सुचिना घलेको मृत्यु शोकमा बारपाकमा सार्वजनिक बिदा
गोरखा : बारपाककी सुचिना घलेको निर्मम हत्याले विक्षिप्त बनेको बारपाकमा बिहीबार सार्वजनिक बिदा आह्वान गरिएको छ। बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ र वडा नं. २ ले संयुक्त रुपमा सार्वजनिक बिदा आह्वान गरेका हुन्।
‘सुचिनाको हत्या भएको भोलि बिहिबार १३ औँ दिन बारपाक गाउँ रहेको वडा नं. १ र २ भरि सार्वजनिक बिदा गर्ने निर्णय गरेका छौँ’, वडा नं. १ का वडाअध्यक्ष धनबहादुर घलेले भने, ‘शोक मनाउन गाउँमा भोलि सार्वजनिक बिदा भनेर दुवै वडाले टोलटोलमा कटुवाल कराइसक्यो। शोक बिदाका दिनमा बारपाकमा मेलापात, घाँस दाउराका सबै काम बन्द गरिन्छ। वडा कार्यालय, स्वास्थ्यचौकी, सामुदायिक र निजी विद्यालय सबै बन्द रहन्छन्।’ सुचिनाको अत्माले शान्ति पाओस् भनी गाउँका मुख्य लामाले गुम्बामा १०८ बत्ती बाल्ने, चिहानडाँडामा सुचिनाको नाममा माने बनाउने कार्यक्रम आयोजना गरिएको उनले बताए।
‘दानव मन भएको मानवको आक्रमणमा परी एउटी अबोध चेलीले अनकण्टार जंगलमा चिच्याइचिच्याई मर्नुपरेको यो हाम्रो गाउँको इतिहासमा पहिलो अप्रिय घटना हो’, वडाअध्यक्ष घलेले भने, ‘त्यसैले भोलि बिहिबार चिहानडाँडामा उनको आत्माको चीर शान्तिको कामना गर्दै लामाले विधिपूर्वक पूजा प्रार्थना गर्छन्।’ आगामि दिनमा यस्ता दुखद घटना नहोओस् भनी शान्तिको कामना गरिने उनले बताए।
घटना भएको १२ औँ दिनमा सुचिनाको शव शिक्षण अस्पताल काठमाडौंबाट बारपाक ल्याई बुधबार अन्त्येष्टि गरिएको छ। घले परम्पराअनुसार चिहानडाँडामा दाहसंस्कार गरिएको हो।
गत वैशाखमा बिहे गरी बारपाक आएकी १८ वर्षीया सुचिनाको गत मंसिर १५ जंगलमा घाँस काट्न जाँदा हत्या भएको थियो। हत्यामा संलग्नको आरोपमा स्थानीय मन सम्जेर गुरुङ पक्राउ परेका छन्।