भाइरलको संक्रमणबाट ३ बालबालिकाको मृत्यु, ५६२ मा स्वासप्रस्वास समस्या
सिन्धुली : पछिल्लो दुई सातादेखि सिन्धुलीका बालबालिकामा मौसमी भाइरलको संक्रमण देखिएको छ। भारइरलका कारण तीन बालिबालिकाको मृत्यु भएको छ। भाइरलका कारण बालबालिकालाई उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याउँदै गर्दा बाटौ मै मृत्यु भएको अस्पतालले जनाएको छ।
बालबालिकालाई एम्बुलेन्समार्फत उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको एम्बुलेन्स चालकले बताएको सिन्धुली अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले बताइन्। मृत्यु हुनेमा कमलाखोंच र मरिण क्षेत्रका बालबालिका भए पनि उनीहरूको पहिचान भने खुल्न सकेको छैन। भाइरल के हो भन्ने अझै यकिन हुन सकेको छैन।
उनीहरूमा भाइरल एन्फ्लुएन्जाको संक्रमण होकी भन्ने आशंका गरिए पनि प्रमाणित नभएको उनको भनाइ छ। ‘पछिल्लो दुई सातायता पाँच सय ६२ बालबालिकामा स्वासप्रस्वाससम्बन्धी भाइरल संक्रमण देखिएको छ,’ उनले भनिन्। यसबाहेक समयमा उपचारका लागि अस्पताल नल्याइएका तीनको मृत्यु भएको पाइएको हो।
विशेषगरी पाँच वर्ष मुनिका बालबालिकामा यस्तो संक्रमण देखिएको छ। ‘संक्रमणमा परेका बालबालिकामा रुघाखोकी, जरो, छातीमा इन्फेक्सन तथा घाँटीमा समस्या देखिने गरेको छ,’ उनले भनिन्। वर्षायाम, अत्याधिक, गर्मी र चिसोको सुरुआत भएर मौसममा परिवर्तन आउन थालेपछि यस्तो रोगको संक्रमण हुन थालेको उनको भनाइ छ। भाइरलको संक्रमणमा परेका बालबालिकाको ल्याब परीक्षणमा भाइरल एन्फ्लुएन्जाको संक्रमण नभए पनि घाँटीमा भने गम्भीर समस्या देखा परेको पाइएको छ।
बालबालिकामा भाइरलको संक्रमण देखा पर्न थालेपछि महामारी सरुवा रोग नियन्त्रण तथा इपिडेमियोलोजी महाशाखाबाट रेशम लामिछानेको नेतृत्वमा आएको ल्याब टेक्निसिएनको टिमले संक्रमित बालबालिकाको ल्याब परीक्षण गरेको छ।
टोलीले १० जना बालबालिकाको ल्याब परीक्षण गर्दा कसैमा पनि एन्फ्लुएन्जाको संक्रमण नदेखिए पनि घाँटीमा भने भाइरलको संक्रमण देखिएको गौतमको भनाइ छ। स्वासप्रस्वासको समस्या भएर आउने अधिकांश बालबालिकामा घाँटीको संक्रमण समेत देखिएको छ। यस्ता बालबालिकाको अस्पतालमै भर्ना गरी उपचार भइरहेको छ भने दुई बालबालिकालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।
यस्तो संक्रमणबाट ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिका पीडित छन्। १५ दिनयतामात्र जिल्ला अस्पतालमा दैनिक ३० देखि ६० जना रुघा लाग्ने, ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने बालबालिका उपचारका लागि आइरहेको गौतमले बताइन्। जिल्लामा अधिकांश बालबालिका भाइरलको संक्रमणमा परेपछि अस्पतालमा भुइँमै राखेर उपचार थालिएको छ। बालबालिका बाहेक अन्यलाई अस्पतालमा भर्ना लिइएको छैन। संक्रमित बालबालिकालाई एन्टीबायोटिक औषधी चलाउन गाह्रो हुने भएपछि छातीमा भएको इन्फेक्सन बाफमार्फत हटाउने गरिएको छ।
डाक्टर गौतमका अनुसार बालबालिकालाई भाइरलबाट जोगाउन खोक्दा, हाच्छिँउ गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने, छोपाउने गर्न सुझाव छ। केही खानेकुरा खानुअघि तथा खाइसकेपछि साबुनपानीले मिचीमिची हात धुन, पोसिलो र झोल पदार्थ प्रशस्त मात्रामा खान, खुवाउन, ज्वरो आएका बालबालिकालाई नगुम्सिएको हावा ओहोरदोहोर हुने कोेठामा आराम गराउन उनले सुझाव दिइन्।
ज्वरो रुघाखोकी लागेको बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजान, शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्न, अरूले प्रयोग गरेको रुमाल, कपडा प्रयोग नगर्न, नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्रै पुनः प्रयोग गर्न चिकित्सकको आग्रह छ।