पशुपति क्षेत्रमा 'फ्री वाईफाई' को विरोधमा उत्रिए कांग्रेस सांसद
काठमाडौं : पशुपतिनाथ मन्दिर परिसर भित्रको आध्यात्मिक क्षेत्रमा ‘फ्री वाईफाई ’ सेवा सञ्चालन गरिएको नेपाली कांग्रेसका एक सांसदले विरोध गरेका छन् ।
प्रदेश नम्बर ३ का सदस्य नरोत्तम वैद्यले पशपति क्षेत्रमा फ्री वाईफाई सेवा सञ्चालन गर्ने काठमाडौँ महानगरको निर्णयबारे पुनर्विचार गर्न उनले माग गरेका छन् ।
काठमाडौं महानगरपालिका र वर्ल्डलिंकको सहकार्यमा पशुपति लगायतका महानगरका ६ पुरातात्विक तथा धार्मिक महत्वका स्थानमा फ्री वाईफाई सेवाको उद्घटन गर्न आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य वैद्यले विरोध गरेका हुन् ।
'पशुपति क्षेत्र आध्यात्मिक आनन्द लिने ठाउँ हो, त्यहाँ वाईफाई त के मोबाइल सेवामा पनि प्रतिबन्ध लगाउनु पर्छ,’उनले भने, 'ए वान, ए टु, ए थ्री जस्तो ठाउँमा कसरी यस्तो अनुमति दिइयो ? यसलाई महानगर र पशुपति क्षेत्र विकास कोषले पुनर्विचार गर्नुपर्छ ।’
उनले महानगरले जे कुरामा पनि सहमति मात्रै गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् । उनले पशुपतिमा ध्वनि प्रदुषण हुने भएकोले आफूले नियमित सञ्चालन गर्ने रक्तदान कार्यक्रममा माइक पनि प्रयोग नगर्ने गरेको बताए ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अहिलेको समय नै प्रविधिको युग भएकाले पशुपति क्षेत्र लगायतका ६ स्थानमा एकै दिनबाट ‘फ्री वाईफाई’ सेवा सुरुवात गरिएको बताए ।
उनले पुरै महानगरमा ‘फ्री वाईफाई’ सेवा उपलब्ध गराउने महानगरको घोषित नीति नै भएको बताए । 'अहिलेको युगमा इन्टरनेटबाट कोही पनि अलग हुन सक्दैन', उनले भने, 'यसको सही सदुपयोग गर्नुपर्छ । महानगरभरी यो सेवा सञ्चालन गर्ने हाम्रो लक्ष्य छ ।’
कोषका सदस्य सचिव प्रदीप ढकालले आधुनिक प्रविधिलाई कसैले रोकेर रोक्न नसकिने बताए । महानगरले वर्ल्डलिंकको सहयोगमा एक करोड रुपैयाँको लगातमा पशुपतिनाथ, बौद्धनाथ, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भू र वसन्तपुर हनुमान ढोका दरबार क्षेत्रमा फ्री वाईफाई सेवा सुरुवात गरेको हो ।