कर्णालीका मुख्मन्त्री र मन्त्रीले बोके ढुंगा
सुर्खेत : कर्णालीमा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले श्रम गर्न थालेका छन्। मन्त्रीले महिनाको दुईदिन आफैं श्रम शिविरमा पुगेर काम गर्न थालेका हुन्।
प्रदेश मन्त्रिपरिषद्को बैठकले हरेक महिनाको १ र १५ गतेलाई श्रम दिवसका रुपमा मनाउने निर्णय गरेको छ। यही निर्णयअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा शुक्रबार मन्त्रीले वीरेन्द्रनगरस्थित खोर्के खोलामा पुगेर चार वर्षअघि बाढीले क्षति पुर्याएको भौत्तिक संरचनाको पुननिर्माणमा श्रम गरेका हुन्।
यस्तै बाढीले कटान गरेको स्थानमा तटबन्ध निर्माणका लागिसमेत मन्त्रीले ढुंगा बोक्ने तथा जाली भर्ने काम गरेका छन्। मन्त्रीले पसिना बगाउँदै ढुंगा बोकेपछि स्थानीय बासिन्दा पनि श्रममा जुटेका छन्।
मुख्यमन्त्री र मन्त्रीले नै खोलामा पुगेर ढुंगा बोकेको र निर्माणको काम गरेको देखेपछि आश्चर्यमा परेका स्थानीय सहभागी भएका हुन्।
‘श्रम गर्ने संस्कृति हराउँदै गयो, सुकिला लुगा लगाउनेले ढुंगामाटो छुनै हुन्न भन्ने सोच हाबी भयो’, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘श्रम नगर्दा नै हामी गरिब भयौं, मान्छेहरु श्रम गर्न लाज मान्न थाले। यही लाज मान्ने संस्कृतिलाई तोड्न हामीले श्रम शिविर संचालन गरेका हौं, अब महिनाको दुईदिन हामी अनिवार्य श्रम गर्नेछौं।’
प्रदेश सरकारले श्रम शिविरमा सहभागी हुन प्रदेशका सांसद, कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय गौमाया नेपालीले भनिन्,‘बाढीले नोक्सान गरेको चारवर्ष बित्यो, हालसम्म कोही आएका थिएनन्। तर आज त मन्त्रीहरु नै आँगनमा आएर ढुंगा बोकेर जाली लगाइदिए, बल्ल सरकार भएको अनुभूति भयो।’ मन्त्रीहरु आफैंले आएर विकासको काम गरेको भन्दै उनले खुशी व्यक्त गरिन्।