कन्या बाबुको बकपत्र

कन्या बाबुको बकपत्र

‘दुई सन्तानका बाबु म अझै कन्या छु। सम्बन्ध जोडिएको दशक पूरा हुन लाग्यो तर कुटुम्ब पक्षले छोरीको जीवन पूर्णरूपमा मलाई सुम्पिएको छैन त्यसैले अझै पनि म ‘कन्या बाबु’।’

भन्दा र सुन्दा अचम्म लाग्न सक्छ तर हिमाली संस्कारमा सम्बन्ध जोडिएको दुई दशकसम्म पनि सामाजिक रूपमा विवाह नहुनु स्वाभाविक हो। यहाँका शेर्पा, भोटे जातिमा छोरीपक्षले अन्य समुदायमा जस्तो एकैपटक छोरीलाई ज्वाइँको जिम्मा दिँदैन। छोरीसँग ज्वाइँको सम्बन्ध सामान्य रूपमा भने जोडिदिन्छ। सम्बन्ध पूर्ण हुन छोरीले ज्वाइँलाई कजाएर खान सक्नुपर्छ, सम्बन्ध परिपक्व हुनुपर्छ र सन्तान उत्पादन भएर दाम्पत्य जीवन पूर्ण हुनुपर्छ।

हिमाली संस्कारमा छोरीलाई अर्काका घरमा पठाउनुअघि केही सामाजिक, सांस्कृतिक र कानुनी आधार पूरा गर्नुपर्ने नियम छ। यो परम्परा पूरा नभए पनि केटा र केटीले छोराछोरी जन्माउन सक्छन्। रीतिथिति पूरा नगरी शारीरिक बन्धनमा बाँधिएर सन्तानलाई जन्म दिए पनि ती दम्पती सामाजिक रूपमा पति–पत्नी भने हुँदैनन्। अझ यसो भनौं, छोराछोरी जन्माए पनि कुनै पुरुषले आफ्ना छोराछोरीकी आमालाई श्रीमती भन्न सक्दैन, आफ्नो घरमा लैजान सक्दैन। उनका अभिभावकले छोरीलाई उसका पतिको घरमा पठाउनुअघि केही चरण पूरा गर्छन्। उनीहरूले ती पुरुषलाई परीक्षा लिएर पास र फेलसम्म गर्न सक्ने क्षमता राख्छन्। यस्तै सम्बन्धको एक उदाहरण हो– फुर्वा र याङ्जी शेर्पाको सम्बन्ध।

फुर्वा र याङजी शेर्पाको सम्बन्ध जोडिएको २२ वर्ष बित्यो। उनीहरूको बिहे भएको भने जम्मा एक वर्ष भयो। ठूली छोरी ख्वप कलेजमा इन्जिनियरिङ गर्दै छिन् भने सानो छोरा कक्षा ८ मा पढ्दै छन्। फुर्वा मेरा साढु दाइ हुन्। उनको पत्नीको परिवारकी कान्छी छोरी विवाह गर्ने मैले सम्बन्ध जोडेको आठ वर्ष पुगिसक्यो तर अहिलेसम्म हाम्रो विवाह भएको छैन। अभिभावक र आफन्तलाई हाम्रो सम्बन्धमा विश्वास जागेपछि मात्रै हाम्रो विवाह हुनेछ। एक पक्षबाट हेर्दा व्यवस्थित सम्बन्ध बनाउने खोजजस्तो देखिने तर यो प्रचलन कहिलेकाहीं त पुरुषलाई अनावश्यक झमेला हो कि भन्ने पनि लाग्छ।

हिमाली समाजमा विवाहले सामाजिक मान्यता पाउन छोरीले ज्वाइँलाई कजाएर खान सक्नुपर्छ, सम्बन्ध परिपक्व हुनुपर्छ र सन्तान उत्पादन भएर दाम्पत्य जीवन पूर्ण हुनुपर्छ।

हाम्रो संस्कारमा ज्वाइँलाई ‘हली’ को उपमाले चिनिन्छ। आफ्नी पत्नीलाई घर लैजान ससुरालीको विश्वास सकेसम्म जित्ने गरी पौरख देखाएर काम गर्नुपर्छ। चित्तबुझ्दो काम नगरेसम्म माइतीपक्षले छोरीलाई ज्वाइँसँग नपठाउन सक्छन्। छोरीमाथि देखाउने प्रेम मात्र हैन, उनलाई दुःख र मेहनत गरेर पालनपोषण गर्न सक्ने क्षमता र खुबीसमेत जाँच हुन्छ। ससुरालीमा पुगेका ज्वाइँले हलो–जुवा, कुटो–कोदालो बोकर गोरु डोर्‍याएर जोत्नका लागि बारी पुग्नुको विकल्पै हुँदैन। शेर्पा, भोटे समाजमा यो संस्कार नै भएकाले ज्वाइँका लागि अनौठो भने हुँदैन।

परापूर्वदेखि अगालिँदै आएको यो चलन अझै पनि हाम्रो समाजमा जीवितै छ। अन्य समुदायमा छोरी अन्माएपछि ज्वाइँको सम्मान अलि फरक रहेको पाइन्छ जहाँसम्म उच्च व्यक्तित्वका रूपमा सम्मान र सत्कार दिने गरेको पाइन्छ। शिक्षित परिवार र समाजले समेत संस्कारलाई तोड्न अझै चाहेका छैनन्। अझ अशिक्षित समाजमा छोरी पाउन अभिभावकको मन जित्नु जोकसैलाई मुस्किल पर्छ। छोरी हेर्न र माग्न कुटुम्ब पक्षबाट केटा नभई अभिभावक जाने प्रचलन छ। कुटुम्ब खुसी भए छोरी दिन सहमति हुन्छ तर ज्वाइँ कस्तो छ भन्ने प्रश्न गरिँदैन किनभने उसले परीक्षा दिन नै बाँकी हुन्छ।

हिमाली समाज लैंगिक समानता भएको समाज भने होइन। एक पत्नीले पाँचजना दाजुभाइलाई समेत तह लगाएर पतिको भूमिका निर्वाह गराउन लगाउने क्षमता त्यो महिलाले राख्छ। तर ती पुरुषले दोस्रो विवाह गर्ने आँट कहिल्यै गर्दैन। अझ भन्नुपर्दा बहुविवाह नहुने समाज हो हिमाली समाज। अधिकांश दम्पतीको पतिभन्दा पत्नी उमेरले जेठी हुने गर्छ। जीवन सम्बन्ध सहज हुने भन्दै उमेरले जेठी केटी मागेर सम्बन्ध जोड्ने परम्परा नै छ। हिमाली समाजमा कुनै पनि पुरुषले शासक बन्ने आँट कत्ति पनि गर्दैन। यहाँ सबैले खाएपछि मात्र पुरुषले खान पाउँछ। घरको सम्पूर्ण व्यवहार अनिवार्य रूपमा महिलाले नेतृत्व गर्ने परम्परा नै छ।

यसरी सम्बन्ध जोडेर सन्तान जन्मिए पनि सांस्कृतिक रीति पूरा नभएसम्म छोरी जिम्मा लगाएको मानिँदैन र कुनै घटना भए ज्वाइँ पक्षलाई कुनै आरोप नलगाई माइती पक्षले नै सबै जिम्मेवारी लिने चलन छ। सम्बन्ध गाँसिन्छ, कानुनी रूपमा विवाहको दर्तासमेत हुन्छ तर सामाजिक बन्धनले गर्दा आफ्नो पत्नीलाई दिनुपर्ने सम्मान र सत्कार नपाएपछि हिमाली क्षेत्रका पुरुष पीडित बन्ने गरेका छन्। सामाजिक संस्कारमा देखिने राम्रा पक्षलाई सुधार गर्नुपर्ने र नराम्रा पक्षलाई हटाउनुको विकल्प छैन। यो प्राचीन प्रचलनमा परिवर्तन आउनुको विकल्प छैन। राज्यले लागू गरेका ऐन, कानुनअनुसार सामाजिक संस्कारले मेल नखाँदा बेलाबेलामा समस्यासमेत आउने गरेको छ।

घटना संखुवासभाको हो, चार दाजुभाइसँग विवाह गरेकी एक महिलाले छोराछोरी बाबुहरूलाई जिम्मा दिएपछि माइला भाइले आफ्ना सन्तान नभएको भन्दै जिल्ला अदालतमा मुद्दासमेत दर्ता गरे। पछि अदालतले आमाको भनाइ नै अन्तिम भन्दै छोरा स्विकार्न बाध्य बनायो। यस्ता उदाहरण प्रशस्त छन्, जसले हिमाली समाजमा पुरुषको स्थान कमजोर भएको देखाउँछ। पुरुष त बाहिरफेर काम गर्ने हो भने घरचाहिँ महिलाकै भरमा चल्छ। यो समाजमा महिला शक्तिशाली मात्र होइन, सम्मानित पनि हुन्छ। यसको अर्थ यो महिला–पुरुष समानता भएको समाज भने होइन। एकनिष्ठ विवाह पद्धति र लैंगिक समानता यहाँ पनि आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.