नवलपरासीका सीमा नाकामा सुरक्षा चेकजाँच कमजोर, के भन्छन् प्रदेश प्रहरी प्रमुख ?

नवलपरासीका सीमा नाकामा सुरक्षा चेकजाँच कमजोर, के भन्छन् प्रदेश प्रहरी प्रमुख ?
सुन्नुहोस्

परासी : नवलपरासीको नेपाल–भारत सीमा नाकामा सशस्त्र र नेपाल प्रहरीको निगरानी तथा चेकजाँच प्रभावकारी हुन नसकेको देखिएको छ । सुरक्षा निगरानी कमजोर हुँदा सीमा नाकाबाट हुने अवैध सामान तथा लागुऔषध ओसारपसार नियन्त्रणमा चुनौती थपिएको छ । यसको पछिल्लो उदाहरणका रुपमा नेपालबाट भारतर्फ लैजाँदै गरेको ५ किलोग्राम  लागुऔषध अफिम पाँच दिनअघि नवलपरासीको भुजहजा नाकास्थित भारतीय लक्ष्मीपुरबाट भारतीय सुरक्षाकर्मीहरुले बरामद गर्नु रहेको छ । 

ठूला परिमाणको अफिम बरामद भएकोबारे नवलपरासीको नेपाल प्रहरी र सशस्त्र प्रहरी अनभिज्ञ देखिनुले सीमा सुरक्षाको व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । अफिम दशगजाबाट करिब तीन सय मिटर भारतीय क्षेत्रमा बिहानै बरामद हुनुले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी प्रभावकारी नभएको देखिएको हो । यसले सीमा क्षेत्रमा रहेका दुई सुरक्षा निकायका युनिटमाथि नै प्रश्न उठ्न थालेको छ ।

पाल्हीनन्दन गाउँपालिका– ५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका–५ को सकरदिनसम्मको करिब २८ किलोमिटर सीमा क्षेत्रमा पछिल्लो समय अवैध गतिविधि बढ्दै गएको गुनासो स्थानीयले गर्दै आएका छन् ।  नेपालबाट भारततर्फ अवैध रुपमा खरबुजा र फर्सीका बीउ निकासी हुने तथा भन्सार छलेर कपडा, चिनी, कुखुरा, मोबाइलका पार्टस समेत ओसारपसार हुने क्रम बढेको उनीहरुको भनाई छ । 

नेपालबाट गएको अफिम भारतमा बरामद मात्र होइन जिल्लाका विभिन्न नाकाबाट अवैधरुपमा भन्सार छली गरेर लगिएका सामान पूर्वी नवलपरासीसहित अन्य जिल्लाबाट  बरामद हुनुले पनि सीमामा रहेका सशस्त्र र नेपाल प्रहरीमाथि आशंका उठ्न थालेको स्थानीयको भनाई छ । प्रहरीले भारतबाट भित्र्याइएका स–साना सामान र लागुऔषध दैनिकजसो बरामद गरेको छ तर ठूलो परिमाणका सामान भने बरामद गरेको देखिएको छैन । 

खरबुजा र फर्सीको बीउ भारततर्फ अवैध निकासी भइरहेको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) रामबहादुर केसी तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका प्रमुख (एसपी) गोविन्द खातीले केहीले बोरा र झोलामा लैजाने गरेको जानकारी पाएको बताउँदै त्यसको नियन्त्रणका लागि निगरानी बढाइएको बताएका छन् । ‘केही दिन अघिसम्म फाट्टफुट्ट भएको बारे जानकारी पाएका थियौं । अहिले भने निगरानी बढाएपछि नियन्त्रणमा आएको छ । ’ उनीहरुको भनाई छ । सीमा नाकामा निगरानी र चेकजाँचलाई बढाएकाले ठूलो परिमाणमा अवैध सामान नभित्रिएको उनीहरुको दाबी छ । 

भूपेन्द्रबहादुर खत्री
डिआइजी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय

नवलपरासी पनि खुला सीमाना भएको जिल्ला हो । खुला सीमानाको गलत फाइदा उठाउँदै कहिले काँही निगरानी बढाउँदा बढाउँदै पनि अवैध सामान भित्रिन सक्छन् । अवैध कार्य र अपराध नियन्त्रणमा त्यहाँका स्थानीयको सहयोग महत्वपूर्ण हुन्छ । स्थानीयलाई अझ बढी त्यस क्षेत्रको अवस्थाका बारेमा बढी जानकारी हुने भएकाले प्रहरीले उनीहरुको मन जित्ने गरी काम गर्नुपर्छ र त्यसका लागि हामीले समुदायसम्म पुग्ने गरेका छौं ।

पछिल्लो समय नवलपरासीबाट खरबुजा, फर्सीको बीउ जस्ता सामानको अवैध ओसारपसारबारे त्यहाँको युनिटले नै हेरेको होला । तेस्रो मुलकहरुबाट आउने भएकाले कहिले काँही बिल बिजकले कानुनी समस्या उत्पन्न गराउने भएकाले नियन्त्रणमा समस्या आउने गरेको छ । प्रहरी युनिटमा पनि केही गलत मनसायका व्यक्ति हुन सक्छन् ।

हाम्रै प्रहरीका केही व्यक्तिका कारण बदमासी हुन पनि सक्छ । त्यसैले सीमा नाकाबाट हुने अवैध कार्यलाई नियतवश मिलमतो गरी लाभ लिने उद्देश्यले कुनै पनि दर्जाको प्रहरीको मिलमतो भएको पाइएमा तत्काल कारबाही हुन्छ । नवलपरासीमा पनि त्यस्ता गलत तरिकाले लाभ लिनेलाई कारबाही भएका छन् ।  लागुऔषधसहित अवैध गतिविधि नियन्त्रणका लागि इन्स्पेक्टरको नेतृत्वमा प्रदेशस्तरीय प्रहरी परिचालन इकाई (पिआइयू) समेत सक्रिय रुपमा परिचालित छ र त्यसले निगरानीलाई थप प्रभावकारी बनाइरहेको छ ।

दीपक अधिकारी
डिआइजी, स.प्र.बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही

नवलपरासी जिल्लामा हुने सबै प्रकारका अवैध कारोबार र गतिविधि नियन्त्रण गर्नु हाम्रो प्रमुख प्राथमिकता हो । यसका लागि मैले जिल्लाको गण र मातहतका सबै युनिटलाई उच्च सतर्कताका साथ लाग्न भनेको भन्यै छु र सोहीअनुरुप परिचालन पनि गरिएको छ ।  विशेष गरी पछिल्लो समय फर्सी र खरबुजाको बिउको अवैध ओसारपसारले चुनौती त थपेको छ ।

यसले टाउको नै दुःखाएको छ । यसको नियन्त्रणका लागि दिउँसो र रातभरी ड्युटी खटाइएको छ । कति बेला लैजान्छन् हैरान भो । त्यसमा पनि तस्करहरुले समय र अवसरको फाइदा उठाएर विभिन्न बाटो हुँदै सुरक्षाकर्मीलाई छलेर लैजाने प्रयास गर्ने गरेका छन् । त्यसमा पनि हाम्रो निगरानी भइरहेको छ । खुला सीमाका कारण केही समस्या भए पनि हामीले गर्न सक्ने गरेका छौं ।

अवैध कारोबार नियन्त्रणमा सुरक्षाकर्मीको प्रयास मात्र पर्याप्त हुँदैन । स्थानीयबासी, नागरिक समाज, पत्रकार सबै सरोकारवालाको सक्रिय सहयोग उत्तिकै आवश्यक छ । यस्ता शंकास्पद गतिविधिबारे समयमा सूचना पाउन सके नियन्त्रणमा सहज हुने थियो । त्यसैले अवैध कारोबार र गतिविधिसम्बन्धी कुनै सूचना भए सबैले जानकारी दिएर सहयोग गर्न अनुरोध गर्दछु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.