बसपार्कमा मेला, सडकमा पार्किङ
ताप्लेजुङ : जिल्ला प्रशासन कार्यालयले बर्सेनि अस्थायी बसपार्कमा मेला सञ्चालन गर्ने अनुमति दिने गरेको छ । सदरमुकाम फुङलिङस्थित तोक्मेडाँडामा रहेको अस्थायी पार्किङस्थलमा मेला लगाएर सवारी साधनचाहिँ मेची राजमार्गमा लाम लगाएर राखिँदै आएको छ ।
तोक्मे क्षेत्र सबैभन्दा बढी जमघट हुने स्थान हो । जिल्लाबाहिर र जिल्लाका विभिन्न गाउँ जाने तथा आउने सवारी साधन यहींबाट सञ्चालन हुन्छन् । राजमार्गमै सवारी साधन राखेर पार्किङस्थलमा मेला लगाउन दिनु स्थानीय प्रशासन र नगरपालिकाको गैरजिम्मेवारी भएको स्थानीयको गुनासो छ । यसले दुर्घटनाको जोखिम बढाएको स्थानीय दीपेन पोमूले बताए ।
‘यस्तो कार्यले स्थानीय सरकार र प्रशासन नागरिकप्रति उत्तरदायी नभएको देखाउँछ’, उनले भने, ‘सडकै ढाक्ने गरी गाडी पार्किङ गरिँदा दुर्घटना भयो भने जिम्मेवारी कसले लिने ? ’ जिल्लावासीलाई मनोरञ्जन र स्थानीय तहलाई राजस्वका हिसाबले मेला आवश्यक भए पनि गलत ठाउँमा लगाइएको उनको भनाइ छ । राजस्व उठ्छ भन्दैमा नगरपालिका र प्रशासनले ठाउँको विचार नगरी अनुमति दिन नहुने उनले बताए ।
बजार क्षेत्रमा पार्किङस्थल र बसपार्क छैन । त्यसैले फुङलिङ–४ मा पर्ने व्यक्तिगत जग्गा वर्षौंदेखि बसपार्ककै रूपमा प्रयोग हुँदै आएको छ । ‘व्यक्तिगत जग्गा भए पनि अहिलेको हाम्रो बसपार्क यही हो’, स्थानीय योगेन्द्र निरौलाले भने, ‘त्यहाँ राखिने गाडी बजार क्षेत्रको सडकमा पार्किङ गरिँदा बजारै कुरुप बनेको छ ।’
मेला सञ्चालन भएकै अवस्थामा केही वर्षअघि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको थियो । साँघुरो सडकका कारण प्रत्येक महिनासजो बजार क्षेत्रमा दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । मेला लाग्ने स्थाननजिकै शनिबार र मंगलबार हटिया लाग्छ । हटियामा गाउँ–गाउँबाट आउने किसान पनि मेलाका कारण असुरक्षित भएको बताउँछन् । ‘बाटोमा गाडी नै गाडी राखिएको छ’, हटिया आएका शान्तिराम तामाङले भने, ‘पैदल यात्रु बीच सडकबाट हिँड्नुपर्छ, गाडी पनि उस्तै तीव्र गतिमा कुदाउँछन्, वृद्धवृद्धा, बालबालिका र असक्तलाई त झनै समस्या भयो ।’
मेलाले नागरिकलाई सास्ती भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको भनाइ छ । ‘म आउनुअगावै मेलाका लागि अनुमति दिइएको रहेछ’, उनले भने, ‘अब स्थानीय सरकारसँग छलफल गर्छु ।’
सञ्चालकले २० हजार राजस्व तिरेर भदौ १९ गतेसम्मका लागि अनुमति लिएको फुङलिङका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोख्रेलले बताए । नगरपालिकाका पदाधिकारीले कसैसँग छलफल नगरी एकलौटी मेला सञ्चालन गर्न दिएको एक वडाध्यक्षको भनाइ छ ।