चीनमा भेट्ने वाचा गर्दै सकियो १८औँ एसियाड

चीनमा भेट्ने वाचा गर्दै सकियो १८औँ एसियाड

जकार्ता (इन्डोनेसिया) : चार वर्षपछि चीनमा भेट्ने वाचा गर्दै एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को १८औं संस्करण आइतबार इन्डोनेसियाको राजधानी जकार्तामा सकिएको छ। मध्य जकार्तास्थित ७६ हजार दर्शक क्षमताको ऐतिहासिक गेलोरा बुङ कार्नो रंगशालामा आयोजित भव्य समापन समारोहसँगै एसियाली खेलकुदले चार वर्षका लागि वि श्राम लिएको हो।

एसियाली खेलकुदको १९औं संस्करण सन् २०२२ मा चीनको ह्याङ्झुमा आयोजना हुनेछ। समापन समारोहमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष सेख अहमद अल फाद अल साबको उपस्थितिमा इन्डोनेसियन ओलम्पिक कमिटीका अध्यक्षले चीनको ह्याङ्झु सहरका मेयर र चिनियाँ ओलम्पिक कमिटीका अध्यक्षलाई एसियाली खेलकुदको झन्डा हस्तान्तरण गरेका थिए।

त्यसअघि १८औं एसियाडको उद्घाटन समारोहमा टाँगिएको ओसीए र एसियाली खेलकुदको झन्डा निकालिएको थियो। कार्यक्रममा ओसीएका अध्यक्ष अल साबले एसियाली खेलकुदको सफल आयोजना गरेकोमा स्थानीय आयोजक, इन्डोनेसियाली सरकार र यहाँका जनताप्रति आभार व्यक्त गरेका थिए।

‘इन्डोनेसियाले एसियाली खेलकुदसँगै इनर्जी अफ एसिया भन्ने नारालाई पनि साकार पारेर देखाएको छ। यसका लागि स्थानीय आयोजकसँगै इन्डोनेसियाली सरकार र यहाँका जनता धन्यवादका पत्र हुन्’, उनले भने। अध्यक्ष अल साबले इन्डोनेसियाले आफू कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सफल रहेको सन्देश पनि दिएको बताए।

दोस्रो पटक एसियाली खेलकुदको सफल आयोजनापछि इन्डोनेसियाले सन् २०३२ को ओलम्पिक आयोजनाका लागि दाबी गर्ने तयारी गरिरहेको छ। यसअघि सन् १९६२ मा पनि इन्डोनेसियाले एसियाली खेलकुदको सफल आयोजना गरेको थियो।

यसपटक जकार्तासँगै इन्डोनेसियाको अर्को ठूलो सहर पालेम्बाङले संयुक्त रूपमा एसियाली खेलकुद आयोजना गरेका हुन्। एसियाली खेलकुदका इतिहासमा एउटै राष्ट्रका दुई सहरले प्रतियोगिता आयोजना गरेको यो पहिलो पटक हो।

समापन समारोहमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भिडियो सन्देशमार्फत प्रतियोगिता सफल पार्न सहयोग पु¥याउने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए। समापन कार्यक्रममा इन्डोनेसियाका उपराष्ट्रपति मोहम्मद युसुफ कलाले पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै १९औं संस्करणको सफलताको कामनासमेत गरेका थिए।

समापन कार्यक्रममा १६ दिनअघि उद्घाटन समारोहमा बालिएको एसियाडको ज्योति पनि निभाइएको थियो। समापन समारोहमा स्थानीय कला र संस्कृति झल्काउने विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। समापन समारोहलाई भव्य बनाउन आतिशबाजीसँगै विभिन्न वैज्ञानिक प्रविधिको पनि प्रयोग गरिएको थियो। प्रतियोगिताको समापन समारोहमा पनि सहभागी राष्ट्रका खेलाडी, प्रशिक्षक र पदाधिकारीले आआफ्नो राष्ट्रिय झन्डासहित मार्च पास्ट्समेत गरेका थिए।

१८औं एसियाडमा सहभागी ४५ राष्ट्रमध्ये ३७ राष्ट्रले पदकतालिकामा आफ्नो उपस्थिति दर्ता गराएका छन्। प्रतियोगितामा एउटा रजत पदक जित्दै नेपाल ३३औं स्थानमा रहेको छ। नेपालले प्रतियोगितामा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङ खेलमा रजत पदक जितेको हो।

एसियाली खेलकुदमा नेपालले जितेको यो दोस्रो रजत पदक हो। यसअघि सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा नेपालले तेक्वान्दोमा रजत पदक जितेको थियो। समग्रमा नेपालले एसियाली खेलकुदमा जितेको पदक संख्या २४ पुगेको छ। यसैगरी प्याराग्लाइडिङ एसियाली खेलकुदमा नेपालका लागि पदक जित्ने तेक्वान्दो, बक्सिङ र कराँतेपछि चौथो खेल बनेको छ।

यसैगरी पदकतालिकामा पूर्वानुमानअनुसार नै चीन पहिलो स्थानमा रहेको छ। चीनले एक सय ३२ स्वर्ण, ९२ रजत र ६५ कांस्यसहित कुल दुई सय ८९ वटा पदक जितेको छ। यो एसियाडमा कुल चार सय ६५ वटा स्वर्ण पदकका लागि खेलाडीबीच भिडन्त भएको थियो।

प्रतियोगितामा सहभागी ४५ मध्ये आठ राष्ट्रले कुनै पनि पदक जित्न सकेनन्। ७५ स्वर्ण, ५६ रजत र ७४ कांस्यसहित जापान दोस्रो स्थानमा रह्यो भने ४९ स्वर्ण, ५८ रजत र ७० कांस्यसहित दक्षिण कोरिया तेस्रो भयो। यो एसियाली खेलकुदमा दक्षिण र उत्तर कोरियाले आआफ्नो छुट्टाछुट्टै टोलीसँग एउटा संयुक्त टोली पनि समावेश गरेको थियो।

प्रतियोगितामा स्वर्ण पदक जित्ने राष्ट्रको संख्या २९ रह्यो। पदक तालिकाको सबैभन्दा तल रहेको सिरियाले एउटा कांस्य जित्यो। यसैगरी दक्षिण एसियाली राष्ट्रहरूमा भारत १५ स्वर्ण, २४ रजत र ३० कांस्यसहित पहिलो स्थानमा रह्यो।

दक्षिण एसियाली राष्ट्रहरूमा एउटा रजतसहित नेपाल दोस्रो स्थानमा रह्यो। पाकिस्तानले चारवटा कांस्य पदक जित्यो भने अफगानिस्तानले दुई वटा कांस्य हात पा¥यो। आयोजक राष्ट्र इन्डोनेसियाका लागि पनि यो एसियाड निकै उपलब्धिपूर्ण रह्यो।

आयोजक इन्डोनेसिया प्रतियोगितामा ३१ स्वर्ण, २४ रजत र ४३ कांस्य पदक जित्दै तालिकाको चौथो स्थानमा आयो। एसियाली खेलकुदको इतिहासमा इन्डोनेसियाले यति धेरै स्वर्ण पदक जितेको यो पहिलो पटक हो। यसअघिका १७ वटा संस्करणमा इन्डोनेसियाले कुल ६० वटा स्वर्ण पदक जितेको थियो। १५ दिनसम्म मौसमले राम्रो साथ दिए पनि समापन समारोहभन्दा केहीअघि जकार्तामा निकै ठूलो वर्षा भएको थियो। यद्यपि, समापन समारोह सुरु हुनुअघि नै वर्षा रोकिएको थियो। त्यसैले अधिकांश खेलाडी मार्च पास्ट्का लागि बर्सादी ओढेर रंगशालामा आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.