कम्युनिस्ट नेता, आफ्नैलाई बैरी

कम्युनिस्ट नेता, आफ्नैलाई बैरी
सुन्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लागेको थियो– मोहन वैद्य, नेत्रविक्रम चन्द (विप्लव), सीपी गजुरेलहरूले पार्टी छोड्दा ‘पिलो निचोरियो’। बाबुराम भट्टराईले अलग पार्टी गठन गर्दा प्रचण्डले ‘हाइसञ्चो’ माने। किनभने, आफ्ना ‘प्रतिस्पर्धी’ ले पार्टी छोडे पार्टीमा आफ्नो एकछत्र राज हुनेछ। बाचुञ्जेल ‘सुप्रिमो’ बनिरहने सपनामा प्रश्न गर्ने कोही पनि हुने छैनन्। तर, एकपछि अर्को सहयोद्धाले पार्टी छोड्दै गएपछि प्रचण्ड कमजोर बन्दै गए। माओवादी आन्दोलन निरन्तर ओरालो लाग्यो। ०६४ को पहिलो संविधानसभामा ‘भिमकाय’ रूप खिइँदै, पातलिँदै गयो, तेस्रो स्थानबाट माथि उठ्नै सकेन। एमालेले पनि त्यही नियति नभोग्ला भन्न सकिन्न। 

माधव नेपाल, झलनाथ खनालहरूले पार्टी छोड्दा एमाले नेतृत्वमा ‘खुसी’ छायो। भीम रावललाई निष्कासन गरेकोमा नेतृत्वले ‘गौरव’ महसुस गरिरहेको छ। तर, स्थापित नेताहरू एकपछि अर्को निस्कँदै गर्दा एमालेको आन्तरिक जीवनमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि कहीँ न कहीँ असर परिरहेको छ। माधव नेपालहरूले चुनाव ‘नजिते’ पनि ०७९ को चुनावमा एमालेलाई पहिलो शक्ति बन्नबाट रोकेकै हुन्। मिसन ०८४ मा पनि एमालेका लागि अरू कोही नभई पार्टीबाट अलग भएकाहरू नै ‘चुनौती’ बन्ने निश्चित छ। किनभने उनीहरू आफू चुनाव जित्लान-नजित्लान, तर एमालेलाई जित्नबाट रोक्न सक्ने सामथ्र्य भने पक्कै राख्छन्। त्यसैकारण, स्थापित नेता मात्र होइन, एक समर्थक-मतदाता- कार्यकर्ता पार्टीबाट अलग हुँदा पनि नेतृत्वले ‘कहाँ, के कमजोरी’ भएछ भनेर आत्ममूल्यांकन गर्नै पर्छ। किनभने, व्यक्ति–व्यक्ति मिलेर संगठन बन्छ। व्यक्ति–व्यक्तिले छोड्दै गए संगठन भताभुंग हुन्छ, कमजोर हँुंदै जान्छ, यो त संगठनमा विश्वास गर्ने कम्युनिस्ट नेतालाई सिकाइ रहनै पर्दैन। 

तुच्छ बोली, असहिष्णु व्यवहार  

मंसिर २२ गते कांग्रेसको कोशी प्रदेश भेला विराटनगरमा राखिएको थियो। तर, शेखर कोइरालाले ४ दिनअघि नै विराटनगरमा ‘गुटको भेला’ गरे। पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशन समयमा नगर्न आलटाल गरिरहेको भन्दै देउवामाथि दबाब बढाउन गुटका नेता-कार्यकर्तालाई आह्वान गरे। मंसिर २२ गते देउवाले प्रदेश भेलालाई सम्बोधन गरे। भोलिपल्टै विराटनगरस्थित शेखर निवास पुगे। शेखर पत्नी पुनमले बनाएको चिया खाए। देउवाले शेखर निवासमा कोइराला परिवारका सदस्यसँग पारिवारिक कुराकानी गरे। गुटको भेलामा शेखरले लगाएका ‘आरोप’ बारे कुनै गुनासो गरेनन्। तर, यता एमालेमा भने भिन्न दृश्य देखियो। ‘पार्टीका निर्णयमा प्रश्न उठाएको, नेतृत्वमाथि लाञ्छना लगाएको, पार्टीको विधि र नीति नमानेको भन्दै पूर्वउपाध्यक्ष एमालेलाई पार्टीबाट निष्कासन गरियो। भाटभटेनीका साहुको ‘दान’ मा पार्टीको मुख्यालय बनाउनु उचित होइन भन्ने भनाइ राखेकै आधारमा नेताहरू विन्दा पाण्डे र उषाकिरण तिमिल्सेनालाई ६ महिना पार्टीबाट निलम्बन गरियो।  पूर्वउपाध्यक्ष रावललाई पार्टीले निष्कासन गरेपछिका नेतृत्व र रावलबीचका आरोप–प्रत्यारोप, प्रयोग भएका भाषाशैली र असहिष्णु बोली सुन्दा राजनीतिप्रति नै उदेक लाग्ने अवस्था छ। हुन त, कम्युनिस्टहरूको रोग नै हो– मन नमिल्दा, स्वार्थ बाँझिदा वा पार्टीबाट अलग हुनुपर्दा एकले अर्कोलाई तुच्छ व्यवहार गर्ने, असभ्य गालीगलौज गर्ने र निष्कृष्ट लाञ्छना लगाउने कुसंस्कार नै छ। विगतमा एमाले–माले विभाजन हुँदा होस् वा माओवादीबाट अनेक हाँगाबिगा निस्कँदा हुन्, निकृष्ट आरोप–प्रत्यारोपका शृंखला चलेकै हुन्, भविष्यमा पनि दोहोरिने नै छन्। तर, कांग्रेसमा भने त्यस्तो कुसंस्कार कमै देखिन्छ। कांग्रेस विभाजन भएर प्रजातान्त्रिक कांग्रेस बन्दा पनि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच व्यक्तिगत कुण्ठा, आरोप–प्रत्यारोप र लाञ्छना लगाइएका घटना विरलै मात्र देखिए। त्यसैकारण, कांग्रेस एकीकरण पछि प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गरेका देउवा सिंगो कांग्रेसमा सर्वस्वीकार्य नेता बने। कांग्रेस र प्रजातान्त्रिक कांग्रेस भनेर पार्टीमा कहिल्यै ‘कित्ता’ देखा परेनन्। 

तर, सिद्धान्त, विचार मन र नेतृत्व नमिल्दा अलग हुने कम्युनिस्टहरू आफ्ना व्यवहार, शैली, बोलीका कारण एकै ठाउँ उभिने अवस्था आए पनि ‘मनैबाट, तनैबाट’ कहिल्यै मिल्न सक्दैनन्। त्यसैकारण माओवादीमा ‘युद्ध लडेका र पछि खान आएका’ भन्ने गुट जीवितै छन्। एमालेमा पूर्वमाले, १० बुँदे र पूर्वमाओवादी ‘समूह’ कुनै न कुनै रूपमा अस्तित्वमा छन्। एकीकृत समाजवादीमा ‘नेपाल र खनाल’ गुट जीवितै छन्। मौका मिल्दा तीनले आ–आफ्ना गुट सक्रिय बनाउने र नेतृत्व हत्याउन पछि पर्ने छैनन्। त्यसैकारण नेताहरूका तुच्छ बोली र असहिष्णु व्यवहारले नयाँ पुस्तामा कम्युनिस्ट पार्टीप्रति खासै आकर्षण देखिँदैन। पुराना नेताबीचको काटाकाट र मारामारका घटनाले दिन प्रतिदिन कम्युनिस्ट आन्दोलन खिइँदै गएको छ।

कम्फोर्ट त वाम गठबन्धन नै हो कि ?    

दुई ठूला दलको गठबन्धन, झन्डै दुईतिहाइको बहुमतसहित एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छन्। झट्ट हेर्दा, बलियो र स्थिर सरकार। तर, सरकार जति बलियो देखिन्छ, जग त्यस्तो छैन। मनैबाट डर छ– त्यसैकारण प्रधानमन्त्री ओली आफैं आफ्नो सरकारको ‘काउन डाउन’ गरिरहेका छन्। कांग्रेसले कुनै पनि बेला काँध फेर्न सक्ने आशंका, डर र त्रास बोकेर सत्ताको चाबी घुमाइरहेका छन्। आन्तरिक मात्र होइन, क्षेत्रीय-अन्तर्राष्ट्रिय शक्ति केन्द्रले कांग्रेसमाथि दबाब बढाएका छन्– अविलम्ब एमालेसँग सहकार्य तोड्न। तर, कांग्रेसले शक्ति केन्द्रलाई भनिरहेको छ– हामीले सरकार छोडे, वाम गठबन्धनको सरकार बन्छ। तिमीहरूले चाहेको त्यही सरकार हो त ?  ’ कांग्रेस संस्थापन पक्षको अर्को तर्क छ– माओवादीसँग हाम्रो दूरी बढेको छ। रास्वपासँग सम्बन्ध बिग्रँदै गएको छ। तत्काल कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बन्ने आधार छैन। यसबाहेक एमालेसँग मिल्नुको अर्को कुनै कारण होइन।’ 

त्यसैकारण शक्ति केन्द्रका ‘दबाब, प्रभाव र आग्रह’ लाई बेवास्ता गरेर कांग्रेस एमालेसँगको सहकार्यमा छ। शक्ति केन्द्रले वैकल्पिक सरकारको सुनिश्चिता गरे कांग्रेसले कुनै पनि बेला काँध फेर्न पछि हट्ने छैन। कांग्रेस ‘शंकाको सुविधा’ सहित प्राविधिक रूपमा मात्रै सरकारमा छभन्दा अत्युक्ति नहोला। त्यसैकारण क्षेत्रीय-अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, सरकारका निर्णय र प्राथमिकतामा कांग्रेस र प्रधानमन्त्रीबीच तालमेलमा समस्या देखिन्छन्। निश्चितै छ– कांग्रेसले काँध फेरेको दिन एमालेका लागि पनि वामगठबन्धनको नारा लगाउनुको विकल्प हुने छैन। त्यस्तो स्थितिमा फेरि पनि संसद्मा रहेका वामहरू एक ठाउँ उभिने र उनीहरूकै नेतृत्वमा वैकल्पिक सरकार बन्ने सम्भावना कायमै छ। माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका साना वाम दल पनि कति दिन कांग्रेसको सहारामा बाँच्ने भन्ने प्रश्न त उठिरहेकै छ। कांग्रेस आफंै समस्या-संकटमा अल्झिरहेका बेला ०८४ मा किन कम्युनिस्टलाई बलियो बनाउन लाग्ला र ?    यो प्रश्नको गाम्भिर्तालाई जति छिटो मनन गरियो, त्यति नै उनीहरूको स्वास्थ्य राम्रो हुने निश्चित छ। 

हुन त, ०७४ मा झन्डै दुईतिहाइको वाम सरकार थियो। नेताहरूका व्यक्तिगत स्वार्थ, इगो र उन्मादका कारण आपसी झैझगडा, वेमेल र दुष्मनीले वाम आन्दोलन छिन्न भिन्न भयो। कोही कांग्रेसको फेर समाउँदै वैतरणी तर्नतिर लागे, कोही ‘मण्डले’ लाई काखमा राखेर शक्ति आर्जनको यात्रामा निस्के। त्यसपछिका दिनमा पनि मौका मिल्नासाथ एकले अर्कोलाई झुक्याउन, सिध्याउन र अस्तित्वै नामेट पार्न कसैले–कसैलाई बाँकी राखेनन्। धोखाधडी, बेइमानी, छलकपट र इगोका कारण उनीहरू एक ठाउँमा उभिन नमिल्ने गरी विभाजित छन्। तर, मौका मिल्नासाथ फेरि पनि वामगठबन्धनको रटान लगाएर कार्यकर्ताका मुख, आँखा र कान बन्द गराउन सक्छन्। परिस्थितिले उनीहरूलाई फेरि एक ठाउँ उभ्याउने अवस्था छिट्टै नआउला भन्न सकिन्न। 

क्षेत्रीय-अन्तर्राष्ट्रिय दबाब, स्वार्थको बेमेल, मिसन ०८४ र ठूला दलप्रतिको ‘अनाकर्षण एवं असन्तुष्टि’ का कारण कांग्रेस लामो समयसम्म एमालेसँग सहकार्यका पक्षमा देखिँदैन। हुन पनि, सँगै सत्तामा रहेर मिसन ०८४ मा एमालेविरुद्ध कांग्रेसले कसरी भोट माग्न सक्ला र ?  हालको स्थितिले कांग्रेस र एमाले नै एक अर्काका प्रतिस्पर्धी हुन्। दुवै दल सत्तामा रहेर ‘जस अपजस’ को हिसाव बराबर गरी चुनावमा भोट माग्दा जनताले कसलाई रोज्ने ? किन पत्याउने ? को हो विकल्प ? प्रश्न गम्भीर रूपमा उठ्नेछ। त्यसैकारण, कांग्रेससँगको एमाले गठबन्धन जति अमिल्दो लाग्छ, कम्युनिस्ट बीचको एकता त्यति नै प्राकृतिक हुन्छ। अब छुट्टाछुट्टै नाङ्ला पसल थाप्ने र एकले अर्कोलाई होचो देखाएर आफू अग्लो हुने प्रवृत्ति नत्यागेसम्म वाम आन्दोलन अघि बढ्न सक्दैन। नत्र, दुईतिहाइबाट बहुमत, बहुमतबाट अल्पमत हुँदै इतिहासमा ‘यदुवंशी’ हरू जस्तै नामेट हुन बेर लाग्दैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.