पप्पु कन्ट्रक्सनले आठ वर्षमा पनि बनाएन कमला पुल
सिन्धुली : शनिवार सिन्धुलीको कमला नदीले बगाउँदा दुधौली नगरपालिका–२ का ६५ वर्षीय मलेशी दनुवारको ज्यान गयो । त्यही दिन कमलाकै भेलमा बगेका दुधौली–१ का ५२ वर्षीय धनबहादुर आलेलाई स्थानीयले उद्धार गरेर बचाउन सफल भए । केही दिन अघि मात्र त्यही ठाउँबाट बगाउँदा अन्य दुईजनाको ज्यान गइसकेको छ ।
शनिवारै रौतहटको गौर नगरपालिका–४ टिकुलिया घाटमा डुङ्गा दुर्घटना हुँदा २५ जना बगे । उनीहरुमध्ये २० जनालाई स्थानीय र सुरक्षा निकायले उद्धार गर्न सफल भएपनि पाँचजनाको ज्यान गयो ।
यता सिन्धुलीमा खेतबारीको काम गरेर घर फर्ने क्रममा ज्यान गुमाएका दनुवार र भेलले बगाएका आलेको वर्षौंदेखि कमलाको उर्लँदो भेलमा पौडिएर वारपार गर्नुको विकल्प थिएन ।
सिन्धुली कमला र रौंतहटको गौरस्थित टिकुलिया घाटको घटना प्रतिनिधि घटना मात्र हुन् । पप्पु कन्स्ट्रक्सनले करोडौं रुपैयाँमा पक्की पुल बनाउन ठेक्का साकार गरेको वषौं बित्दा पनि काम नगर्दा अकालमा ज्यान गुमाएका हुन् ।
कमलामा बाढी आउँदा नदी वारपार गर्ने अर्को विकल्प छैन । स्थानीयको वर्षौंदेखिको मागपछि पक्की पुल निर्माण गरेर सुविधा दिने घोषणासहित विश्व बैङ्कको अनुदान ३२ करोड रुपैयाँको लागतमा सिन्धुलीको रानीबास र हत्पते जोड्ने गरी आर्थिक वर्ष २०६८/०६९ बाट निर्माण थालिएको थियो ।
सिन्धुली सदरमुकाम तथा कमलाखोँज हुँदै उदयपुर र पुर्वी पहाड जोड्ने गरी कमलामा देशकै दोस्रो लामो पक्की पुल निर्माण थालिए थियो । पुल बन्ने भएपछि यस क्षेत्रका बासिन्दा कम्ता खुसी थिएनन् ।
तर, निर्माण थालिएको ८ वर्षसम्म पुलको ४० प्रतिशत पनि काम नहुँदै ठेकेदार काम छाडेर भागेपछि पप्पु कन्स्ट्रक्सनको पुल ‘काल’ नै बनेको छ । कन्स्ट्रक्सनले निर्माण ठेक्का पाएका कमला र टिकुलिया घाट जस्तै देशभरका सातवटा पुल काल नै बनेको स्थानीयको भनाई छ ।
पप्पुकै लापरबाहीका कारण वर्षौंदेखि निर्माण अलपत्र पुलका कारण सिन्धुली र टिकुलीमा दर्जनौंको ज्यान गइसकेको छ । पुल निर्माण थालेपछि मात्र सिन्धुलीमा २७ जना भन्दा बढीको ज्यान गइसकेको दुधौली नगरपालिकाका मेयर घनश्याम राउत बताउँछन् ।
‘कमलानदीमा पुल निर्माण थालेयता मात्रै पुल निर्माण थालिएकै ठाउँबाट बगाउँदा जिल्लाका २७ जना भन्दाबढीको ज्यान गइसकेको छ’, उनले भने, ‘पप्पुका पुलहरु समयमा नबन्दा तिनै पुल ‘काल’ बनेका छन् ।’
देशैभरका ठुला नदीमा पक्की पुल निर्माणको जिम्मा लिएको पप्पु कन्स्ट्रक्सनले निर्माण अलपत्र छाडेर हिँड्दा वर्षेनि दर्जनौं सर्वसारधणको अकालमै ज्यान जाने गरेको छ ।
उक्त कन्स्ट्रक्सनले सिन्धुलीको कमला पुल, रौतहटको टिकुली पुल, रातु पुल, औरही पुल, तिलावे पुल, नौरंगिया पुल र फुलजोर पुल गरी सातवटा पक्की पुल निर्माणको जिम्मा लिएको थियो ।
यी सातै पुलको निर्माण सम्पन्न गर्नुपर्ने समय गुज्रेको पनि ३ देखि ६ वर्ष भइसकेको छ । ८८ करोड ५५ लाख रुपैयाँमा ठेक्का साकार गरेको कन्स्ट्रक्सनले कामै नगरेको सडक विभाग अन्तरगत पुल महाशाखाको दावी छ ।
उक्त कन्स्ट्रक्सनका डाइरेक्टर हरिनारायण रौनियार प्रतिनीधि सभा सदस्य हुन् । संघीय समाजवादी फोरमबाट पर्साको निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।
ठेकेदार नेता रौनियारको पप्पु कन्स्ट्रक्सनले निर्माण अलपत्र पारेका पुल समयमा निर्माण सम्पन्न नहुँदा काल बनेको दुधौली नगरपालिका–१ हतपतेका स्थानीय रेखराज दाहालको भनाइ छ । यद्यपि हरिनारायणले आफू पप्पुबाट बाहिरिइसकेको दाबी गरेका छन् ।
केही दिन अघिमात्र सर्पले डसेर विरामी दुधौली नगरपालिका–६ की जानुका कार्कीको उपचारका लागि महोत्तरीको बर्दिवासतर्फ लैजाने प्रयास गरियो । तर कमलामा आएको बाढी छिचोल्न नसक्दा उनको मृत्यु भयो ।
‘कमला नदीमा पुल बनेको भए कार्कीलाई बचाउन सकिन्थ्यो नि । पुल नहुँदा नदी तर्न सकिन्न । विमारी हुँदा अन्य आपतका बेला नदीमा हेलिनुपर्ने बाध्यता छ’, उनले भने, ‘सरकार निर्माण कम्पनीलाई काम सक्न लगाउन पनि सक्दैन । जनता पुलको खम्बा हेर्दै नदीमा हेलिन्छन् कति पारी पुग्छन् त कतिलाई नदीले निल्छ । पप्पुका पुल हाम्रा लागि ‘काल’ बने ।’
हेटौंडा—सिन्धुली—गाईघाट—चतरा वैकल्पिक सडकखण्ड अन्तर्गत पर्ने उक्त पुल डबल लेन अर्थात ६ मिटर चौडाई र ५ सय ४६ मिटर लामो निर्माण गर्नुपर्ने प्राविधिक स्टमेटमा उल्लेख छ ।
राजनीति आडमै ठेक्का पाउने र निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्री रामबहादुर थापाले गरेको उद्घोष पनि भाषणमै सीमित भएको स्थानीयको गुनासो छ ।
कमला नदीको पुल निर्माणको जिम्मा लिएको रौनियारको पप्पु कन्स्ट्रक्सनले आर्थिक वर्ष २०७२/०७३ भित्रै सकिसक्नुपथ्र्यो । तर, करोडौं रुपैयाँ पेस्की रकम भुक्तानी लिँदै पटक पटक म्याद थप गरेर पनि काम हुन सकेपछि जनताले सरकारमाथि नै पश्न गर्न थालेका छन् ।
कन्स्ट्रक्सनले निर्माण पाएका पुलको काम पुनः सञ्चालन गर्न पटक पटक म्याद थप गरेर अटेर गरेको सडक विभागका एक इन्जिनियर बताउँछन् । कम्पनीले समयमा पुल निर्माण नगर्दा ज्यान गुमाएका आफन्तले प्रधानमन्त्री केपी शार्मा ओलीलाई पत्रसमेत लेखेका छन् ।