन्’, गुरुङले अनुभव सुनाइन्, ‘नेपालमा बिहे गर्न मिल्दैन भनेपछि प्रहरीलाई छलेर भारत गएर पनि बिहे गर्छन्। कतिले उमेर ढाँटेर पनि बिहे गरेको पाइएको छ।’
मुलुकी ऐन विस्थापित गरी जारी गरिएको नयाँ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा कम उमेरका केटाकेटीको विवाह गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाका साथै विवाह पनि स्वतः बदर हुने व्यवस्था छ।