पर्यटन विकास गर्न ४२ सय माथि म्याराथन
काठमाडौं : भिजन २०२० लाई सफल बनाउन ओखलढुङगा पर्यटन विकास समितिले चार हजार दुई सय मीटर बाट हाल्फ म्याराथनको आयोजना गरेको छ । २१ किलोमीटर दुरीको म्याराथन सोलुखुम्बुको पिकेडाँडा देखि ओखलढुङगाको खिजीफलाटेसम्म आयोजना गरेको हो। म्याराथन दुई हजार पाँच सय मीटरको खिजिफलाटेमा आएर टुङिगने छ । मंसिर १२ गते देखि शुरु हुने म्याराथनमा प्रथम, द्धितिय र तृतीय हुनेलाई जनही ५० हजार, ४० हजार र ३० हजार पुरस्कार दिने समितिका अध्यक्ष ङवाङ ङिमा शेर्पाले बताए ।
जिल्लाको मात्र नभएर पूर्वी क्षेत्रकै पर्यटन विकास गर्ने लक्ष्यले समिति गठन गरी प्रचारप्रसार र अन्तराष्ट्रिय जगतमा पदयात्राका लागि निम्तो दिने काम शुरु गरेको समितिका महासचिव ओङदा शेर्पाले बताए । म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त धावकहरुको समेत सहभागी हुने उनले बताए ।
म्याराथनसँगै पकली झरना, थोलेदेम्वा डाँडा लगायतका पर्यटकीय क्षेत्रको समेत पदयात्रा गरिने छ । पर्यटन विकासको लक्ष्यमा आयोजित कार्यक्रमलाई सरकार पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले बताए । कार्यक्रमलाई नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालले समेत सहयोग गर्ने भएको छ ।