टीटी भ्याक्सिन अभाव
नेपालगन्ज : नेपालगन्ज क्षेत्रमा एक महिनायता अत्यावश्यक टिटानस (टीटी) भ्याक्सिन अभाव भएको छ । टीटी भ्याक्सिन नेपालमा तीन वटा भारतीय भ्याक्सिन कम्पनीले सप्लाइ गर्छन् । ह्युमन वायोलोजिकल इन्स्टिच्युट, वायोलोजिकल ई.लिमिटेड र सेरम कम्पनीले दुई महिनायता नेपालमा भ्याक्सिन नै सप्लाइ गरेका छैनन् । ती कम्पनीका नेपालमा औषधि बेच्ने राजधानीमा मेडिसेल्स दरबार मार्ग काठमाडौं, एक्सेल फर्मा कुपण्डोल ललितपुरलगायतका तीन वटा सुपर (कम्पनीका आधिकारिक बिक्रेता) छन् । जसले देशैभरी भ्याक्सिन सप्लाइ गर्छन् । उनीहरुले दुई महिनायता भ्याक्सिन आयात नै नभएको स्वीकार गरेका छन् ।
बाँकेका एक दर्जनभन्दा बढीको संख्यामा रहेका औषधिका होलसेलमा भ्याक्सिनका स्टक सकिएको पनि एक महिनाभन्दा बढी भएर भ्याक्सिनको हाहाकार भएको हो । नेपालगन्जको औषधिको थोक बिक्रेता कृष्ण मेडिसिन सेन्टरले त टीटी भ्याक्सिन बेच्न छोडेको पाँच महिना भइसकेको छ । यो मेडिसिनले सेरमका भ्याक्सिन बेच्ने गथ्र्यो । सञ्चालक रामकृष्ण पन्थी भन्छन्, ‘कम्पनीबाट भ्याक्सिन नै आउन छोडेको ६ महिना भइसक्यो । तीन महिनायता नेपालगन्जमा टीटी भ्याक्सिनको अभाव छ ।’
अर्को होलसेल बिक्रेता मेडिकेमका जयदेव अवस्थी आपूmले बेच्ने गरेका कम्पनी ह्युमन बायोलोजिकलको ६ महिनादेखि र बायोलोजिकको २ महिनादेखि भ्याक्सिन दुई महिना यता नपाएको बताउँछन् । उनले आपूmले महिनामा कम्तीमा पनि दुई हजारदेखि तीन हजार एम्पुल भ्याक्सिन बेच्ने गरेको बताए । ‘यो अरु सामान्य औषधि जस्तो होइन । लाइफ सेभिङ भ्याक्सिन हो । राज्य नै जिम्मेवार हुनुपर्छ ।’
अर्को थोक औषधि बिक्रेता राज फर्मा स्यूटिकलका सञ्चालक विनय रस्तोगीले आफुले करिव एक महिना अघिदेखि सप्लाई नपाएको बताए । उनले भने–‘हामीले मेडिसेल्स काठमाडौबाट सप्लाई लिएर यहाँ वितरण गर्ने हो तर, करिव एक महिनादेखि नै काठमाडांैले सप्लाई नै दिएको छैन । नेपालगन्जमा पुरै सर्टेज छ ।’ यही अवस्था अधिकांश होलसेल औषधि पसलमा रहेको औषधि ब्यावसायी संघ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्मा बताउँछन् ।
उनी भारतीय कम्पनीले उत्पादन गरी वीरगन्जमा रहेको ‘सुपर’ स्टोरमा आउने र त्यहाँबाट थोक विक्रेताहुँदै रिटेलर खुद्रा मेडिकलमा पुग्ने गरेकोमा नेपालगन्ज क्षेत्रमा पूरै अभाव देखिएको छ । सामान्य चोक पटक लाग्दा, दुर्घटना हुँदा, हतियारले काटिँदा, जंगली वा घरपालुवा जनावरले टोकेमा २४ घण्टाभित्र टीटी लगाउनु अनिवार्य मानिन्छ । तर यहाँका औषधि पसलमा भ्याक्सिन सकिएको छ । टिट्नसको भ्याक्सिनको अभाव भएको कारण टिटनस भएका विरामीको लागि प्रयोग हुने एन्टी टिट्नस सेरम जुन चोट पटक लागेको ४८ घन्टापछि लगाइने ईन्जेक्सन प्रयोग गर्ने गरेको छ जुन अत्याधिक महंगो हुन्छ ।
नेपालगन्जको भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज लगायतका अस्पतालको आपतकालिन कक्ष (ईमरजेन्सी) मा उपचारको लागि आउने विरामीको उपचारमा कठिनाई आउन सुरु भएको अस्पताल स्रोतले जनाएको छ । बायोलोजिकल ई.लिमिटेडको नेपालको आधिकारिक बिक्रेता मेडिसेल्सका शीरविन्दु राजभण्डारी नै विगत दुई महिनादेखि नेपालमा भ्याक्सिन नआएको स्वीकार गर्छन् । उनले भने, ‘भारतमा पनि अहिले अभाव छ । हामीले माग गरेका छौं । चाँडै आउँछ ।’
उनले हरेक महिना ६० देखि ६० केस अर्थात २४ हजार एम्पुल भ्याक्सिन आउने गरेको थियो । दुई महिनाको अवधिमा ४८ हजार एम्पुलको अभाव भएको बताए । ‘निकै इमरजेन्सीका लागि हामीले ८÷१० केस राखेका थियौं । जहाँ जहाँ समस्या छ । त्यहाँ पठाउन सक्छौं ।’
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल भने औषधि व्यवसायीकै बद्मासीका कारण नेपालगन्ज क्षेत्रमा टीटी भ्याक्सिन अभाव भएको हुनसक्ने बताउँछन् । ‘केही कम्पनीले उत्पादन बन्द गरेको र केहीलाई अनुगमनका क्रममा कडाइ गर्दा व्यवसायीले विभागलाई अप्ठारोमा पार्न कृत्रिम अभाव पारेको हुनसक्छ’, उनले भने । नेपालमा मात्र होइन, सीमावर्ती बजार रुपैडिहामा पनि टीटी भ्याक्सिनको अभाव रहेको व्यवसायीहरु बताउँछन् । सुपरवाहेक यहाँका व्यवसायीले आपूm खुसी भारतबाट टिटी भ्याक्सिन ल्याउन पाउँदैनन् ।