‘रोज’मा प्रदीप बने प्रेमिकको हत्यारा
काठमाडौं : यस वर्षको बहुप्रतीक्षित फिल्म ‘रोज’मा अहिलेका सर्वाधिक रुचाइएका नायक प्रदीप खड्का आफ्नै पे्रमिकाको हत्यारा बनेका छन्। फिल्मको एउटा सोझो पात्र अभिजंग थापा (प्रदीप खड्का) कसरी पे्रमिकाको हत्या गर्ने अवस्थामा पुग्छ भन्ने कथाको सेरोफेरोमा रोज बनेको छ।
तीजको बिदा लक्षित गरी भदौ २२ बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म रोज युनिटले बुधबार राजधानीमा आयोजना गरेको मुख्य कलाकारसँगको अन्तरक्रियामा नायक खड्काले फिल्मको आफ्नो भूमिका सार्वजनिक गरेका हुन्।
कार्यक्रममा नायक खड्काले भने, ‘फिल्ममा म हत्यारा प्रेमीको भूमिकामा छु। परिस्थितिले कसरी एउटा सोझो केटालाई प्रेमिकाको हत्या गर्न बाध्य बनायो भन्ने कथा छ। फिल्ममा हेर्ने विषय भनेको प्रेमीले प्रेमिकालाई किन र कसरी मार्यो भन्ने नै हो।’
‘यो फिल्म ननलिनियर र मल्टिपल न्यारेसनले भरिएको छ। अहिलेसम्म मैले दर्शकलाई दिइरहेको फिल्मचाहिँ यस्तो खालको होइन। तर, कहिलेकाहीँ रिस्की फिल्म पनि गर्नुपर्छ जसले गर्दा साँच्चै एक्टिङ गर्न सक्दो रहेछ भन्ने जानकारी होस्’, उनले थपे। आफूले गर्न खोजेको जस्तो सिनेमा भएकाले रोजमा काम गरेको उनको भनाइ थियो। ‘मलाई सिनेमाको ओपनिङ, इन्टरभल र क्लाइमेक्स मन परेर काम गरेको हुँ। हेयर स्टाइल मेन्टन गर्न पनि गाह्रो थियो। अर्को कपाल जोडेर हाल्दा सम्हाल्न गाह्रो भएको थियो। कपालको जरा दुखेर सुत्न पनि सकिरहेको थिइनँ’, उनले सुटिङ अनुभव सुनाउँदै भने, ‘त्यसमाथि कपालको जरामा बल पर्दा झर्न पनि सक्छ भन्ने सुनेर अर्को टेन्सन भएको थियो।’
खड्काले आफ्नो कलेज अनुभव पनि सुनाउन भ्याए। भने, ‘११÷१२ पढ्ने बेला एकजना गर्लफ्रेन्ड थिइन्। भ्यालेन्टाइन डेको दिन गिफ्ट किनेर दिन कलेज छुटेपछि बाहिर निस्किँदा उनी अर्कै केटाको बाइकमा गइरहेको देखेँ। त्यो बेला मसँग बाइक थिएन। आवश्यक पनि थिएन। यो घटनाले मसँग बाइक थियो भने उनी अर्को केटासँग जाँदैन थिइन् कि भन्ने लाग्यो। आफूलाई इन्फेरियर फिल गरेँ। त्यसपछि घरमा झगडा गरेर बाइक किन्न लगाएँ।’
नायिका मिरुना मगरले रोजमा वकिलको भूमिकामा रहेर प्रदीपको पक्षमा वकालत गरेको खुलाइन्। ‘मैले कहिल्यै पनि सोचेको थिइनँ कि म एउटा लयरको रूपमा खेल्छु। तर, नसोचेको अभिनय गर्दा छुट्टै किसिमको रमाइलो भयो। यूके बस्दा म नेपाली न्युजपेपर खोजेर पढिरहन्थेँ। त्यहाँ घरबाट बाहिर निस्किनासाथ अंगे्रजी बोल्नुपर्ने कारण राम्रोसँग नेपाली बोल्न पाइरहेको थिइनँ। तर, सिनेमामा मेरो भूमिका नै लयरको भएकाले त्यहाँ मैले गाह्रो खालका धेरै शब्द बोलेकी छु। यसले गर्दा उता हँुदा बोल्न मन लागेको कुरा पूरा भएको छ’, उनले सुनाइन्।
नायिका परमिता राज्यलक्ष्मी राणाले प्रदीप, मिरुनाजस्ता राम्रा कलाकार भएको टिमसँग काम गर्दा आफूले सहज महसुस गरेको बताइन्। ‘यो फिल्ममा मेरो भूमिका र मेरो वास्तविक जीवनका धेरै कुरा मेल खान्छन् किनकि रोज क्यारेक्टर पनि फेसन, ग्ल्यामर वल्र्डमा बिताएको हुन्छ। मैले पनि सात वर्ष इन्टरनेसनल मोडल भएर काम गरेको हुँदा कतिपय ठाउँमा आफूलाई नै भेटेँ’, उनले भनिन्।
निरक पौडेलको निर्देशनमा बनेको रोजको टिम मोफसलतिर लागेको छ। पोखरा, चितवन हुँदै टोली इटहरी, धरान, दमक बिर्तामोड लगायतका सहरमा पुग्नेछ।