सुधारगृह बनाइँदै कारागार
इलाम : १२ वर्षदेखि कैद भुक्तान गरिरहेका दीपक राईले इलाम कारागार आइपुग्दा ‘आकाश–पातालको फरक’ पाए । विराटनगर कारागारबाट कैदी जीवन सुरु गरेका उनले झापा, सुनसरी, सप्तरीमा कैद भुक्तान गरे । दुई वर्षअघि इलाम कारागार आएका उनले भने, ‘सप्तरीबाट आउँदा इलाम कारागार होइन, होस्टेलजस्तै लाग्यो ।’
बिरामी पर्दा सिटामोलसमेत नपाउने कारागारमा दुःख भोगेर आएको उनले सुनाए । ‘यहाँ त रुघा लाग्दा स्वास्थ्यकर्मीको सेवा पाइन्छ’, उनले भने । क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायत आधारभूत कुरामा पनि कारागारको अवस्था नाजुक रहेको सुनिएका बेला उनले यस्तो बताएका हुन् । इलाम कारागारका कैदी आफू बसिरहेको कारागारलाई सुधारगृहका रूपमा अथ्याउने गर्दछन् ।
कारागारभित्र फुटसल खेल्न मैदानको व्यवस्था छ । कारागार अगाडिको पोखरीमा माछा सलबलाएको हेर्दै दिन कटाउने धेरै कैदीबन्दी भेटिन्छन् । जेलर भक्तबहादुर खड्काका अनुसार ९ सय पुस्तक रहेको पुस्तकालय, जिमखाना, भलिबल, फुटसल, चेस, क्यारेमबोर्ड, ब्याडमिन्टन, स्किपिङलगायत खेलका लागि सामग्री र मैदानको व्यवस्था कारागारभित्र छ । यसले गर्दा अपराधको पश्चात्तापबाहेक कैदीले अरू असुविधा भोेग्नु नपर्ने उनको भनाइ छ ।
पहिलो नमुना कारागारका रूपमा भौतिक संरचना निर्माण गरिएको कारागारको क्षमता १ सय २५ जना अट्ने छ । यहाँ महिला १३, ज्येष्ठ नागरिक चारसहित २ सय ३८ जना कैदी छन् । क्षमताभन्दा बढी कैदी भए पनि न्यूनतम आवश्यकता पूर्ति भइरहेको जेलर खड्काको दाबी छ । भने, ‘कसैले बेडबाहिर सुत्नुपरेको छैन, अरु सुविधामा पनि गुनासो आएको छैन ।’
उनका अनुसार सशस्त्र द्वन्द्वको चपेटापछि सुधारगृहका रूपमा कल्पना गरेर कारागार पुनर्निर्माण गरिएको हो । आर्थिक अभावका कारण उत्प्रेरणात्मक कार्यक्रम अहिले पनि गर्न नसकिएको उनले सुनाए । केहिलेकाहीं योग र प्रवचन भए पनि जीवनोपयोगी धेरै काम गर्न नसकिएको उनले स्वीकार गरे ।
उनका अनुसार कारागारमा चौकीदार, नाइके र सहायक नाइके छनोट कैदीले नै गर्छन् । ७० वर्षमाथिका ज्येष्ठ कैदीलाई कारागारमा बेग्लै राखिएको छ । नुहाउने र शौचालयको सहज पहँुच भएको कोठामा राखिएका ज्येष्ठ नागरिकका लागि चौकीदारको व्यवस्था गरिएको उनले बताए । कैदीबन्दीको गतिविधि नियाल्न नाइटभिजन सीसीटीभी क्यामेरा जडान गरिएको छ भने उपचारका लागि एक जना अहेवले कारागारमै सेवा प्रदान गर्दै आएका छन् । ‘प्राथमिक उपचारका लागि उपकरण, बेड र स्वास्थ्यकर्मी अस्पतालमै उपलब्ध छ’, उनले भने ।
हालै चौकीदार नियुक्त राईका अनुसार खेलकुद, अध्ययनबाहेक हातमा सीप हुनेले मुढा बुन्ने, गुडिया बनाउने, टोपी बुन्नेदेखि क्यान्टिन चलाउने काम गर्ने गरेका छन् । मुढा बनाउने पेसाबाटै ५० जनाले आर्थिक लाभ गरिरहेको उनको भनाइ छ ।
इलाम कारागारको मुढा चर्चित मानिन्छ । कैदीले महिनामा १ सय ५० वटा हाराहारीमा मुढा बिक्री गर्ने गरेका छन् । कारागारमा बनाइएको मुढा प्रतिगोटा ३ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरको उनको भनाइ छ ।
खड्काका अनुसार यो कारागारलाई सुधारगृहका रूपमा विकास गर्ने प्रयास भइरहेको छ । सरकारले उपलब्ध नगराएका सुविधा सरोकारवालासँगको सहकार्यमा उपलब्ध गराइने उनको भनाइ छ ।