रिसइवी साँध्न जसले खानेपानीको पाइपमै विष हाले
ओखलढुंगाः प्रहरीले खानेपानीको पाइपमा विष हालेको अभियोगमा सिद्धिचरण नगरपालिका-२ ठूलाछापका सिताराम सार्कीलाई पक्रेको छ । छरछरे सितलादेवी खानेपानी आयोजनाको पाइपमा विष हालेर उपभोक्ताको हत्या गर्न खोजेको अभियोगमा ३४ वर्षीय सार्कीलाई घरबाटै पक्राउ गरेको हो ।
स्थानीय उपभोक्ताको उजुरीका आधारमा अनुसन्धान गर्न खानेपानीको पाइपमा विष हालेको र पाइपबाट व्यक्तिका गोठमा राखिएको प्लाष्टिक ट्यांकी सम्म विष पुगेको पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।
अनुसन्धानबाट विष हालेको पुष्टि भएको उनले जनाए । आरोपित सार्कीले आफुले एक छिमेकीले पालेका ब्रोइलर कुखुरा मार्न विष हालेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
खानेपानीका उपभोक्ताहरुले भने विष हालेर समुदायका सदस्यको ज्यान लिन खोजिएकाले ज्यान मार्ने उद्योग अन्तर्गत कारवाही हुनुपर्ने माग गरेका छन् । समुदायबाट आउने जाहेरी हेरेर मुद्दा अघि बढाइने प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
स्थानीयको ठाडो उजुरीका आधारमा प्रहरीले सार्कीलाइ गत आइतबार नै पक्राउ गरे पनि समुदायबाट मुद्दा दर्ताका लागि जाहेरी ल्याउन ढिला गरेकाले हिरासतमै थुनिएको छ । मुद्दाको जाहेरी आउनासाथ कारवाही थालिने प्रहरीले जनाएको छ ।