गण्डकी पूर्णखोप सुनिश्चित प्रदेश
पोखरा : गण्डकी प्रदेश पहिलो पूर्णखोप सुनिश्चित प्रदेश घोषण भएको छ । प्रदेशको राजाधानी पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमकाबीच बुधबार गण्डकी प्रदेशलाई देशकै पहिलो पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्य मन्त्री गुरुङले गण्डकी प्रदेशलाई देशकै पहिलो पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्नु गौरवको दिन भएको बताए । पूर्णखोपको सुनिश्चित गरेपनि बालबालिका जन्मने क्रम निरन्तर हुने र ती बालबालिकालाई पनि समय मै पूर्णखोप दिलाउन सके मात्र घोषणले सार्थकता पाउने भएकोले यसै अनुसार खोप अभियानलाई निरन्तरता दिन मुख्यमन्त्री गुरुङले सहभागीलाई अनुरोध गरे ।
गण्डकी प्रदेश सरकारले खोप ऐन २०७२ र प्रदेशकै पहिलो खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) ऐन २०७५ ले राज्यले उपलब्ध गराउने सम्पूर्ण खोप पाउने बालबालिकाको जन्मसिद्ध अधिकारलाई सुनिश्चत गर्न खोप कोष स्थापना गरी कोषमा २ करोड जम्मा गरिसकेको छ । मुख्य मन्त्री गुरुङले औषत आयु बढाउने यो अभियानलाई अझै प्रभावकारी ढंगले लग्न जोड दिए । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको पूर्णखोप सुनिश्चित गण्डकी प्रदेश घोषणा कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले नागरिक स्वास्थ्य रहे मात्र देशको विकास र समृद्धि सम्भव हुने भएकोले पूर्णखोप सुनिश्चित घोषण पछि झन प्रभावकारी रुपमा अभियानमा लाग्नु पर्ने बताइन् । गत आर्थिक वर्षमा प्रदेशमा कुल ३५ हजार ८ सय ४२ जना १६ देखि २३ महिना सम्मका बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चित गरिएको थियो ।
विक्रम संवत २०६९ सालमा जिल्ला स्तरीय सकरात्मक सोचको तालिमबाट सुरु भएको पूर्णखोप सुनिश्चिन अभियान २०६९ चैत ३० गते नवरपरासी सुस्ता पूर्वको साविक दुम्कीबास गाविसलाई पूर्णखोप सुनिश्चित गाविस घोषण गरी अभियान अघि बढेको थियो । वडा, गाउँपालिका, नगर र महानगरपालिका हुँदै प्रदेशका ११ जिल्ला मध्ये नवलपरासीबाट पूर्णखोप सुनिश्चितता अभियान सुरु गरी २०७५ असार ३१ गते अन्तिम जिल्लाको रुपमा स्याङजा जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरी प्रदेशलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषण गरिएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका खोप सुपरभाइजर अधिकृत एकनारायण लम्सालले बताए ।
विक्रम सम्वत २०१८ सालमा बिफर उन्मुलन आयोजना सुरु भई बिफर विरुद्धको खोप सेवाबाट अभियान थालिएको थियो । २०३४ सालमा बिफर उन्मुलन भई २०४५÷०४६ सम्ममा पोलियो र दादुरा खोप थपी ७५ जिल्लामा सेवा विस्तार भएको थियो । २०६० देखि विभिन्न सालमा क्रमश हेपाटाइटिस बी खोप, जापानिज इन्सेफ्लाइटिस खोप, हेमोफिलस एन्फ्युएन्जा बी खोप, रुबेला सेवा सरकराले प्रदान गर्दै आएको छ ।
यो अभियान बालबालिकाहरुमा खोपबाट जोगाउन सकिने रोगहरुबाट हुने बिरामी दर, अपांग दर तथा बाल मृत्यु दर कम गराउने हो । खोप अभियानले बालबालिकाहरुलाई खोप जन्य ११ रोगबाट बचाउन सकिन्छ । एक जना बच्चालाई हाल पूरा खोप लगाउँदा खोपको मैत्री मूल्य ५ हजार पर्दछ । अन्य प्रशासनिक खर्च समेत जोड्दा एक जना बच्चालाई पूरा खोप लगाउन लगभग ३० हजार नेपाली रुपौयाँ खर्च हुने बताइएको छ । राष्ट्रिय खोप कार्यक्रमको तेस्रो बृहत बहुवर्षीय योजना २०१७–२०२१ ले नेपाललाई खोपबाट बचाउन सकिने रोगहरुबाट मुक्त देश बनाउने परिकल्पना गरेको छ । यो अभियान परिकल्पना पूरा गर्न १२।५ अर्ब लाग्छ । गण्डकी प्रदेशका लक्षित बालबालिकाहरुलाई पूर्ण खोप दिइ सुनिश्चित गर्न मात्र वार्षिक करिब १ अर्ब ७० करोड लाग्ने बताइएको छ ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एक, १७ वटा सरकारी अस्पताल, २५ वटा प्राथामिक स्वास्थय केन्द, ४ सय ८७ वटा स्वास्थ्य चौकी, ६२ वटा सहरी स्वास्थ्य केन्द्र र ८२ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । पोखरा बजार क्षेत्रमा २५ वटा भन्दा बढी प्राइभेट अस्पताल तथा थुप्रै क्लिनिक तथा औषधी पसलहरु छन् । प्रदेशमा १ हजार ७ सय ७० वटा खोप केन्द्र, १ हजार ४ सय १६ वटा गाउँघर क्लिनिक, ५ हजार ९ सय ३९ जना महिला स्वास्थ्य स्वंय सेविका मार्फत् समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह भइरहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका खोप सुपरभाइजर अधिकृत लम्सालले बताए ।