भन्सार छलेर ल्याएका १२ लाख बराबरको कपडा बरामद
परासी : पश्चिम नवलपरासी जिल्ला प्रहरीले १२ लाख बराबरको कपडासहित सोमबार राति एक पिकअप भ्यान बरामद गरेको छ। भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले सरावल गाउँपालिकाको भूजहवाबाट एक हजार ७७ पिस लेडिज कुर्ता र दुई हजार २ सय ६१ मिटर कपडा बरामद भएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
बा १५ च २०२० नंम्बरको पिकअप भ्यानमा ल्याउँदै गरेको अवस्थामा बरामद भएको उक्त कपडा आन्तरिक राजश्व कार्यालय भैरहवा पठाइएको भट्टले बताए।
कपडा बरामद भएपछि कारोबारमा संलग्न व्यक्तिले दुई दिन अगाडी भन्सार गरेको कागज देखाएका थिए। भन्सार गरेकै दिन कपडा नलगेका कारण प्रहरीले भन्सार चोरी गरेको भन्दै गाडीसहित कारबाहीका लागि राजश्व कार्यालय पठाएको हो।
सीमा क्षेत्रबाट एक पटक भन्सार गर्ने र सोही भन्सार कागज देखाएर पटकपटक अवैध सामान ल्याउने गरिएको छ। अवैध सामान भित्रिन थालेपछि प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई कडा पारेको छ।