वडा सदस्यको घरजग्गा कब्जा
रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले रोल्पाका एक वडा सदस्यको घरजग्गा कब्जा गरेको छ। माडीगाउँपालिका–१ पेदीखोलाका वडा सदस्य हरिप्रसाद घर्तीको घरजग्गा विहिबार दिउँसो कब्जा गरेको हो। माडीगाउँपालिका स्तरीय नेकपाको ‘जनसत्ता’ र स्थानीय गाउँलेले घरजग्गा कब्जा गरेको नेकपाका नेता सुर्य खड्काले जनाए।
वडा सदस्य घर्तीले पेदीखोला गाउँको आसपासका विभिन्न योजनामा आर्थिक हिनामिना गरेको आरोप लगाइएको छ। आर्थिक पारदर्शिता नगरेसम्म घरजग्गा कब्जा हुने खड्काले जनाए। वडा सदस्य घर्तीलाई पदबाट राजिनामा समेत दिन लगाइएको छ। भदौ १२ गते दिउँसो ४ वजे १ नम्बर वडा कार्यालयमा पुगेर सदस्य घर्तीले राजिनामा वुझाएको अध्यक्ष आमबहादुर घर्ती वताउँछन्। गाउँले र नेकपाका कार्यकर्ताकै उपस्थितिमा राजिनामा वुझाएका थिए। घर्ती भन्छन्, ‘कार्यालयबाट म घर जाँदैगर्दा फोन गरेर जबरजस्ती राजिनामा दिन लगाएको वताए।’
कुटपिट गर्दै राजिनामा दिन भनिएपछि राजिनामा गरेको सदस्य घर्तीले गाउँपालिका अध्यक्षलाई वताएका छन्। ‘घरबाट लगेपछि साँझपख पनि कुटपिट गरे। भोलिपल्ट पनि कुटियो।’, सदस्य घर्ती भन्छन्, ‘दवावमा राजिनामा दिनु प¥यो।’ नेकपाका कार्यकर्ताले भने कुटपिट नगरेको दावी गर्छन्। ‘गाउँलेले लछारपछार गरेका हुनसक्छन्।’, नेता खड्का भन्छन्। राजिनामा दिने, गाउँकै विद्यालयलाई ७५ हजार दिने र सबै योजनाको खर्च पारदर्शिता गर्नुपर्ने शर्त नेकपाका कार्यकर्ताले राखेका थिए।
राजिनामा दिएर गाउँपालिका पुगेका सदस्य घर्ती गाउँ फर्किएर योजनाका खर्च पारदर्शिता गर्न नचाहेको र छलफल समेत गर्न अटेरी गरेको भन्दै नेकपाको कार्यकर्ताले भदौ १४ गते दिउँसो झण्डा गाड्दै घरजग्गा कब्जा गरेका हुन्। विभिन्न योजनाको ४ लाख २४ हजारको हिसावकिताव दुरुस्त देखाउन नसकेको नेकपाको आरोप छ। केयूविकेको सहयोगमा पेदीखोलामा निर्माण गरेको लालीगुराँस कृषक समूहको विउ भण्डारण भवन निर्माण, भवन मर्मत, पानीपोखरी निर्माण, सिम्रीखोला कुलो मर्मत, वाख्राको खोर निर्माण, वन सफाई, ठाडोखोला खानेपानी योजना, सुन्तला पकेट क्षेत्र निर्माण लगायतका योजना खर्च पारदर्शि नभएको नेकपाका कार्यकर्ताको दावी छ।
विभिन्न योजनाका लागि गाउँमा आएको १८ लाख ४३ हजार ५ सयको खर्च विवरण पारदर्शिता गर्नसके मात्र घरजग्गा कब्जामुक्त गरिने नेकपाले जनाएको छ। ‘सदस्य घर्तीले विभिन्न योजनाको पैसा भ्रष्टाचार गरेको भन्दै गाउँलेले डेढ वर्षअघि नै नेकपालाई निवेदन दिएका थिए।’, नेकपा नेता खड्काले भने, ‘सो बारे वुझ्दा हिसाव दुरुस्त देखाउन सकेका छैनन्। जनताको सामु हिसाव दुरुस्त देखाउन सके राजिनामा र कब्जा फुकुवा गरिन्छ।’
सदस्यको कब्जा गरिएको घरगाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि आधा घण्टा टाढाको सडक दूरीमा पर्छ। घरमा ताला लगाई झण्डा राखेको थाहा पाएपछि प्रहरी घर्तीको घरमा पुगेको इलाका प्रहरी कार्यालय घर्तीगाउँका इन्चार्ज प्रहरी निरिक्षक राजकुमार पहाडीले वताए। ‘घरको ढोकामा लगाएको ताला र गाडिएको झण्डा नियन्त्रणमा ल्याएका छौं।’, प्रहरी निरिक्षक पहाडी भन्छन्, ‘सदस्यले कार्यालयमा जाहेरी समेत दिएका छन्।’