घर–घरमै स्वास्थ्य सेवा
धनकुटा : घरमै आराम गरिरहेका थिए, महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ बाघथलाका ९६ वर्षीय बुद्धिमान पौडेल । वडाध्यक्ष भरत थापाको नेतत्ृवमा स्वास्थ्य टोली आइपुग्दा उनी छक्क परे । स्वास्थ्य टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरी केही औषधि उपलब्ध गरायो ।
घरमै स्वास्थ्य परीक्षण गर्न गर्दा स्थानीय ९४ वर्षीय मानबहादुर थापा पनि दंग परे । आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन उनले वडाध्यक्ष थापासँग आग्रह गरे । त्यस्तै, ९३ वर्षीया पुनमाया कार्कीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउँदा खुसी लागेको बताइन् । ‘हिँडडुल गर्न गाह्रो पर्छ, जसका कारण संस्थासम्म पुगेर स्वास्थ्य परीक्षण गर्न सक्दिनँ’, उनले भनिन्, ‘घरमै सेवा पाउँदा खुसी लागेको छ ।’
वडा कार्यालयले ८० वर्षभन्दा माथिका २८ ज्येष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जनाइएको छ । यीमध्ये ९० कटेका चार जना ज्येष्ठ नागरिक छन् । स्वास्थ्य संस्थासम्म पुग्न ज्येष्ठ नागरिकलाई कठिन हुने भएकाले घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराइएको वडाध्यक्ष थापाले सुनाए । उनका अनुसार दुई दिन लगाएर ज्येष्ठ नागरिकलाई घर–घरमै पुगी स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो ।
चुनावका बेला भोट माग्न घर–घरमा पुग्ने नेता जितेपछि पनि आउँदा खुसी लागेको ज्येष्ठ नागरिकले बताएका थिए । ‘घर–घरमा पुग्दा ज्येष्ठ नागरिक साह्रै खुसी देखिए’, उनले भने, ‘उनीहरूले आगामी दिनमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्न आग्रहसमेत गरेका थिए ।’
डाँडागाउँ स्वास्थ्य चौकीका स्वास्थ्य सहायक भीम पौडेल नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कार्यक्रम वर्षमा दुईपटक राख्ने योजना उनले सुनाए । ‘अधिकांश ज्येष्ठ नागरिक अशक्त छन् । अस्वस्थताका कारण उनीहरू स्वास्थ्य संस्थाको पहुँचबाहिर छन्’, उनले भने, ‘सामान्य बिरामी हुँदा पनि स्वास्थ्य संस्थासम्म जना सक्दैनन् । यसलाई मध्यनजर गरी यो कार्यक्रम सञ्चालन गरिएको हो ।’