पत्रकारिताका पायनियर
कुलदीप नैयरको नाम सबैभन्दा पहिले बंगलादेशबाट निस्कने अंग्रेजी दैनिक डेली स्टारमा पढेको मैले। तिनताका म बंगलादेशको खुल्नामा अध्ययनरत थिएँ। उनी नियमित स्तम्भकार थिए त्यसमा। पछि थाहा भयो डेली स्टारको प्रारम्भिक दिनदेखि नै कुलदीप संलग्न रहेछन् यसको स्तरवृद्धि र उन्नयनमा। डेली स्टारका सम्पादक माहफुज आनमको ‘अ ट्रिब्युट टु अ युनिक मेन्टर’ मा यो संलग्नताको सिनप्सिस भेटिन्छ।
हामीकहाँ नयाँ सरकारले यातायात क्षेत्रको सिन्डिकेट तोड्ने प्रयास गर्यो तर गन्तव्य नभेट्दै बिसाएजस्तो प्रतीत हुँदैछ। त्यसैले होला, नागरिक गुनासो कायमै छ। सर्वत्र विरोध गरिने यो सिन्डिकेट शब्द कुलदीपको सन्दर्भमा विशेषरूपमा प्रयुक्त हुन्छ। उनलाई भनिँदो रहेछ, सिन्डिकेटिड कलमिस्ट। अर्थात् त्यस्तो स्तम्भकार जसले एउटै पत्रिका वा प्रकाशनमा धारावाहिक रूपमा लेखिरहन्छ। हो, उनले दि स्टेटसमेन, डेली स्टार, डन, पाकिस्तान टुडे, दि एक्सप्रेस ट्राइब्युन आदिमा लेखिरहे शृंखलाबद्घ। दि स्टेटमेनका त सम्पादक नै रहे उनी। मर्नुभन्दा केही दिनअगाडि पनि विभिन्न पत्रपत्रिकामा उनले लेखन कर्म कायम राखे। प्रतिबद्घ पत्रकारको मानक यही हो सायद।
खोज पत्रकारिताको अवधारणा नयाँ थियो त्यसबेला। कुलदीपले यस विधालाई पहिले अभ्यास र पछि प्रशिक्षणबाट विकसित बनाउँदै लगे। खँदिलो अन्तर्वार्ताले कुशल पत्रकारको अलग पहिचान स्थापित गर्छ। बेलायती उपनिवेशकालका अन्तिम दिनमा नायबी पाएका भाइसरोय माउन्ट ब्याटन, भारतीय वैज्ञानिक राष्ट्रपति अब्दुल कलाम आजाद आदिसँगको अन्तर्वार्ता पढ्दा उनको फराकिलो क्षितिजसँग साक्षात्कार हुन्छ।
भारतीय समाजको ठूलो हिस्साले विभाजनको पीडा लिई बाँचेको छ। त्यसैले पनि हिन्दु राष्ट्रवादी मेटाफोर राम्रो बिक्छ त्यहाँ। पाकिस्तानलाई मुख्य भिलेन देखाइएका ‘बोर्डर’ जस्ता सिनेमाहरू निकै रुचाइयो पनि। अलग धारबाट सोच्ने कलाकर्मीहरूले यो मेटाफोरलाई बदल्न प्रयत्न गरे। ‘बजरंगी भाइजान’ जस्ता सिनेमाले भारत पाकिस्तान सद्भावमा जोड दिए। अटल विहारी वाजपेयीको ‘रेल कूटनीति’ यसै दिशाको राजनीतिक प्रयत्न थियो। कुलदीपको कलम भने यो प्रयत्नमा नलरबराई सधैं लागिरह्यो। चीर प्रतिद्वन्द्वी यी दुई छिमेकी देशबारे उनले धेरै मसी खर्च गरेका छन्।
पाकिस्तान र भारतबीचको सम्बन्ध सुधारका पक्षमा उनी खुलेरै लागे। दुवै देशमा थुनिएका बन्दीहरूको रिहाइका लागि सतत प्रयत्न जारी राखे उनले। त्यसैले कतिले उनलाई शान्तिका अभियन्तासमेत मान्छन्।
सुपरिचित र अत्यधिक पढिने राजनीतिक विश्लेषक बने उनी कालान्तरमा। खरो लाग्छ उनका समसामयिक राजनीतिक टिप्पणीहरू। यस्तै एउटा खरो लेख छ कुलभूषण जादवबारे। भारतीय गुप्तचरको आरोप लागेको छ उनलाई। उनी पाकिस्तानी जेलमा छन् अहिले। भारत पाक सम्बन्धको चिसोपन जादवको कारणले अझ चिसिने कुराले कुलदीप चिन्तित थिए। न मोदी, न इमरान यसबारे संवेदनशील पाउँछन् उनी।
दुई देशबीचको सम्बन्ध सुध्रियोस् भन्ने उत्कट कामना थियो कुलदीपको। केही हप्तापहिले इमरान खानको राजनीतिक इनिंग्सबारे लेखेका थिए उनले। सेना र तालिवानबीच च्यापिँदा कसरी राष्ट्रिय, क्षेत्रीय सन्तुलन राख्दै जनताको चुलिएको चाहना सम्बोधन गर्न सक्लान् इमरानले भन्ने संशय देखिन्छ उक्त आलेखमा। अर्को एक लेखमा भारत र पाकिस्तानबीचको शासन पद्घतिको भिन्नताबारे उनी भन्छन्, ‘भारतमा निर्वाचित संसद निर्णायक सर्वोच्च निकाय रहेको छ जबकि पाकिस्तानमा सेनाको भूमिका नै सर्वेसर्वा देखिन्छ। यहींनेर पाकिस्तानको समस्या देख्छु म। इमरानले उच्च तहका सैनिकहरूलाई कसरी चित्त बुझाउनेछन् भन्ने पक्ष महत्वपूर्ण रहनेछ पाकिस्तानका आगामी दिनका लागि।’
खोज पत्रकारिताको अवधारणा नयाँ थियो त्यसबेला। कुलदीपले यस विधालाई पहिले अभ्यास र पछि प्रशिक्षणबाट विकसित बनाउँदै लगे।
सन् १९७७ मा इन्दिरा गान्धीको शासनकालमा संकटकाल लगाइयो। चौतर्फ विरोध भयो यसको। पत्रकार, बुद्घिजीवीहरूको विराधी लाममा उनको उपस्थिति अग्लो रह्यो। संकटकालबारे उनको प्रतिरोधी लेखनका कारण उनको विशेष चर्चा हुने गर्छ। केही महिना पहिले नरेन्द्र मोदीले उनको आलोचनात्मक चेतको प्रशंसा गरेछन्। त्यसबारे उनी लेख्छन्, ‘हामी दुवै तत्कालीन संकटकालका विरोधी हौं। तर कस्तो समाज बनाउने भन्नेमा हाम्रो राय बाझिन्छ। मोदी परे भाजपासँग सम्बद्घ, राष्ट्रिय स्वयं सेवकका प्रवर्द्धक। उनको पार्टी भारतलाई हिन्दु राष्ट्र बनाउन उद्यत् छ जबकि म बहुल समाजको पक्षपाती हुँ। उनको पार्टीले धार्मिक आस्थाका आधारमा जनतालाई विभाजित गर्न चाहन्छ। म भने गान्धीको अनुयायी परें। बहुसांस्कृतिक भारतको कामना गर्र्छु म जहाँ बिनाडर हरेक धर्मावलम्बीहरू सँगै बाँच्न पाऊन्। विडम्बना, मोदीको कप्तानीमा नजानिँदो रूपमा हिन्दुत्व भारतभर फैलाउने कोसिस भइरहेछ।’ यस्तै कठोर टिप्पणीका कारण हुन सक्छ, उनलाई ‘प्रो–पाकिस्तानी’ को ट्याग पनि भिराइएको पाइन्छ। उर्दू भाषाप्रतिको बढी मोहको कारण पनि भारतका उग्र राष्ट्रवादीका आँखामा उनी पाकिस्तानी देखिएका हुन सक्छन्।
उच्चायुक्तका रूपमा छोटो कार्यकाल लन्डनमा रहे उनी। राष्ट्रिय सभा सदस्य पनि बने। मानवता उनको लेखनको अभीष्ट रह्यो। लेखेरै मात्र यो अभीष्ट पूरा नहुने ठानेर होला सायद मानव अधिकारको पैरवी पनि गरे उनले, भारत पाकिस्तान सीमा क्षेत्रमा क्यान्डल लाइट भिजिल गर्दै।। पत्रकार र स्तम्भकारको रूपमा उनको परिचय व्यापक छ। यसको छायामा पुस्तक लेखकको चिनारी छोपिएको हुन सक्छ। तर उनको आत्मवृत्तान्त ‘वियोन्ड दि लाइन्स’ ले उनको अब्बल परिचय पस्किन्छ लेखकका रूपमा। पाकिस्तानको सियालकोटमा जन्मेको उनको परिवार भारत पाक विभाजनपछि भारतीय भूमिमा आयो। त्यसैले पनि विभाजनको पीडा उनको आत्मवृत्तान्तमा घनीभूत प्रतिविम्बित हुन्छ।
संकटकालको समयको राजनीतिक नेतृत्वको दोक्लेपना उनको धारिलो प्रहारको निशानामा रहिरह्यो लामो समय। प्रणव मुखर्जी, मुलायमसिं यादव जस्ता नेताहरूमाथि उनी खनिए। अझ सञ्जय गान्धीको त उछितो नै गरे उनले। त्यो बेलाका आरएन गोइन्का, अरुन सुरी, शेखर गुप्ताजस्ता वरिष्ठ पत्रकारहरूको भूमिकाको समेत खुलेर विरोध गरेका छन् उनले। महात्मा गान्धीबारे उनको संस्मरणमा भनिएको छ, ‘सत्याग्रहकै बलमा बेलायती उपनिवेशबाट भारतलाई मुक्त गराएका महात्मा गान्धीले देश विभाजन हुँदा त्यसलाई रोक्न सत्याग्रह किन जारी राखेनन् ?’
जवाहरलाल नेहरू, राजेन्द्र प्रसाद, लालबहादुर शास्त्री, मोरारजी देसाईं, जुल्फीकार अली भुट्टो, जियाउल हक, मोहम्मद जिन्नाह आदिका अनेक अनद्घाटित पक्षहरू समावेश छन् उनको यो किताबमा। भारतीय इतिहास, राजनीति र पत्रकारिताको नालीबेली हो यो पुस्तक। ‘इन्डिया आफ्टर नेहरू’, ‘इमर्जेन्सी रिटोल्ड’ आदि पनि बदलिँदो भारतीय परिदृश्य बुझाउने माध्यम हुन सक्छन् राजनीतिका जिज्ञासुहरूलाई। लामो समयावधि पत्रकारिता र लेखनलाई सुम्पेका कुलदीप नैयरको जीवन बुझ्ने आँखीझ्याल मात्र हो यो प्रयास। पत्रकारिताका यी अगुवालाई अन्तिम सलाम !