प्रधानमन्त्रीको सुरक्षामा विप्लवका असल खड्काको थ्रेट ?
काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता लेनिन विष्टलाई थाइल्याण्ड जान लाग्दा केही दिनअघि अध्यागमनले रोक्यो । सरकारलाई जानकारी नगराई गएको भन्दै पत्र थमाएर विष्टलाई विमानस्थलबाट फर्काइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत चासो राखे।
प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयसँग विष्टलाई रोकेकेबारे स्पष्टीकरण मागेको छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका समयमा बालसैन्य भर्ती गरेको भन्दै विष्टले विरोध गर्दै आएका थिए । थाइल्याण्डमा हुने युवा सम्मेलनमा उनले बालसैन्यकै मुद्दा उठाउने सूचना पाएपछि गृहमन्त्री रामबहादुर थापा बादलले उनको भ्रमण रोकेका थिए । विष्टलाई एक आईएनजीओको खर्चमा थाइल्याण्ड लैजाने योजना रहेको गृह स्रोतको दावी छ।
धमाधम पक्राउ
विष्ट मात्रै सरकारको निशानामा परेका विप्लवका कार्यकर्ता होइनन् । यसअघि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, भोजपुरका पदमबहादुर राई, मोरङका मोहन कार्की, काभ्रेका कृष्ण धमला, भोजपुरका किरण राई, दिपेश राई, भक्तपुरका आजाद केसी, सल्यानका असल खड्का भनिने चन्द्रबहादुर खड्का र रुपन्देहीका देवनारायण साह पक्राउ परिसकेका छन् । विश्वकर्मालाई सुरुमा चन्दा असुली आरोप लगाइयो । अहिले नुवाकोटमा आगजनी मुद्दा चलाइएको छ ।
प्रधानमन्त्रीमाथि नै थ्रेट
सल्यानका चन्द्रबहादुर खड्का ‘असल’ लाई प्रहरीको विशेष ब्यूरोले चार दिन अघि थानकोटबाट पक्राउ गरेको हो । तत्कालीन नेपाल कम्यूनिष्ट पार्टी माओवादी सेनाको ब्रिगेड कमाण्डरसमेत रहेका खड्काले विप्लवको निर्देशनमा सैन्य गतिविधि गर्न खोजेको आरोप गृहको छ ।
उनी नेकपाको केन्द्रीय सदस्य समेत हुन् । खड्कालाई नागढुंगाबाट पक्राउ गरेर रुपन्देही प्रहरीको जिम्मा लगाइएको छ । रुपन्देहीमा रहेको भारतीय पेन्सन क्याम्पमा आगजनी गरेको घटनामा उनको संलग्नता रहेको प्रहरी दाबी छ ।उच्च प्रहरी स्रोतका अनुसार खड्काको पछिल्ला गतिविधिले प्रधानमन्त्री ओलीको सुरक्षामासमेत थ्रेट हुनसक्ने देखिएपछि नियन्त्रणमा लिइएको हो । विप्लवको सैन्य जिम्मेवारी सम्हालेका उनीबाट प्रधानमन्त्रीको सुरक्षामा चुनौती भएपछि पक्राउ गरेर रुपन्देही पठाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताएका छन् ।
को हुन् असल खड्का ?
सल्यानका चन्द्रबहादुर खड्का ‘असल’ माओवादी जनयुदद्धका बेलामा कुशल लडाकु मानिन्थे । सेना प्रहरीविरुदद्धको आक्रमणमा उनले दर्जनौँ लडाइँमा सहभागी भएका थिए ।
नेपाल प्रहरीले उनलाई नागढंगाबाट पक्राउ गरेको विप्लवले पुष्टि गरेका छन् । प्रहरीले पक्राउ गरिएका खड्काको अवस्था पत्ता लगाउन परिवारले आग्रह गरेको छ ।
प्रचण्ड र बाबुरामले नेतृत्व गरेको माओवादीबाट मोहन बैद्ध किरण र रामबहादुर थापा अलग हुँदा चन्दबहादुर खड्का पनि किरण र बादलसँगै हिँडेका थिए । किरण र बादलबाट विद्रोह गरी नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी बनापछि खड्का पनि उनीसँगै नेकपामा आवद्ध भएका थिए ।
त्यसैगरी मंगलबार मात्रै काभ्रेमा आगजानी गरेको मुद्दामा फरार रहेको भन्दै शिलु भनिने नेकपा पोलिटब्यूरो सदस्य उमा भुजेललाई काठमाडौं प्रहरीले पक्राउ गरी काभ्रे पठाएको छ ।
विप्लवले गठन गरेका जनसत्ता अन्तरगत संसदकी सभामुख पनि रहेकी भुजेलले तत्कालीन माओवादी पार्टीमा ब्रिगेड कमाण्डर र कमिश्नारको भूमिका निर्वाह गरेकी थिइन् ।
विप्लव र प्रकाण्डसँग असल खड्का