मोदीको सुरक्षामा विशेष सतर्कता, भारतीय सुरक्षाकर्मी पनि काठमाडौँमा
काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमस्टेकको चौथो सम्मेलनका लागि बिहीबार बिहान काठमाडौँ ओर्लिएका छन् । उनी काठमाडौँ ओर्लिनुअघि नै उनको सुरक्षाका लागि भारतीय सुरक्षा फौजको विशेष टोली काठमाडौँ आइसकेको छ । सम्मेलनमा आएकामध्ये मोदीका लागि सरकारले पनि विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।
मोदी काठमाडौँ ओर्लिनुअघि नै काठमाडौँमा विशेष सुरक्षा व्यवस्था अपनाइएको थियो । मोदी सवार विशेष जहाज काठमाडौँमा अवतरण हुनुअघि त्रिभुवन विमानस्थलबाट हुने सबै उडान करिब एक घण्टा ठप्प बनाइएको थियो ।
मोदीको सुरक्षाका लागि केही दिनदेखि भारतीय सेनाको विशेष टोली काठमाडौँमै तैनाथ थियो । उनको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मीले पनि आवश्यक तयारी गरेका थिए ।
मोदीको सुरक्षाका लागि केही दिनअघि भारतीय सेनाको टोलीसँगै बुलेटप्रुफ गाडी पनि भारतबाटै ल्याइएको थिो । मोदी आउने भएपछि नेपाली सेनाले काठमाडौँको आकाशमा बिहानैबाट हवाई गस्ती गरेको थियो । छिमेकी देशका भीभीआईपीको सुरक्षामा सरकारले विशेष सतर्कता अपनाएको हो । विदेशका भीभीआईपी पाहुनाको सुरक्षाको जिम्ममा नेपाली सेनाको कमाण्डमा राखिएको छ ।
नेपाली सेनाले सरकारबाट पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न विशेष सुरक्षा सजगता अपनाइएको जनाएको छ । यसअघि बुधबार नेपाल आएका विदेशी भीभीआईपीको सुरक्षामा पनि सरकारले विशेष सतर्कता अपनाएको थियो ।