पाथीभरा गोल्डकपको उपाधि रेडस्टारलाई
ताप्लेजुङ : आफ्नै जिल्लाको न्यु स्टार क्लबलाई पराजित गर्दै रेडस्टार क्लब झापाले तेस्रो पाथिभरा गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा रेड स्टारका कप्तान कर्ण लिम्बूले गरेको गोल निर्णायक बनेपछि रेड स्टारले उपाधि जितेको हो ।
लिम्बूले अतिरिक्त समय सकिन दुई मिनेट बाँकी छँदा पाएको कर्नरलाई जाली चुमाएका थिए । खेलको पूरा अवधि रेड स्टारलाई दबाबमा राखे पनि न्यु स्टार अन्ततः २–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित बन्यो । निर्धारित ९० मिनेटको समय दुवैले १–१ गोलको बराबरी खेलेका थिए । रेड स्टरका ग्लोरीले २२औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । कर्ण लिम्बूले प्रहार गरेको फ्रिकिकलाई विपक्षी डिफेन्डरलाई छक्याउँदै विदेशी खेलाडी ग्लोरीले गोल गरेका थिए ।
खेलको ७२ औं मिनेटमा विजय राईको गोलमार्फत न्यु स्टार खेलमा फर्कने प्रयास गरेको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुमै कप्तान निशान राई घाइते भएपछि न्यु स्टार दबाबमा परेको थियो । फाइनल खेलको म्यान अफ दी म्याच न्यु स्टारका पदम लामा बने । उपाधि विजेताले तीन लाख नगद पुरस्कार तथा पाँच किलो चाँदी र दुई तोला सुन जडित ट्रफी पुरस्कार पायो । उपविजेता न्यु स्टारले एक लाख ५१ हजारमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर रेड स्टारका दिनेश थापामगर, डिफेन्स न्यु स्टारका विशाल दर्जी, फरवार्ड रेड स्टारका ग्लोरी, मिडफिल्डर न्यु स्टारका सञ्जोग राई, प्रशिक्षक रेड स्टारका खमिरगिल्सन कञ्दङ्वा घोषित भए । यसैगरी सर्वोत्कृष्ट खेलाडी रेड स्टारका विवेक पौडेल बने । उनीहरुले जनही १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिता लाखेजात्राको अवसरमा २०२९ सालदेखि निरन्तर हुँदै आएको छ ।