महानन्दा रोड, घर नम्बर– २५

महानन्दा रोड, घर नम्बर– २५

जहाँ हामी सानो छँदा अनौठा राता सालिक देख्थ्यौं, त्यहाँ ठूल्ठूला भिडन्त भएका रहेछन्। त्यो सानो गाउँको झिल्कोले पछि भारतभरि डँढेलोको रूप लियो।


सायद अभिजितका निम्ति चारु मजुम्दार आफ्ना बुवाभन्दा बढी राजनीतिक नेता हुन्– आफ्नो राजनीतिका आदर्श। त्यसैले कुराकानीमा प्रायः उनी ‘कमरेड चारु’ या ‘चारुजी’ भन्न रुचाउँछन्। उनी १२ वर्षका मात्र थिए, जब चारु मारिए। त्यो उमेरमा उनले बुवाबाट जति सिक्न पाए, त्यसभन्दा बढी प्रभाव उनलाई पछि चारुको राजनीतिले पार्‍यो। त्यसैले चारु–विरासतलाई नै पछ्याए, भिन्न रूपमा।

भारतको पूर्वोत्तर सहर सिलिगुडीको महानन्दा पारा रोडमा रहेको घर नम्बर– २५ त्यो विरासतको उद्गम हो। त्यहीँ बसेर चारु मजुम्दार र उनका कमरेडहरूले नक्सलवादी विद्रोहको खाका कोरेका थिए। हामी–अभिजितलाई भेट्न त्यहीँ पुग्यौं। व्यस्त, भीडभाड र कोलाहलपूर्ण सिलिगुडीको एउटा गल्लीभित्र पसेपछि भेटिन्छ, चारुको त्यो पुख्र्यौली घर। एकतले, काठले बनेको, जस्ताले छाएको, नीलो रङ लगाएको, बाहिर सानो फूलबारी पनि रहेको त्यो घर सिलिगुडीमा भकाभक बनिरहेका नयाँ कंक्रिट भवनहरूको भीडमा अपवादझैं लाग्छ। जसरी दक्षिण एसियामा माओवादी विद्रोहको झिल्को सल्काउने त्यो ठाउँमै माओवाद अचेल अपवादको राजनीतिसरह मानिन्छ।

अभिजितलाई यसको पर्वाह छैन। उनलाई हिजोको नक्सलवादी विद्रोहले दक्षिण एसियाली राजनीति र समाजमा कति गहिरो छाप छाडेको छ, त्यो थाहा छ। अनि गल्ती कहाँ–कहाँ भयो, त्यसको समीक्षा पनि छ। त्यसैले उनी नक्सलवादलाई नयाँ शिराबाट निरन्तरता दिने राजनीतिमा होमिएका छन्। तर, झट्ट हेर्दा उनी नेता कम, चिन्तक ज्यादा लाग्छन्। सिलिगुडी कलेजमा अंग्रेजी अध्यापन गर्ने अभिजित भारतमा बढ्दो असहिष्णु मोदी–राजनीतिको जति आलोचना गर्छन्, वामपन्थी चिन्तन–चेत नवउदारवादबाट संक्रमित हुँदै गएकोमा उत्तिकै चिन्तित छन्। यस्तो अवस्थामा चारुले देखाएको लक्ष्य फरक ढंगबाट कसरी हासिल गर्ने ?  यही मन्थनमा छन्।

मैले सोधें, ‘अहिले फर्केर हेर्दा चारु मजुम्दारलाई कस्तो पाउनुहुन्छ ?’

‘चारुजीले जे गर्नुभयो, सबै राम्रो काम गर्नुभयो– म छोरा भए पनि त्यसो भन्दिनँ। गल्तीहरू धेरै भए। तर, त्यो चारुजी एक्लैले गरेको होइन, पार्टीले ट्याक्टिकल लाइन लिँदा त्रुटिहरू गरेको हो,’ अभिजितले प्रष्ट्याउन खोजे, ‘कम्युनिस्ट पार्टी भनेको नेता एक्लैले चलाउने होइन, त्यो सामूहिक निर्णय प्रक्रियाबाट चल्छ। त्यस दौरान गल्तीहरू भए। ती गल्तीलाई छाडेर हेर्ने हो भने, आज पनि भारतमा क्रान्तिकारी राजनीति गर्ने हो भने, तपाईंले चारु मजुम्दारलाई पन्छाएर अगाडि बढ्न सक्नु हुन्न।’

उनका विचारमा, चारुले भारतको कम्युनिस्ट आन्दोलनमा दुईखाले योगदान पुर्‍याए। पहिलो, किसानहरूलाई संगठित गरेर सशस्त्र विद्रोहमा उतार्न सफल भए। दोस्रो, आम जनतालाई केन्द्रमा राखेर इतिहासको पुनर्लेखन गर्नुपर्ने अवस्था सिर्जना गरे।

चारुका छोरा अभिजित मजुम्दार।

‘तेस्रो विश्वमा चाहे नेपालमा होस् या भारतमा, कृषिमा आधारित अर्थतन्त्र भए पनि किसानहरू नै सबैभन्दा दबिएका छन्, संगठित पनि छैनन्। उनीहरूमा क्रान्तिकारी चेत या हिंसाको स्वभाव केही देखिन्न। तर, इतिहास हेर्नुभयो भने जबजब किसानमाथि अत्याचार भएको छ, त्यसको जवाफ उनीहरूले हतियारबाटै दिएका छन्। सशस्त्र विद्रोह गरेका गरेका छन्। नक्सलवादी त्यसकै उदाहरण हो। चारुले किसानहरूको त्यो विद्रोही चेतलाई राम्रोसँग उजागर गर्नुभयो।’

‘दोस्रो कुरा के भने, इतिहास बनाउने भनेको जनताले हो। तर, त्यसअघि भारतको कम्युनिस्ट आन्दोलनमा जनताको इतिहासलाई त्यसरी हेरिएको थिएन। सबाल्टर्न हिस्ट्री लेखिएकै थिएन। त्यहाँ ठूल्ठूला हस्ती र बुद्धिजीवी थिए। उनीहरूको तुलनामा सायद चारु मजुम्दारलाई कम विचारक ठानिन्थ्यो होला। तर, उनले जे गरे त्यसले बंगालमा मात्र होइन, भारतमात्र होइन, पुरै दुनियाँमा नयाँ ढंगले सोच्ने अवस्था सिर्जना गरिदियो। नक्सलवादको जुन उभार आयो, त्यसले १९औं शताब्दीको इतिहासलाई नयाँ तरिकाबाट व्याख्या गर्‍यो। हिजो बनाइएका प्रतीकहरू तोडिए। मलाई लाग्छ, नक्सलवादी आन्दोलन हुँदैनथियो भने आज सबाल्टर्न इतिहास स्थापित हुने थिएन।’

हामी घरभित्र पस्यौं। सहकर्मी पर्वत पोर्तेल, यज्ञश र म। हिन्दुस्तान टाइम्सका सिलिगुडी संवाददाता प्रमोद गिरीमार्फत हामी त्यहाँ पुगेका थियौं। केही वर्ष बितिसक्यो। तर, दृश्य ताजै छ। चारुको कोठा उस्तै रहेछ। नीलो भित्ता, त्यसमा टाँगिएका लेनिन, स्टालिन र माओका तस्बिरहरू। केही किताब। सेतो रङ लगाएको काठको सिलिङ र त्यसमा झुन्ड्याइएको पंखा। अनि त्यसैमुनि आरामदायी कुर्सी, जहाँ बसेर सोच्ने–पढ्ने गर्दा रहेछन् चारु। इतिहास बनेका थुप्रै घटनाक्रम सायद त्यही कोठाको सोच–प्रक्रियाको उपज होलान्– मलाई त्यस्तो लाग्यो। कुनामा चारुकै कालो सालिक पनि राखिएको रहेछ। लाल अभियानका अगुवालाई कालो रङ– कता–कता नमिलेझैं लाग्यो।

अभिजितका दुई दिदीहरू अनिता र मधुमिता पनि भेटिए अर्को कोठामा। अनिता डाक्टर रहिछन्, अनि मधुमिता स्कुल शिक्षक। उनीहरू चारुको बारेमा त्यति बोल्न चाहेनन्, जति भाइ खुला थिए।

मैले अभिजितलाई नै सोधेँ, ‘सानो छँदा घरको परिवेश सम्झनुहुन्छ ?’

‘त्यसबेला अलि कम उमेर भएकाले सबै कुरा त बुझ्न सक्दिनथिएँ, तर हाम्रो घर र छेउछाउमा केही भइरहेको छ भन्ने बुझिन्थ्यो। बिहानदेखि बेलुकासम्म सयभन्दा बढी कमरेडहरू हाम्रो घरमा आइरहेका हुन्थे। अनेक छलफल चल्थ्यो। त्यसबाट के चाहिँ प्रस्ट हुन्थ्यो भने हामी छरछिमेकका मान्छे र अरू साथीभाइभन्दा अलग अवस्थामा छौं,’ अभिजितले थपे, ‘सन् १९६९ पछि जब राज्य दमन बढ्यो, चारुजी भूमिगत हुनुभयो। घरमा पुलिसले बारम्बार छापा मार्न थाल्यो। बाहिर पनि हरेक दिन कोही न कोही मारिएको सुनिन्थ्यो। अनि हामीले के बुझ्न थाल्यौं भने क्रान्तिको प्रयास भइरहेको छ, यसलाई सफल बनाउन धेरै कुरा गर्नुछ र धेरै कुरा गुमाउनु पनि पर्नेछ। कस्तो लाग्न थालेको थियो भने– अब हामी पनि लामो समय बाँच्दैनौं।’

चारु मजुम्दार र उनकी श्रीमती लीला सेन गुप्ता। 

यता वारि झापामा पनि चारु र उनका अनुयायीको नाम हामी केटाकेटी हुँदै सुन्थ्यौं। धुलाबारीबाट मेची पुल तरेर पारी बुवाआमासँग सौदा किन्न नक्सलबारी जाँदा होस् या कहिलेकाहीँ लुकेर त्यहाँका भिडियो हलमा फिल्म हेर्न पुग्दा होस्, बाटामा देखिने एक तमासका राता सालिक अनौठा लाग्थे। पहिले त्यहाँ लेनिन, स्टालिन र चारुमात्र देखिन्थे। पछि माओ, लिन प्याओ र अरू को–को थपिए। त्यससँगका अनेक ‘किवंदन्ती’ सुन्दै हामी हुर्कियौं।

भारतमा बेलायती जगजगी रहेकै बेला सन् १९१९ मा जन्मिएका चारु मजुम्दार १९ वर्षको उमेरमै कंग्रेस पार्टीमा प्रवेश गरेका रहेछन्। त्यसबेला उनका बुवा वीरेश्वर दार्जिलिङ जिल्ला कंग्रेस कमिटीको अध्यक्ष थिए। तर, एकाध वर्षमै चारु कम्युनिस्ट पार्टी (सीपीआई) तर्फ लागे। किसान आन्दोलनमा सामेल भए। तर, सीपीआई नेतृत्वको यथास्थितिवादी सोचसँग उनी सहमत थिएनन्। सन् १९६४ मा सीपीआईबाट अलग्गिएर सीपीएम पार्टी बनेपछि उनी त्यसमै गए। तर, त्यहाँ पनि चित्त बुझेन। लगत्तै क्रान्तिकारी स्वभावका कार्यकर्ताहरू मिलेर अल इन्डिया कोअर्डिनेसन कमिटी अफ कम्युनिस्ट रिभोल्युसनरिज बनाए, अनि १९६९ मा त्यसैलाई सीपीआई एमएलमा रूपान्तरित गरे, जसको नेतृत्व चारु स्वयंले गरे।

त्यसअगावै सन् १९६७ मै नक्सलबारीमा विद्रोहको झिल्को सल्किसकेको थियो। जहाँ हामी सानो छँदा अनौठा राता सालिक देख्थ्यांै, त्यहाँ ठूल्ठूला भिडन्त भएका रहेछन्। त्यो सानो गाउँको झिल्कोले पछि भारतभरि डँढेलोको रूप लियो। अहिले पनि आन्ध्र, महाराष्ट्र र झारखण्डका जंगलहरूमा त्यो माओवादी स्वरूपमा सल्किरहेकै छ। त्यसको वैचारिक निर्यात बंगलादेश, श्रीलंका, नेपाल आदिमा पनि भयो। सन् ७० दशकको झापा विद्रोह त्यसैको नेपाली संस्करण थियो, जसको जगमा नेकपा एमाले जन्मियो। प्रधानमन्त्री केपी ओली र अरू थुप्रै नेकपा नेताहरूको राजनीतिक जीवन त्यही झापा विद्रोहबाट सुरु भएको हो।

उसबेला सबैभन्दा सुनिने नाम सीपी र आरके मैनाली दाजुभाइको थियो, जो अहिले गुमनामसरह छन्। अभिजितले भने सीपीलाई सम्झिए। सीपीलाई सघाउन चारुका अनुयायीहरू सीमापारि पुगेको प्रसंग कोट्याए। ‘अहिले पनि हाम्रो पार्टीमा कान्द्रा मुर्मु, राजेन्द्र राजवंशीलगायतका बुजु्रग कमरेडहरू हुनुहुन्छ, जो कुनै बेला लामो अवधि नेपालको जेलमा बस्नुभयो। सीपीसँगै काठमाडौंको जेल तोडेर आएका नेमु सिंहजस्ता कमरेडहरू पनि हामीसँग हुनुहुन्छ। उहाँहरूको छुट्टै इतिहास छ,’ अभिजितले बताए।

इतिहास बनेका थुप्रै घटनाक्रम सायद त्यही कोठाको सोच–प्रक्रियाको उपज होलान्– मलाई त्यस्तो लाग्यो।

उसबेला नक्सलवादी आन्दोलनमा लागेकाहरूको लुक्ने सहज ठाउँ बनेको थियो सीमावर्ती नेपाली इलाका। ‘मेची नदी पार गर्नेबित्तिकै अर्को देशमा पुगिन्छ। पुलिसबाट बच्ने त्योभन्दा सजिलो उपाय के हुन्थ्यो,’ अभिजितले यसो भनेपछि मैले सोधें– चारु पनि नेपाल छिर्नु भएको थियो ? ‘पक्कै जानुभएको थियो, तर कहिले–कुन मितिमा जानुभयो, कसलाई भेट्नुभयो, त्यसको पूरा रेकर्ड चाहिँ हामीसँग छैन,’ उनले भने।

मैले अर्को प्रश्न तेर्स्याएँ, ‘चारु प्रहरी हिरासतमा मारिँदाको घटनालाई चाहिँ कसरी सम्झनुहुन्छ ?’

‘उहाँ १६ जुलाई १९७२ मा पक्राउ पर्नुभएको थियो। हामी घरमा दिउँसोको खाना खान लाग्दै थियौं, आमा पनि हुनुहुन्थ्यो। आनन्दबजार पत्रिकाका संवाददाता विनोद चक्रवर्ती अचानक आउनुभयो। र, भन्नुभयो– चारु दालाई समात्यो। त्यसभन्दा पहिले पनि यस्तो हल्ला चलिरहन्थ्यो। त्यसैले होइन होलाजस्तो लागेको थियो। तर, भोलिपल्ट त स्टेट्सम्यान पत्रिकामा उहाँलाई कोलकातामा पुलिसले पक्रेर लैजाँदै गरेको तस्बिर नै छापियो। अनि हामी पनि कोलकाता गयौं। लालबजारको पुलिस हिरासतमा उहाँलाई भेट्यौं। निकै यातना दिइएको रहेछ। चारुलाई त्यसअघि दुईपटक कार्डियाक अरेस्ट भइसकेको थियो। एन्जाइनाको पेन हुन्थ्यो। रातिराति गएर दवाई ल्याउनुपर्ने हुन्थ्यो। त्यस्तो अवस्थामा उहाँलाई पेथेडिनको इन्जेक्सन दिनुपथ्र्यो। त्यसले मात्र बचाउँथ्यो। यी सबै लाइफसेभिङ मेडिसिन जो उहाँले लिनुहुन्थ्यो, त्यसलाई त्यहाँ रोकिएको थियो। त्यसैले हामी भन्छौं– उहाँको हत्या नै गरिएको हो।’

नक्सलवारीको त्यो गाउँ, जहाँबाट विद्रोहको झिल्को उठेको थियो।

पक्राउ परेको १२ दिनपछि जुलाई २८ बिहान ४ बजे चारुको निधन भएको थियो। त्यस अवधिमा उनलाई अदालत पनि लगिएन। ‘उहाँलाई गैरकानुनी ढंगले हिरासतमा राखियो। लोकतान्त्रिक प्रक्रियाअनुरूप अदालतमा लैजाने, उपचार गर्न दिने– केही पनि भएन,’ अभिजितको अनुहारमा आक्रोश झल्कियो, ‘त्यही लालबजारको लकअपमा उहाँ मारिनुभयो।’

कोलकाता पुगेका बखत म लालबजारको प्रहरी कार्यालय हेर्न गएँ। चारु पक्राउको वर्णनमा जे पढिएको थियो, कोलकाता पुलिस मुख्यालय रहेको इँटा रङको त्यो उपनिवेशकालीन भवन खासै बदलिएको रहेनछ, जसरी चारुको घर अहिले पनि उस्तै छ। लालबजारमा मारिएका चारुको शवलाई सिलिगुडी ल्याउन दिइएन। अभिजित, कोलकातामै मेडिसिन पढिरहेकी उनकी दिदी अनिता र आमा लीलालाई राखेर त्यहीँ प्रहरी घेराभित्रै मध्यरात उनको लास जलाउन लगाइयो।

हरेक सफल पुरुषका पछाडि महिलाको हात हुन्छ भन्ने गरिएझैं धेरै राजनीतिज्ञको उत्थानमा प्रायः पत्नीको त्याग जोडिएको हुन्छ भन्दा फरक पर्दैन। चारुको परिवारमा पनि त्यस्तै भएको थियो। उनकी श्रीमती लीला सेन गुप्ता कुनै बेला चारुसँगै कम्युनिस्ट पार्टीको दार्जिलिङ जिल्ला कमिटी सदस्य थिइन्। जेल पनि परेकी थिइन्। तर पछि पतिलाई फुर्सद दिन उनले त्याग गरिन्। सक्रिय राजनीतिबाट अलग्गिएर घर–व्यवहार सम्हाल्नेतिर लागिन्।

‘जब चारु भूमिगत हुनुभयो, सारा परिवारको बोझ माताजीमाथि आइपर्‍यो। हामी तीन–तीनजना बच्चा, अरू पनि धेरैजना आश्रित थिए हाम्रो घरमा। घर कसरी चलाउने, उहाँलाई निकै गाह्रो थियो। उहाँ एउटा बिमा कम्पनीको सामान्य एजेन्टमात्र हुनुहुन्थ्यो। कति नै पैसा हुन्थ्यो होला र ?’, सन् १९९५ मा बितेकी आफ्नी आमालाई सम्झिँदै अभिजितले भने, ‘हामीलाई पढाउन पनि माताजीले धेरै दुःख झेल्नुपर्‍यो। यो सबैले गर्दा होला– हामी केही फरकखाले भयौं।’

त्यो फरकपन, फरक सोचाइ चारु–पुत्रमा अहिले पनि झल्किन्छ।

ट्विटर : @sudheerktm


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.