बिमस्टेकका प्रथम महिलाहरुले पाटनको भ्रमण गर्ने
ललितपुर : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी (बिस्टेक) सम्मेलनमा नेपालमा आउन लागेका मुलुकका प्रथम महिला १५ गते दिउँसो पाटन आउने भएका छन् ।
प्रथम महिलाले पाटन दरबार स्क्वायर, गोल्डेन टेम्पल घुम्ने र लगनखेलस्थित औद्योगिक क्षेत्र जान सक्ने जिल्ला प्रशासन कार्यालय ललितपुर प्रमुख प्रेमराज जोशीले बताए । उनका अनुसार प्रथम महिला १५ गते दिउँसो पाटन दरबारस्क्वायर तथा गोल्डेन टेम्पल घुम्न आउने भएका हुन्।
जोशीले भने ‘उनीहरु सपिङका लागि लगनखेलस्थित औद्योगिक क्षेत्र जाने कुरा पनि भइरहेको छ, निश्चित भइसकेको छैन ।’ उनले औद्योगिक क्षेत्र ह्यान्डीक्राफ्टका उत्पादन तथा खरिदका लागि उत्कृष्ठ स्थान भएकाले प्रथम महिला सपिङका लागि जान सक्ने बताएका हुन्।
प्रथम महिलाको सुरक्षाका लागि ट्राफिक र सुरक्षा व्यवस्थापनमा विषेश ध्यान दिइने बताइएको छ । जोशीले उनीहरुको सुरक्षालाई मध्यनजर गर्दै सो क्षेत्रमा सवारी बन्द हुन सक्ने जानकारी दिए । कुन–कुन मुलुकका प्रथम महिला पाटन आउने भन्ने सुनिश्चित भइनसकेको जोशीले जानकारी दिए ।