नेकपामा किचलो
परासी : पश्चिम नवलपरासीको तत्कालिन एमालेमा किचलो देखिएको छ । जिल्ला सचिवसहितको सदस्यको विषयलाई लिएर तत्कालिन पार्टी नेताबीच किचलो बढेको हो । गुट उपगुटका कारण जिल्ला नेतामा देखिएको किचलोको विवाद केन्द्रसम्म पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सहमति अनुसार तत्कालिन दुई पार्टीले आआफ्नो नाम प्रदेश कार्यदलमा पठाएका छन् ।
नयाँ गठन हुने नेकपाको जिल्ला समिति अध्यक्ष र सचिवसहित एक सय ४५ सदस्यीय रहने छ । सोही संख्याको आधारमा तत्कालिन एमालेले ८० जना र माओवादी केन्द्रले ६५ जनाको नाम प्रदेशमा पठाएको छ । सोही आधारमा नेकपाको प्रदेश स्तरीय संयुक्त कार्यदलले केन्द्रमा नामावली पठाएको छ । जसअनुसार यस जिल्लाको अध्यक्ष पद तत्कालिन माओवादी केन्द्रले पाएको छ ।
पद बाँडफाँड सहमति अनुसार अध्यक्षका लागि एक जनाको मात्र नाम सिफारिस भएपछि माओवादी केन्द्रका घनश्याम यादव जिल्ला अध्यक्ष बन्ने पक्का छ । तर यसको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्ने तत्कालिन दुई पार्टीबीच सहमति छ । अध्यक्ष र सचिव फरक फरक पार्टीले पाउने सहमति अनुसार जिल्ला सचिव तत्कालिन एमालेको भागमा परेको छ ।
एमालेले तीन जनाको नाम सिफारिस गरेपछि जिल्ला नेताबीच देखिएको आन्तरिक विवाद केन्द्रसम्म पुगेको हो । अन्य पदभन्दा जिल्ला सचिव बनाउन तत्कालिन एमालेका नेता गुट उपगुटमा लागेका छन् । पार्टीका नेता र कार्यकर्ताको छलफल बिनै जिल्ला सचिव, जिल्ला कमिटी सदस्य र जिल्ला सचिवालय सदस्यको नाम सिफारिस गरिएको आरोप एक थरी गुटको छ ।
सचिवका लागि तत्कालिन एमालेका जिल्ला सहसंयोजक थानप्रसाद गैरे, सचिवालय सदस्यद्धय शिवलाल कँडेल र सरिता खनालको नाम सिफारिस गरिएको छ । गैरे दुई कार्यकालसम्म क्षेत्रीय इन्चार्ज हुँदै जिल्ला सचिवको जिम्मेवारी समालेका हुन् । कँडेल र खनाल सदस्यको जिम्मेवारी समाल्दै आएका हुन् । प्रदेशबाटै सहमति गरेर एकजनाको नाम पठाउन सकिने भएपनि आफ्नो पक्षका कार्यकर्ता राख्न कार्यकर्ताको क्षमता, वरिष्ठता र कार्य सम्पादनलाई वेवास्ता गरेर नाम सिफारिस गरिएको एक गुटले आरोप लगाएको छ । अर्को गुटले सचिवमा सहमति नभएपछि केन्द्रमा नाम पठाएको दाबी गरेको छ । आन्तरिक विवादकै कारण नेकपाले कुनै पनि जिल्लामा कमिटी गठन गर्न सकेको छैन ।