सिरहामा १४ स्थानीय तहको निकासा रोक्का
सिरहा : गत आवको वार्षिक आर्थिक विवरण र प्रगति प्रतिवेदन नबुझाएका कारणले सिरहाका १४ वटा स्थानीयको निकासा रोक्का भएको छ। लहान, धनगढीमाई सिरहा नगरपालिका बाहेकका स्थानीयहरुले पाउने चालु आवको पहिलो किस्ता रकम निकासा रोका गरिएको हो।
कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरीका अनुसार स्थानीय तहले आर्थिक वर्ष २०७४/०७५ को खर्चको रकमको वार्षिक आर्थिक विवरण र प्रगति प्रतिवेदन हालसम्म नबुझाउने गाउँपालिका तथा नगरपालिकाको चालु आवको निकासा रोक्का गरिएको छ। ‘साउन १५ गतेभित्र नै आर्थिक विवरण र प्रगति प्रतिवेदन बुझाउनुपर्ने हो,’उनले भने,‘स्थानीय तहलाई पटक पटक ताकेता गर्दा पनि बुझाएको छैन्।’
पाँच नगरपालिका र नौ गाउँपालिका गरी १४ स्थानीय तहको चालु र पुँजीगत तर्फको निकासा रोका गरिएको उनले जानकारी गराए। आर्थिक वर्ष सकएिपनि पुरानै मितिमा चेक काटेर कारोबार गर्दा स्थानीय तहले समयमै आर्थिक विवरण र प्रगती प्रतिवेदन समयमा बुझाउन सकेनन्। लहान, धनगढीमाई र सिरहा नगरपालिकाले मात्रै आर्थिक विवरण र प्रगति प्रतिवेदन बुझाएको उनले बताए।