वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला, निशुल्क मेहन्दीदेखि एयर अरेबियाको टिकट
काठमाडौं : डीइसीसी नेपालको आयोजनामा काठमाडौंमा तीज मेला हुने भएको छ।हिन्दु नारीको महान् चाड हरितालिका अर्थात् तीजको अवसर पारेर भदौ १४ देखि १७ गतेसम्म त्रिपरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको चौंथो तल्लामा मेला हुने डीइसीसीले जनाएको छ।
'व्यवसाय तथा औद्योगिकरणमा हाम्रो ध्यान, महिला सशक्तिकरण हाम्रो अभियान' मुल उद्देश्यका साथ आयोजना हुन लागेको डीइसीसीको यो ११ औं तीज मेला हो। मेलामा महिला उद्यमीले आफ्ना उत्पादित वस्तुहरुलाई प्रदर्शनमा राख्न सक्नेछन् र महिला विकास र महिलाको सीपमुलक कार्यलाई उजागर गरिने जनाइएको छ।
महोत्सव महिला उद्यमीका लागि आफ्नो कला झल्काउने तथा आफ्ना अनुभव एक आपसमा बाँड्ने प्रमुख थलो भएको आयोजकले जनाइएको छ। ८० भन्दा बढी स्टल रहने उक्त मेलामा निशुल्क मेहेन्दी स्टल र आँखा जाँचको पनि व्यवस्था हुनेछ।
मेलाको मुख्य आकर्षकको रुपमा स्वदेशी तथा विदेशी वस्तुहरु, कस्मेटिक्सका साथै गरगहना, प्रत्येक दिन लक्की ड्रका उपहार, एयर अरबियाको टिकट, आगन्तुकलाई होम अपलाइन्सको उपहार, मोबाइल उपहार र फ्री मेकअप, हेयर कट, नेल कट,फेस पेन्टिङ तथा सेल्फी कर्नर रहेका छन्।
मेलामा तीजका साथै आउँदै गरेको दशैं तथा तिहार पर्वका लागि आवश्यक सामग्री पनि उपलब्ध हुनेछन्। खाना पारखीका लागि विशेष तीज परिकारसहित फुट स्टल रहनेछन्। मेलाको अन्तिम दिन दर कार्यक्रमको आयोजना गरिने आयोजक पक्षले बताएको छ।
मेलामा करिब ४० हजार अवलोकनकर्ताको सहभागीता रहने आयोजकको अपेक्षा छ। मिडिया पार्टरमा अन्नपूर्ण पोष्ट, एपी वान टिलिभिजन र देश सञ्चार रहेका छन्।